नेकपाका ४ कार्यकर्ता गिरफ्तार

२०७६ कार्तिक ९ गते, शनिबार

काठमाडाैं, ९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका ४ कार्यकर्ता ललितपुरको लुभुबाट पक्राउ परेका छन् । बिहीबार बेलुका प्रधानीमन्त्री ओलीको विरुद्धमा पुत्ला जलाउन खोज्ने क्रममा उनीहरुलाई प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर ललितपुरका सहायक प्रवक्ता डिएसपी सन्तोष तामाङले बताए । पक्राउ पर्नेमा पाँचथर जिल्ला घरभई हाल ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने वर्ष २१ का निकुञ्ज सेवा, काभ्रे घरभई हाल ललितपुर–२८ बस्ने वर्ष ६० को जित बहादुर खपाङ्गी, भक्तपुर घरभई हाल ललितपुर–२४ बस्ने वर्ष २७ के श्रवण भन्ने बिजेश ढकाल र भोजपुर घरभई हाल काठमाडौं कागेश्वरी मनहरा अन्तर्गत काडाघारी बस्ने वर्ष ४२ को पेम्बा जम्बु शेर्पा रहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक शान्ति खलल गरेको कसुरमा ७ दिनको म्याद थपिएको डिएसपी तामाङले जानकारी दिए ।
यस्तै , नेपाल कम्युनिस्ट पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहँुको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले प्रशासन कार्यालयको परिसरबाट पक्राउ गरेको हो । प्रशासन कार्यालयले उनीहरुलाई जनही रु एक हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्काे मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचारअनुसार पुनः पक्राउ गरी लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । अभद्र व्यवहारको मुद्दामा उनीहरु गत असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका थिए । यसअघि उनीहरुलाई असोज १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ गरी तनहँु पुर्याईएको थियो ।

प्रतिक्रियाहरु