नेकपाका नेता तथा कार्यकर्ता अदालतको शरणमा

२०७६ असार ४ गते, बुधबार

काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार कार्यकर्ताले अदालतमा शरण लिएका छन । उनीहरुलाई उच्च अदालत पोखराले दोश्रो पटक रिहा गर्न आदेश दिएपनि प्रहरीले पुन: गिरफ्तारीको तयारी गरेपछि गएराती देखि उच्च अदालत पोखरामा शरण लिएका हुन् ।उनीहरुले परिसरमै रात बिताएका छन । उच्च अदालत पोखरामा रात बिताउने नेता तथा कार्यकर्तामा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’, पार्टी जिल्ला सदस्य तथा एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, पार्टी जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/गण्डक ब्युरो संयोजक मिलन राइ, पार्टी जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पिएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र उपाध्यक्ष एबम सहिद पुत्र सुजन सापकोटा, सचिब राजन साउद र गगन परियार रहेका छन् ।
उच्च अदालत पोखराको आदेश बमोजिम अदालतका रजिस्ट्रार, राष्ट्रिय मानव अधिकार आयोग पोखरा र उच्च अदालत बार एसोसिएसन पोखराको रोहबर तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र नेपाल पत्रकार महासंघ कास्कीको अनुगमनमा उनीहरुले अदालत परिसरभित्र रहेको न्याय सेवा केन्द्रको कोठामा रात बिताएका थिए ।
उच्च अदालतले मंगलबार अदालतका रजिस्ट्रारको उपस्थितिमा उनीहरुलाई राष्ट्रिय मानव अधिकार आयोग र उच्च अदालत पोखरा बार एसोसिएसनका पदाधिकारीको रोहवरमा छाड्न आदेश दिएको थियो । साथमा उनीहरु रिहा भए/नभएको प्रतिबेदन पेश गर्न पनि सोही समुहलाई निर्देशन दिएको थियो ।
अदालतको आदेश हुँदाहुँदै पनि कास्की प्रहरीले उनीहरुलाई फेरी गिरफ्तार गर्न तयारी गरेको भन्दै ने.क.पा.का नेता तथा कार्यकर्ताहरुले अदालतको आदेश वमोजिम रिहाइका लागिअदालत, मानब अधिकार आयोग, बार एसोसिएशन तथा मानव अधिकारवादी र पत्रकारहरुसंग हार-गुहार मागेका थिए ।
उच्च अदालत परिसरमा रात बिताएका ने.क.पा.का नेता तथा कार्यकर्ताले आज कार्यालय समय खुल्नासाथ उच्च अदालत पोखरामा फेरी अदालतको मानहानी मुद्दा दर्ता गर्दैछन् भने रोहबरमा रिहा गर्ने जिम्मेवारी पाएका उच्च अदालत पोखराका रजिस्ट्रार, राष्ट्रिय मानव अधिकार आयोग र उच्च अदालत बार एसोसिएशन पोखराको समुहले अदालतको आदेश पछीको उत्पन्न परिस्थिति र अदालतको आदेश बमोजिम बन्दीहरु रिहा भए/नभएको बारेमा अदालतमा प्रतिबेदन बुझाउन्दैछन् ।
यसैबीच प्राप्त जानकारी अनुसार, उच्च अदालत पोखरा अन्तरगत रहेको न्यायिक सम्बाद समितिको बैठक पनि आजै बस्दैछ । जिल्लाका सुरक्षा निकायका प्रमुख समेत सहभागी हुने सो बैठकमा ने.क.पा. का नेता तथा कार्यकर्ता गिरफ्तारीका बिषयमा उपयुक्त निर्णय हुनसक्ने बताइएको छ ।
अदालतको आदेश बमोजिम रिहा भएका ९ मध्ये चार जना नेताहरुलाई मात्र गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय तनहुँ लैजाने तयारी प्रहरीले गरेको नेकपा स्रोतले जनाएको छ । स्रोतका अनुसार बाँकी ५ जना विद्यार्थीलाई भने प्रहरीले फेरी गिरफ्तार गर्ने सम्भावना कम रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु