नेकपाका नेता कार्की र धमला सर्वोच्च परिसरवाटै पुनः गिरफ्तार

२०७५ आश्विन ६ गते, शनिबार

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहनबहादुर कार्की र कृष्णप्रसाद धमलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः गिरफ्तार गरेको छ । न्यायाधिशद्वय डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले पटक–पटक गिरफ्तार गरी थुनामा राख्नु कानुनसम्मत नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएपनि प्रहरीले न्यायालयको खिल्ली उडाउदै कार्की र धमलालाई सर्वोच्च परिसरबाटै पुनः गिरफ्तार गरिएको हो ।
सर्वोच्चको आदेशमा भनिएको छ– ‘निवेदकलाई प्रवृत्त भावना राखी थुनामा राख्ने कार्यलाई कानुनसम्मत मान्न मिल्ने नदेखिंदा थुनामुक्त गर्ने आदेश जारी गरिएको छ ।’ पटक–पटक पक्राउ गरी गैरकानूनी रुपमा थुनामा राखेको भन्दै चेतन शर्माले रिहाइको माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुख्य रष्ट्रिारको रोहवरमा रिहा गर्न आदेश दिएको हो । रिहालगत्तै पक्राउ परेका नेता कार्की र धमलालाई संखुवासभा लाने तयारी गरिएको छ ।
त्यस्तै नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई आइतवार सर्वोच्चमा उपस्थित गराइने भएको छ भने केन्द्रीय सदस्य उमा भुजेल र आजादलाई पनि आइतवार नै सर्वोच्च मा उपस्थित गराइने भएको छ ।
निवेदकका तर्फबाट बरिष्ठ अधिबक्ता चण्डेश्वर श्रेष्ठ र एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, लक्ष्मण थपलिया, कान्तिराम ढुंगाना, खिमानन्द अधिकारी र राजु अधिकारीले बहस गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु