नेइमार २२२ मिलियन युरोमा अनुबन्ध

२०७४ श्रावण २१ गते, शनिबार

काठमाडौं, २१ साउन । ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अहिलेसम्मकै महँगो २ सय २२ मिलियन युरोमा खरिद गरेको हो । बहुचर्चित नेइमार प्रकरणको टुंगो लगाउँदै पिएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट २६ अर्बभन्दा बढी रुपैयाँमा नेइमारलाई खरिद गरेको हो । विश्व फुटबलमा कु्नै पनि एउटै खेलाडीमाथि खर्च गरिएको यो अहिलेसम्मकै बढी रकम हो ।
यसअघि म्यान्चेस्टर युनाईटेडले ईटालीको क्लव युभेन्टससँग फ्रेन्च खेलाडी पउल पोग्बा खरिद गर्दा त्यतिबेलाको सर्वाधिक रकम ९८ मिलियन युरो खर्चिएको थियो । तर यसपटक नेइमारका लागि खर्चिएको रकम पोग्बाको मूल्यभन्दा दोब्बरभन्दा पनि बढी छ ।
नेइमारले तलब बापत पिएसजीबाट वार्षिक ४५ मिलियन युरो अर्थात प्रति हप्ता ८ लाख ६५ हजार युरो बुझ्ने भएका छन् । पिएसजीले बार्सिलोनाबाट नेइमार खरिद गरे पनि यो प्रसंग युरोपियन फुटबल महासंघ (युएफा)सम्म पुग्ने सम्भावना देखिएको छ । अत्यधिक मूल्यमा नेइमार खरिद गर्दा युएफाको फाइनान्सियल फेयर प्ले नियम मिचिएको भन्दै स्वयं बार्सिलोनाले अपिल गर्ने चेतावनी दिइसकेको छ ।
के–के हुन सक्छ त्यति रकमले ?
– नेपाल वायु सेवा निगमले २६ अर्ब रुपैयाँमा दुईवटा वाइड बडी विमान ल्याउने भएको छ । यो रकम नेइमारले पिएसजी क्लबसँग गरेको अनुबन्ध सम्झौता बराबर नै हो ।
– नेयमारले पाएको भन्दा कम रकम अर्थात २०७ मिलियन युरोमा बहामासमा ४ वटा नीजि द्वीप खरिद गर्न सकिन्छ ।
– २०८ मिलियन युरो रकममा १२ वटा प्राइभेट जेट विमान खरिद गर्न सकिन्छ । यो रकम पनि नेयमारले पाएकोभन्दा कम नै हो ।
– नेइमारले प्राप्त गर्ने रकमले बेलायतको राम्रो लोकेसनमा औसत मूल्यका ८ सय ४५ घर खरिद गर्न सकिन्छ ।
– १० हजार वर्षका लागि उत्कृष्ट होटलमा खाजा–बस्न तिर्ने रकम पुग्छ ।
– २०२ मिलियन युरोबाट तीन सिजनसम्म नाउ क्याम्प रंगशालाका सबै सिट बुक गर्न सकिन्छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु