निर्वाचन खारेजी अभियान जारी

२०७४ जेष्ठ ५ गते, शुक्रबार

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेजी अभियान जारी राखेको छ । हाल उसले दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा निर्वाचन खारेजी अभियान सुरु गरेको छ । सरकार स्थानीय चुनावको मत गन्ने र परिणाममा मस्त रहेको बेला नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता भने स्थानीय तह कार्यालयको साइनबोर्ड फोड्न र फाल्न व्यस्त भएका छन् । आफ्नाे पार्टीको नेतृत्वमा जनताको जनसत्ता चलिरहेको क्षेत्रमा सकारले जबर्जस्त स्थानीय तह बनाएर चुनाव गरेको भन्दै नेकपाले चुनावलाई खारेज अभियानलाई तिब्रता दिएको छ । जस अनुरुप उसले दोस्रो चरणको निर्वाचन हुने क्षेत्रका गाउँ, नगरमा झुण्ड्याएको बोर्ड फाल्ने क्रमलाई तीव्रता दिएको छ ।
यसैबीच ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको कार्यालयमा राखिएको बोर्ड तोडफोड गरी फालिदिएको छ । राति करिब २ बजे दुईजनाको संख्यामा आएको टोलीले बोर्डलाई निकाली काटेर खोल्सामा फालेको सो गाउँपालीकाका प्रमुख रामसुन्दर थापाले जानकारी दिए ।
त्यस्तै आठराई त्रिवेणी गाउँपालिकाको साइनबोर्ड पनि झिकेर फालेका छन् । स्थानीयका अनुसार नेकपाका युवाहरुले बोर्ड झिकेर नस्ट गरेका छन् । फक्ताङ्लुङ र आठराईमा नेपाल कम्युनिष्ट पार्टीको प्रभाव राम्रो रहेको स्थानीयले बताए । सो क्षेत्रलाई नेकपाले निर्वाचन निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त घटनाको वास्ताविकता बुझ्न प्रहरी टोली पठाइसकिएका जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रामबहादुर केसीले बताए ।
यसैविच नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङका ईन्चार्ज आशिषले फक्ताङ्लुङ र आठराई त्रिवेणी गाउँपालिकालगायत क्षेत्रका स्थानीय तहको साइनबोर्ड पार्टीको नीतिअनुरुप हटाइएको बताए ।
‘फुङ्लिङ नगरपालिकालगायत यस क्षेत्रमा पुराना सत्ताका बोर्ड झिकेर जनताको सत्ताको बोर्ड झुण्ड्याइसकेका छौं । केही स्थानमा रातिनै प्रहरीले बोर्ड हटाएको खबर आएको छ । त्यो हो भने स्थिति राम्रो हुँदैन’ इन्चार्ज आशिषले चेतवानी दिए ।
यसअघि सुनसरीका आधा दर्जन स्थानीय तहको बोर्ड स्थानीय जनताको सहभागितामा झिकेर नस्ट गरिसकेको नेकपा सुनसरी इन्चार्ज प्रज्वलले जानकारी दिए । सो कार्यक्रम देशभर चलिरहेको नेकपाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु