निरीह सरकार – राजेन्द्र चिमौरिया

२०७१ चैत्र ७ गते, शनिबार

प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार सुशासन कायम गर्न पूर्णतः असफल भएको छ । देशमा अहिले जताततै भ्रष्टाचार, महँगी, कालोबजारी र अपराधमूलक कार्य भइरहेका छन् । सरकारले कुनै क्षेत्रमा आफ्नो दरिलो उपस्थिति देखाउन सकेको छैन । सुशासन कायम गराउनुपर्ने सरकारी निकाय नै जनतामाथि लुट मच्चाउन तम्सिएका छन् । जसको उदाहरण हालै नेपाल प्रहरी र नेपाली सेनाको पेट्रोल पम्पमा भएको मनपरिले प्रस्ट पार्छ । नेपाल प्रहरी र नेपाली सेना देशको सुरक्षाको मेरुदण्ड, यही निकायले सञ्चालन गरेको पेट्रोल पम्पबाट आमनागरिक ठगिनु कति हास्यास्पद र लज्जाजनक विषय । सरकारी संयन्त्रबाट सञ्चालित पेट्रोल पम्पबाट जनता यसरी ठगिएका छन् भने अन्यत्र कस्तो स्थिति रहला ? यो सबैले अनुमान गरेकै विषय हो । देशमा देखाउनको लागि त सरकार छ भन्दा हुन्छ, तर सरकारको उपस्थिति कुनै क्षेत्रमा दरिलो देखिँदैन । दिनहुँ हत्या, हिंसा, महँगी, कालोबजारी, तस्करी र भ्रष्टाचार मौलाइरहेको छ । सरकारले कुनै दरिलो पाइला चाल्न सकेको छैन । सरकार हरेक क्षेत्रमा असफल र निरीह देखिएको छ । देश र जनता महँगी, भ्रष्टाचार र अनियमितताको दलदलमा फसिरहेका छन् । यस्तो अवस्थामा सरकारले दृढतापूर्वक हरेक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउनुपर्ने हो तर सरकार मौन र मूकदर्शक बनिरहेको छ । सरकारको यस्तो कार्यशैली अब धेरै दिन टिक्न सक्दैन किनकि अब नेपाली जनता स्वयम् सडकमा उत्रिरहेका छन् । तसर्थ, सरकारले जनभावना बुझ्दै तत्काल महँगी, भ्रष्टाचार, कालोबजारी रोक्न तत्काल उचित कदम चाल्नुपर्छ, अन्यथा यही विषयले विकराल रुप लिने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु