निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान

२०७५ भाद्र १५ गते, शुक्रबार

काठमाडौं , १५ भदौ । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर प्रवचन दिएर विश्व कीर्तिमान कायम गरेका छन् । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर प्रवचन सुरु गर्नुभएका केसीले मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई समेत तोडेका छन् ।
न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा प्रवचन दिएका हुन् । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर प्रवचन दिएको न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए ।
निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान राखेका केसीलार्ई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र दिए ।
नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरेका केसी एक आध्यामिक साधक पनि हुन् । उनले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पूरा गरेका छन् ।
यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सकेका थिएनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु