निमा बनिन् विश्वकै कान्छी आरोही

२०७२ श्रावण ३१ गते, आईतवार

काठमाडौं। नेपालकी चेली निमा छुम्जी शेर्पाले विश्वकै कान्छी आरोहीको रूपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल हुनुभएको छ । सोलुखुम्बु गुडेल–४ की शेर्पाले १६ वर्ष ६ महिना ७ दिनको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड कायम गर्नुभएको हो ।
उहाँले सन् २०१२ मे १९ मा सगरमाथाको दक्षिणी मोहडाबाट सफल आरोहण गर्नुभएको थियो । तीन वर्षअघि सगरमाथा आरोहण गर्नुभएकी शेर्पालाई लामो प्रयासपछि केही दिनअघि मात्र गिनिजबुक अफ वल्र्ड रेकर्डको उपाधि दिएको हो । आरोहणमा विश्व कीर्तिमान कायम गर्नुभएको १९ वर्षीय शेर्पाले भन्नुभयो ‘आफूमा जे इच्छा छ त्यो पूरा नहुन्जेल निरन्तर लागिरहनुपर्छ । मिहेनत, लगनशीलता र धैर्यता चाहिन्छ, त्यसकै उदाहरण हो यो मेरो सफलता ।’
अध्ययनमा सधैं अब्बल निमाको सानैदेखि सगरमाथा आरोहण गर्ने सपना थियो । त्यसैले उहाँ मिहेनतका साथ पढाइ र पर्वतारोहणलाई उत्तिकै महत्व दिएर लगनशील हुनुभयो । अमेरिकाको साउर्दन युटा युनिभर्षिटीमा बायोलोजी पढ्न आइतबार त्यतातर्फ जान लागेकी शेर्पाले अध्ययनसँगै पर्वतारोहणलाई अघि बढाउने र भविष्यमा वायोलोजिस्ट भएर देशको सेवा गर्ने बताउनुभयो ।जोरपाटीको हिमाल इन्टरनेशनल एकेडमीबाट विज्ञान विषयमा दश जोड दुई अध्ययन गरेकी कान्छी आरोही शेर्पा कलेजकै उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी हुन् । चावहिलको लुम्बिनी एकेडमीबाट प्रवेशिका उत्तीर्ण शेर्पा कक्षा एक देखि १० सम्म सधैं प्रथम हुनुभयो । जीवनमा सबैभन्दा बढी खुशीको क्षण बुबासँग तीन वर्षअघि सगरमाथा चढेको बताउने शेर्पाले त्यही बेला सगरमाथा आधार शिविरमा लेक लागेर ज्यान गुमाएका लासहरूको थुप्रो देखेको घटनालाई कहिल्यै नबिर्सने क्षण भएको बताउनुभयो । आरोही शेर्पाकी आमा लाक्पा डिकी शेर्पाले छोरीले विश्वकै कान्छी आरोहीको रूपमा राखेको रेकर्डले आम नेपालीलाई गौरवान्वित बनाएको बताउनुभयो । छोरीको मेहनत र लगनशीलताले पाएको यो सफलताको प्रेरणा अन्य आमाबाबुलाई जानसके नेपालको पहिचानलाई अझ उचो बनाउने उहाँको अपेक्षा छ । बुबा डेन्डी शेर्पाले छोरीको चाहना सानैदेखि डाक्टर बन्ने रहेतापनि पर्वतारोहणलाई महत्व दिएकै कारण आजको सफलता हात परेको भन्दै यसले परिवार मात्र नभई सिङ्गो देशको गौरब बढाएको बताउनुभयो । छोरीलाई नेपालमै डाक्टर पढाउने चाहना हुँदाहुँदै पनि सरकारी प्रक्रिया झन्झटिलो भएकाले ताकेता गर्न नसकेपछि विदेश अध्ययनका लागि पठाउन बाध्य भएको उहाँले दुःखेसो पोख्नुभयो ।
यसैबीच नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले विश्व कीर्तिमानी आरोही शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र शनिबार दिएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव मोहनकृष्ण सापकोटाले आरोही शेर्पालाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
– रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार