‘निपाह’ भाइरसको आतंक !

२०७५ जेष्ठ ८ गते, मंगलवार

काठमाडौं, ८ जेठ । भारतमा ‘निपाह’ नामक भाइरसले आतंक मच्चाएको छ । केरल राज्यमा यो भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको बताइएको छ भने अन्य कयौंमा संक्रमण रहेको बताइएको छ । केरल राज्यका स्वास्थ्यमन्त्री केके शायलजाका अनुसार यो भाइरसको प्रकृतिबारे पूर्ण रुपमा जानकारी आइसकेको छैन । मृतकका रगत तथा अन्य नमूना परीक्षणका लागि पुणेस्थित प्रयोगशालामा पठाइएको छ । केरलको तटीय सहर कोझिकोडमा एकै परिवारका तीन सदस्यको यही भाइरसका कारण मृत्यु भएको बताइएको छ । छिमेकीहरुका अनुसार उनीहरुले फलफूल खाएका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस तीव्र रुपमा फैलिने गर्दछ । यसले जनावर र मानिसलाई संक्रमित गर्दछ । संक्रमितसँग सम्पर्कमा आउने जोसूकैलाई यो भाइरस सर्ने बताइन्छ । सन् १९९८ मा पहिलो पटक यो भाइरस देखिएको थियो । मलेसियाको कम्पङ्ग सुंगाई निपाहमा यो भाइरस पहिलोपटक फेला परेका कारण यसको नाम निपाह राखिएको हो । सन् २००४ मा बंगलादेशमा पनि यो भाइरस देखिएको थियो । चमेरोलाई यो भाइरस सार्ने माध्यम मानिएको छ । अन्य जीवजन्तु तथा चराबाट पनि यो भाइरस सर्न सक्ने अनुमान गरिएको छ ।
बंगलादेशमा यो भाइरसको संक्रमण फेला पर्दा स्थानीयले खजुरको रुखबाट निस्कने तरल पदार्थ खाएको बताइएको थियो । चमेराका माध्यमबाट खजुर हुँदै मानिसमा भाइरसको संक्रमण फैलिएको बताइन्छ । संक्रमित मानिसबाट मानिसमा पनि यो भाइरस फैलिने गरेको छ । भारतमै यस प्रकारले संक्रमित बढेको बताइएको छ । यो भाइरसलाई नियन्त्रणमा लिने कुनै खोप अहिलेसम्म विकसित भएको छैन । संक्रमण भएको केही दिनमै संक्रमित ‘कोमा’ मा पुग्ने (अचेत हुने) र मृत्युसमेत हुने गरेको बताइन्छ । यो भाइरसको संक्रमण लागेका मानिसलाई ज्वरो आउने, टाउको दुख्ने र ४८ घण्टा जतिपछि कोमामा पुग्ने बताइन्छ । ५० प्रतिशतजति संक्रमितलाई न्यूरोलोजिकल समस्यासमेत आउने चिकित्सकहरुको भनाइ छ । सामान्य रुपमा मानिसको सम्पर्कमा आउने चमेरा, सुँगुर लगायतबाट यो भाइरसको संक्रमण फैलने गर्दछ । तिनको सम्पर्कमा आएका फलफूल खाँदा मानिसमा यो भाइरस सर्न सक्छ । -एजेन्सी

प्रतिक्रियाहरु