निजी स्कुललाई शुल्क वृद्धि गर्न दिएकाे अनुमति खारेज गर्न माग

२०७६ बैशाख ५ गते, बिहीबार

काठमाडौँ, ५ वैशाख । नेपाल अभिभावक महासंघले निजी विद्यालयलाई शुल्क वृद्धि गर्न अनुमति दिनेगरी हालै काठमाडौं महानगरपालिकाले गरेकाे निर्णय खारेज गर्न माग गरेको छ । महानगरपालिकाले हालै मात्र ३० प्रतिशतसम्म शुल्क वृद्धि हुनेगरी तोकिएको निजी शिक्षाका नयाँ शुल्क तत्काल खारेज गर्न नेपाल अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले काठमाडौं महानगरपालिकासँग माग गरेका हुन् । स्थानीय सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी आफैँ निजी शिक्षालाई पाेस्न र अभिभावकलाई मारमा पार्न उद्यत रहेकाे भन्दै आक्राेश व्यक्त गरे ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले अभिभावकहरूले निजी विद्यालयमा निःशुल्क पढाउन नचाहेको भन्दै शुल्क अत्याधिक वृद्धि गर्ने काम समेत बन्द हुनुपर्ने बताए । याे निर्णय तत्काल खारेज नगरे महानगरपालिकाविरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।
यसैगरी उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले सरकारी निकायहरु आफै निजी शिक्षाकाे शुल्क बढाएर शैक्षिक वातावरण धमिल्याउन लागिपरेकाे भन्दै आपत्ति जनाए । हालैकाे महानगरपालिकाकाे निर्णय खारेज हुनुपर्ने उनकाे भनाइ थियाे । काठमाडाैँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क ३० प्रतिशतसम्म बढाउन स्वीकृति दिएपछि यसकाे सबैतिर आलाेचना भइरहेकाे छ । गत फागुन २६ गते बसेको महानगरपालिका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको बैठकले निजी विद्यालयले हाल लिँदै आएको शिक्षण शुल्कमा २७ देखि ३० प्रतिशतसम्म बढाउन पाउने निर्णय गरेकाे थियाे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु