निजामती किताबखाना मोबाइल एप्समा

२०७३ असार ६ गते, सोमबार

काठमाडौं, ६ असार । शाखा अधिकृत सोमप्रसाद पौडेल तीस वर्षअघि गृह मन्त्रालयबाट सिटरोल दर्ता गर्न आउँदा तीन दिन कुरेर काम फत्ते नभएपछि भनसुन गर्न बाध्य भएका थिए । अहिले उनी पेन्सनपट्टा बनाउन निजामती किताबखानाका कुनै कर्मचारीलाई खुसाएर भए पनि छिट्टै काम सक्ने सोचमा थिए तर परिस्थिति त्यस्तो भएन । निवेदन दिएपछि कुन कर्मचारीसँग गएर झुकौं वा चियानास्ता खुवाएर भए पनि छिट्टै काम पूरा गरौं भनी सोच्दासोच्दै आधा घन्टामै उनलाई पेन्सनपट्टाको पत्र लिन बोलाइहाले । एक घन्टा पनि कुर्न नपर्दै पेन्सनपटट्टाको काम सम्पन्न भएकामा खुसी भएका बुटवल नापी कार्यालयका ठाकुरप्रसाद गुरौ भन्छन् – “२०४२ सालमा सिटरोल दर्ता गर्न आउँदा भने दुई दिनसम्म धाउनुपरेको थियो ।”
यस्तै प्युठान जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय सहयोगी तिलकबहादुर खत्री पनि आफ्नो अतिरिक्तमानको विवरण बुझाउन दुई दिनसम्म कुर्नुपरेको थियो तर अहिले एकै घन्टामा सकेर आफ्नो बाटो लाग्न पाएकामा खुसी भएको बताए ।
विगतमा ‘मासुचिउरे अड्डा’का रुपमा परिचित किताबखानाले सूचना प्रविधिको विकासले नै २०६० देखि यति छिटो काम सम्पन्न गर्न सकेको हो । क्यान्टिनमा लगेर मासुचिउरा खुवाएपछि मात्र कर्मचारीले पुराना फाइल केलाउने गर्थे रे, त्यसैले यस कार्यालयलाई मासुचिउरे अड्डा भनिने गरेको सुनेको किताबखानाकै नाम नबताउने एक पुराना कर्मचारीको भनाइ छ् ।
सूचना र प्रविधिको प्रयोगबाट कार्यालयको काम सहज बनाउँदै आएको किताबखानाले केही समयभित्र कर्मचारीका सिटरोल दर्तादेखिका सबै विवरण कम्प्युटरबाटै गर्न वेबसाइट क्षमतामा विस्तार गर्न लागेको छ ।
यसपछि सम्बन्धित कर्मचारीले अनलाइनबाटै आफ्ना विवरण अध्यावधिकका लागि निवेदन दिन सक्ने र मोबाइल एप्स समेत प्रयोगमा ल्याउन सक्ने निजामहानिर्देशक गङ्गाराम गेलाल बताउँछन् । यस्का लागि सफट्वेयर निर्माण गर्न किताबखानाले सार्वजनिक सूचना बोलपत्र आह्वान गरिसकेको छ । किताबखानाकै निर्देशक चोकप्रसाद पौडेल भन्छन्– कार्यालयका सबै स्थानमा सिसी टिभी राखिएको र कुन कर्मचारीले कुनबेला के कस्तो काम गरेको छ भन्ने कम्प्युटरबाटै हेर्न सकिने गरी नेटवर्कको व्यवस्थाले काममा सहजता आएको छ ।
छायामा किताबखाना
असी हजारभन्दा बढी निजामती कर्मचारीको विवरण अध्यावधिक गर्ने किताबखाना ओझेलमा पारिएको त्यहाँका कर्मचारीको गुनासो छ । किताबखानाले कर्मचारीका सिटरोलदेखि पेन्सनपट्टासम्मका विवरण दैनिक अद्यावधिक गर्ने किताबखानामा गत जेठ २६ सम्ममा निजामती सेवाका १६ हजार ३७ महिलासहित ८३ हजार ५५८ कर्मचारीको विवरण छ ।
सामान्य प्रशासन मन्त्रालयको बेवास्ताका कारण ओझेलमा परेको मातहतको विभागका रुपमा रहेको किताबखानामा महानिर्देशकदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी सरुवा हुन हिच्किचाउँछन् । अघिल्लो वर्ष मात्र पाँच महानिर्देशकको सरुवा भइसकेको छ ।
एक सय पाँचजना कर्मचारीको दरबन्दी भएकामा हाल ६८ जना मात्र त्यहाँ कार्यरत छन् भने मुख्य काम गर्ने पाँच नासु, एक निर्देशक, एक सूचना प्रविधि इन्जिनियर लगायत कर्मचारीको दरबन्दी अझै पूरा हुन नसकेको उनीहरूको भनाइ छ ।
गत वर्षको भूकम्पका कारण टहराको बास भएको किताबखानालाई व्यवस्थित गर्ने प्रयास सफल हुन सकेन । भवन पुनःनिर्माणका लागि सामान्य प्रशासन मन्त्रालयको सहमतिमा अर्थ मन्त्रालयले सिफारिस गरी पठाए पनि पुनःनिर्माण प्राधिकरणबाट अख्तियारी आएन, कर्मचारीले पाउने गत आवको प्रोत्साहन भत्ता पनि समयमै वितरण भएको छैन ।
त्यस्तै नेतृत्व तहको परिवर्तनले नीतिनिर्माण र दैनिक कार्यमा असर पर्दैआएको छ, यति हुँदा पनि तालुकदार मन्त्रालयको बेवास्ता नै आफूहरुका लागि पीडा भएको त्यहाँका कर्मचारीको गुनासो छ । -मदन गौतम / रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार