निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढ्यो

२०७४ चैत्र २२ गते, बिहीबार

काठमाडौं, चैत २२ । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माणकार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाउने निर्णय गरेको हो । लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाइ निर्माणलाई तीव्रता दिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । उक्त विमानस्थलको विस्तृत् सम्भाव्यता अध्ययन (डीएफएस)का लागि उक्त मन्त्रालय र कोरियन कम्पनी ल्यान्डमार्क वर्ल्डवाइड (एलएमडब्लु)बीच सन् २०१० मार्चमा सम्झौता भएको थियो ।
सम्झौताबमोजिम कोरियन कम्पनलीले डीएफएस तयारी गरी सन् २०११ अगष्टमै मन्त्रालयसमक्ष प्रतिवेदन पेस गरेकामा मन्त्रालयले लामो समयसम्म प्रतिवेदनअनुरुपका कार्य अघि बढाउन सकेको थिएन ।
सरकारले घोषणा गरेको राष्ट्रिय गौरवको परियोजनाकारुपमा घोषित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकतामा राखेको उक्त मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘विविध किसिमका समस्या समाधान गर्दै यस परियोजनालाई शीघ्र अगाडि बनाइ मुलुकको आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले कोरियन कम्पनीले पेस गरेको विस्तृत् सम्भाव्यता अध्ययन प्रतिवेदनलाई सरकारले ग्रहण गरी यसको अध्ययन अगाडि बढाइएको’ विज्ञप्तिमा जनाइएको छ । पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको १०० दिने कार्ययोजनामा पनि राष्ट्रिय गौरवका पाँच आयोजनामध्ये निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुख्य प्राथमिकतामा परेको छ । राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्री अधिकारीले निजगढ विमानस्थलको वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत गराउने, विमानस्थलका लागि विस्तृत् सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको कोरियन कम्पनीसँगको दायित्व व्यवस्थापन गर्ने र विमानस्थल निर्माणको नमुना तय गर्ने उल्लेख छ । अन्य आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता तथा पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोषको कामलाई प्रभावकारी बनाइने मन्त्री अधिकारीले प्रतिबद्धता जनाएका थिए । उनले मन्त्रालयको पदबहालीकाक्रममा निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आफ्नोमात्र नभइ राज्यकै प्राथमिकतामा रहेकाले शीघ्र निर्माणकार्य अघि बढाउने उद्घोषसमेत गरेका थिए ।
सरकारले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको झन्डै दुई महिना पुगिसक्दा पनि अझै कुन ढाँचामा बनाउने भन्नेबारे अभै टुंगो लागेको छैन । करिब रु एक खर्ब २१ अर्ब लागत अनुमान गरिएको निजगढ विमानस्थल सरकार आफैंले निर्माण गर्ने प्रस्ताव पारित भएको पनि लामै समय भयो । तर, निर्माण ढाँचामा सहमति नजुट्दा काम अगाडि बढ्न सकेको छैन । सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपीसीएफ) दुवै ढाँचामा निर्माण गर्नसकिने गरी प्रस्ताव तयार पारिएको थियो । पर्यटन मन्त्रालयको सो प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएर राष्ट्रिय योजना आयोगमा पठाएको छ । विमानस्थल कुन ढाँचामा बनाउने भन्नेबारे छलफलमै रहेकाले अझै टुंगो लागिनसकेको पर्यटन मन्त्रालयका प्रवक्ता धनश्याम उपाध्यायले जानकारी दिए ।
‘विमानस्थल कस्तो ढाँचामा बनाउने भन्नेबारे कुरा मिलिसकेको छैन अर्थ मन्त्रालयले हाम्रो प्रस्तावलाई स्वीकृत गरेर राष्ट्रिय योजना आयोगमा पठाएको छ, आयोगको सुझावपछि मन्त्रिपरिषदले पारित गर्छ । त्यसपछिमात्रै विमानस्थल निर्माणले औपचारिकता पाउँछ’–उनले भने । लामो समयदेखि चर्चामा रहे पनि काम सुरु हुन नसकेको आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले विमानस्थलको चार किल्ला छुट्याएर तारबार गरिसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक त्रिलोचन पौडेलकाअनुसार निजगढ विमानस्थल क्षेत्रमा पर्ने रुख कटनी र सेरोफेरो सडक निर्माणकार्य भइरहेको छ । वनको काम नेपाली सेनाले जिम्मा लिएको छ । विमानस्थल निर्माणका लागि करीब ११ हजार विगाहा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । आयोजना प्रभावित बारा, गढीमाई नगरपालिका–१६ मा रहेको टांगिया बस्तीका एक हजार ४०० घरघुरीलाई स्थानान्तरण गर्नुपर्नेछ । विमानस्थलमा पहिलो चरणमा एउटा धावनमार्ग र टर्मिनल निर्माण गर्ने योजना छ ।-सिवी अधिकारी (रासस)

प्रतिक्रियाहरु