निःशुल्क औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने तयारी

२०७४ माघ ९ गते, मंगलवार

काठमाडौं, ९ माघ । स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयअन्तर्गतको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिले ७० प्रकारका औषधि स्वदेशमै उत्पादन गरी स्वदेशी उत्पादकसँग मूल्य सम्झौता गरी खरिद गर्नेलगाएका विषयमा अध्ययन गरी स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ । समितिले तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा भएको ३० प्रकारका औषधि आयातमा कडाई गर्ने विषय कार्यान्वयन गर्ने, औषधि उत्पादनसँग सम्बन्धित सरकारका विभिन्न विभागबाट प्रदान गरिने सेवाहरुको सरलीकरण गर्ने र औषधि उत्पादन क्षेत्र प्रवद्र्धन गर्न आवश्यक सुझाव समेत दिने छ । निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधि खरिदमा सरकारले हरेक वर्ष डेढ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ । नेपालले भारत लगायतका देशबाट औषधि खरिद गर्ने गरेको हो । नेपालमा हाल ५५ वटा औषधि उत्पादन कम्पनी छन् ।

प्रतिक्रियाहरु