नासाको यान मंगलग्रहमा अवतरण

२०७५ मंसिर ११ गते, मंगलवार

काठमाडौं , ११ मंसिर । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार आज बिहान १ बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो । यो यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्ने छ । पृथ्वीपछि पहिलो पटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको यो पहिलो पटक हो । अब रोबोर्टले मंगल ग्रहका बारेमा प्राप्त जानकारी पठाउने छ । क्यालिफोर्नियामा रहेको नासाको यो मिसन कन्ट्रोल गर्ने जेट प्रोपुल्सन ल्याबोरेटरीमा रोबार्ट मंगल ग्रहमा अवतरण भएको खुशीयाली मनाइएको छ । नासाले यो दिन उत्कृष्ट रहेको बताएको छ । अब वैज्ञानिकहरु यो अन्तरिक्ष यान पूर्णरुपमा ठीक रहेको जानकारीको प्रतिक्षामा छन् । साथै यानले पठाउने त्यहाँ वरपरका तस्बिर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन् ।
इन्साइट ल्याण्डरले यी सबै जानकारी अबका केही घण्टाभित्रै पृथ्वीमा पठाउने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो अभियानमा संलग्नहरुलाई बधाइ दिएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु