नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्न काम सुरु

२०७४ चैत्र २९ गते, बिहीबार

काठमाडौं, २९ चैत । नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारकाक्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्नसक्ने उच्च जोखिम रहेको छ ।
त्यस्तो जोखिम कम गर्न दुईओटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिने संरचना निर्माण, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, वायो इन्जिनियरिङलगायतका काम सुरु गरिएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ । तीमध्ये अति नै संवेदनशील रहेका ६ ठाउँमा सुरुमा काम गरिनेछ ।
कालीखोलाको वारिपारि गरेर तीन ठाउँ, चार किलो, मुग्लिनको मुख र सेतीदोभानमा बढी संवेदनशील देखिएको छ । तीमध्ये मुग्लिनको मुख र कालीखोला नजिकबाट काम थालिएको खनालले बताए । पानी परेपछि काम गर्न नमिल्ने भएकाले वर्षात्अघि नै कामसक्ने गरी काम गरिने भएको छ । खनालकाअनुसार दुई भागमा विभाजन गरेर रु १४ करोडमा कामको ठेक्का दिइएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजना परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीकाअनुसार हप्ता/१० दिनमा देखिनेगरी काम भइरहेको छ ।
पहिरो जाने सम्भावना उच्च भएका ठाउँमा पहिलो चरणमा काम भएकाले जोखिममा कमी ल्याउने उनले बताए । परामर्शदाता कम्पनीले भित्तो काटिएका ठाउँको डिजाइन गरेर पठाएपछि सडक विभागले ती ठाउँमा पहिरो रोक्नका लागि काम गर्न ठेक्का दिएको हो । गत वर्षको वर्षात्मा ठाउँठाउँमा पहिरो खसेर ठूलो जनधनको क्षति भएको थियो । सो सडकको अहिलेसम्म ८८ प्रतिशत काम सम्पन्न भएको छ । सडकको कुल लम्बाइ ३३.२ किलोमिटरमध्ये २८.३ किलोमिटर पहिलो तह कालोपत्र भइसकेको छ । जसका कारण पाँच किलोमिटरबाहेक अन्य क्षेत्रमा सवारी आवागमनमा सहजता आएको छ ।
सडक बने पनि पहिरो खसेमा वर्षात्मा यात्रीले दुःख पाउनसक्ने भएकाले पहिरो रोक्ने कामलाई उच्च प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार