“नाफाको जिन्दगी” जनयुद्धकालीन उत्कृष्ट साहित्य’

२०७२ भाद्र ९ गते, बुधबार

काठमाडौ, ९ भदौ । संवाद डबलीका अध्यक्ष दीपेन्द्र रोकायाको संस्मरणात्मक कृति नाफाको जिन्दगीमाथि विभिन्न कोणबाट समीक्षा भएको छ । बुधबार भृकुटीमण्डपमा बुक आर्ट नेपालद्धारा आयोजित अन्तरक्रियामा उक्त पुस्तकका समीक्षकहरुले पढ्नै पर्ने पुस्तकका रुपमा ब्याख्या गरे । उनीहरुले भने, “जनयुद्धकालीन उत्कृष्ट साहित्यका रुपमा नाफाको जिन्दगीलाई लिन सकिन्छ ।”
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य “किरण”ले जनयुद्धबाट बाँचेका सबैको जिन्दगी नाफाको रहेको र त्यसलाई खेर नफाल्न सहयोग मिल्ने कृतिका रुपमा लिएको बताए । बगेको रगत र पसिना त्यतिकै खेर नजाने दावी गर्दै उनले जनयुद्ध हारेको प्रसंग जोडेर भने, “यो हार अस्थायी हो र यो हारलाई अर्को महान जीतको रुपमा लिनपर्छ ।”
जनयुद्धका नायक खलनायक बनेको परिबेशबारे चर्चा गर्दै अहिले रगतको मुल्यमा संविधान लेखिनुपर्ने तर त्यसो नभएकोमा चिन्ता ब्यक्त गरेका नेता किरणले भने, “अब क्रान्तिको अर्को अध्यायको लागि तयार बनौ ।” उनले अहिलेसम्म फाट्टफुट्ट मात्र पढ्न पाएको पुस्तक नाफाको जिन्दगीको विषय सुनेर आफुले पढ्ने र समिक्षा लेख्ने प्रतिबद्धता पनि जनाए ।
प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरीले नाफाको जिन्दगी पढ्नैपर्ने पुस्तकको कोटीमा पर्नुको कारण सबै क्षेत्रका पाठकसँग संवाद गर्न सक्ने क्षमता रहेको बताए । “हर चुनौतीमा आशावादी रहने लेखकका धारणा र परिवेश जनयुद्ध साहित्यमा सुन्दर उपहार हो”े, उनले भने, “यो जनयुद्धमा सहभागीहरुको मध्ये सुन्दर कृतिमा पर्दछ ।”
दीपेन्द्र रोकायाहरुले कति लडिरहने र कति सडकमा हिडिरहने भनेर प्रश्न गर्दै बरिष्ठ पत्रकार डा. नबराज लम्सालले अर्को प्रश्न गरे, “यसखाले योगदानको कहिले संस्थागत हुन्छ ?” आफ्नो पुस्ताको चेतना र भोगाई नाफाको जिन्दगीमा उल्लेखित गरेकोमा गौरब गरेको बताउँदै डा. लम्सालले भने, “यो तन्नेरी पुस्ताले एक पटक पढ्न छुटाउनै नहुने पुस्तकका रुपमा लिन्छु ।” उनको विचारमा पढ्नका लागि शहर पसेको युवा दीपेन्द्र विचारमा बाँधिदा बस्तुपरिस्थितिले बन्दुक बोक्न समेत तयार भएकोे तर उनका अगुवाका कारण पत्रकार तथा लेखकका रुपमा स्थापित भएको देखिन्छ ।
नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतमले लेखक दीपेन्द्र रोकायामा मानवता, इमानदारी, निष्ठा र सिद्धान्तमा अडिने दृढताको दसतावेजका रुपमा नाफाको जिनदगी आएको बताए । “राजनीतिमा कहिल्यै सौदा गर्न नजान्ने ब्यक्तिका लागि कसरी नाफाको भयो भनी लेखकसँग प्रश्न गर्दै आएको छु” उनले भने, “यो कृतिले जनयुद्ध हुँदाको सिंगो नेपाल र कर्नाली चिनाउने काम गरेको पाएँ ।”
महिला नेतृ शान्ता श्रेष्ठले जनयुद्धले देश मात्र नभई सिंगो विश्व प्रभावित भएको स्मरण गर्दै त्यही युद्धका कारण बल्लतल्ल बाँचेका युवा दीपेन्द्रले हर पक्षबाट घेरामा पर्दा पनि आशावादी भएर हिड्ने गरेकोले आफु प्रभावित भएको अनुभव सुनाइन् । उनको तर्क छ, “आफ्नो देश बचाउन भएपनि यो किताव पढ्नैपर्छ ।”
राजनीतिशास्त्री प्रा.डा. हेमराज सुवेदीले हुम्लाको एक सामान्य नागरिकले विभिन्न आरोह आबरोह पार गरेका दीपेन्द्र रोकायाबाट देशभक्त भावनाहरु सार्वजनिक भएको रुपमा नाफाको जिन्दगीलाई लिएको बताए । उनको तर्क छ, “नेताहरु गैरजिम्मेवार हुँदा जनयुद्ध र जनआन्दोलनको उपलब्धी संस्थागत भएको पाइदैन ।”
नाफाका जिनदगीका लेखक दीपेन्द्र रोकायाले पुस्तक १० वर्ष, ९ महिना ५ दिनसम्म चलेको जनयुद्धको क्रममा भोगेको नेपाली समाजको परिवेशको टिपोट भएको बताए । उनले आफ्ना पाठक र समीक्षकबाट न्याय पाउन थालेको र सोही न्याय नै आफ्नो लागि खास पुरसकार भएको दावी गरे ।
बुक आर्ट नेपालका संयोजक कार्तिकेय घिमिरेले अथितिलाई खादा लगाएर स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन दिया चन्दले गरेकी थिइन् । यसअघि सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठान हुम्लाले प्रकाशनमा ल्याएको नाफाको जिन्दगी यसपटक बुक आर्ट नेपालले प्रकाशनमा ल्याएको छ । पुस्तकको मुल्य ४९९ रहेको छ ।

प्रतिक्रियाहरु