नाकाबन्दी फिर्ता गर

२०७२ आश्विन १६ गते, शनिबार

भारतले अघोषित नाकाबन्दी गरेपछि अहिले देशको स्थिति अस्तव्यस्त भएको छ । खासगरी इन्धनको अभावले नेपाली जनता आक्रान्त बनेका छन् । भारतको यो अघोषित नाकाबन्दीको विरुद्ध नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले समेत चर्को विरोध गरेका छन् । भूपरिवेष्ठित राष्ट्रको न्यूनतम हक र अधिकारलाई समेत कुण्ठित गर्दै भारतले नाकाबन्दी गरेपछि विश्वभर उसको आलोचना भएको छ । विगतमा २०४५ सालमा १३ महिनासम्म नाकाबन्दी गरेर दुःख दिएको भारतले यो पटक पनि त्यस्तै गर्ने कुचेष्टा गरेको छ । संविधान निर्माणमा भारतले गर्न खोजेको हस्तक्षेप नेपाली राजनीतिक दलहरुले अस्वीकार गरेपछि भारतले यो कुकर्म सुरु गरेको हो । भारतको यो कुकर्म (अघोषित नाकाबन्दी) स्वयम् उसकै लागि प्रत्युत्पादक हुन पुगेको छ । यस घटनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बोली र व्यवहार ठीक उल्टो भएको भन्दै विश्वभर उनको आलोचना भइरहेको छ भने नेपाली जनताको स्वाभिमानको पक्षमा विश्वभरबाट आवाज उठिरहेको छ । नेपालले पटक–पटक भारतको जी–हजुरी गरेर दुःख पाउँदै आएको सर्वविदितै छ । अब आजको २१ औँ शताब्दीमा पनि नेपाललाई त्यसरी नै आफ्नो चङ्गुलमा राख्न खोज्नु भारतको राजनीतिक र कूटनीतिक अपरिपक्वता मात्र हुन जान्छ । नेपाली जनता अब भारतको दासता स्वीकार गर्ने पक्षमा छैन । नेपाली जनता स्वाधीन र सार्वभौम सम्पन्न छन् । यसकारण आफ्नो हक र अधिकारको खातिर जस्तोसुकै लडाइँ लड्न तयार छन्, तर भारतसँग झुक्ने छैनन् । यो कुरा भारतले बुझे हुन्छ । अन्यथा भारतप्रति नेपाली जनताको कुनाकन्तरामा रहेको सद्भाव पनि नामेट हुनेछ । यसकारण भारतले तत्काल यो अघोषित नाकाबन्दी हटाई एक असल छिमेकीको व्यवहार गर्न आवश्यक छ, अन्यथा नेपाली जनताले त दुःख पाउँछन् नै भारत पनि खुसी र सुखी भएर बस्न पाउने छैन, चेतना भया ।

प्रतिक्रियाहरु