त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका संरचनामा नयाँ भाडादर निर्धारण गर्न निर्देशन

२०७६ जेष्ठ ५ गते, आईतवार

काठमाडौं, ५ जेठ । सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र संचालित संरचनामा नयाँ भाडादर निर्धारण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। करार सम्झौता सकिएका सबै संरचनाहरु दुई महिनाभित्र हटाई नयाँ बोलकबोल्मार्फत भाडामा लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। करार समय सकिइसकेका पसललगायत भाडामा लगाइएका सबै संरचनाको दुई महिनाभित्र बोलकबोल गराई नयाँ भाडादर कायम गर्न पनि समितिले निर्देशन दिएको छ।
त्यसैगरी, प्राधिकरणले उठाउन पर्ने करिब २ अर्ब रुपैयाँ बराबर बक्यौता रकम असुल उपर गरी त्यसको प्रतिवेदन लेखा समितिमा पेस गर्न पनि समितिले निर्देशन दिएको छ। मुद्दामा रहेका संघ संस्थाको हकमा महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरी मुद्दा मामिला किनारा लगाउन पनि समितिले निर्देशन दिएको छ। बक्यौता तिर्न बाँकी रहेका अघिकांश संस्थाहरु आर्थिक रुपमा टाट पल्टिएका र व्यवसाय नै बन्द गरिसकेका रहेकोमा त्यस्ता स्वदेशी तथा विदेशी व्यक्ति र कम्पनीलाई कालोसुचीमा राखेर बक्यौता असुलको काम अगाडि बढाउनसमेत समितिले निर्देशन दिएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु