नर्भिक अस्पतालको चरम लापर्वाही, देब्रे घुँडाको सट्टा दाहिने घुँडाको अपरेशन

२०७४ फाल्गुन १२ गते, शनिबार

काठमाडौं , १२ फागुन । नर्भिक अन्तराष्ट्रिय अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरिदिएको छ । चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आइपुगेका थिए । रिपोर्ट हेरेपछि डा. प्रविण नेपालले भ्याङ रहेको भन्दै अपरेशन गर्नु पर्ने राय दिए । सोहि बमोजिम हिजो शुक्रबार विहान करिव साढे ९ बजेतिर अस्पताल भर्ना भइन् र अपरेशन सुरु भयो । उनलाई अपरेशन कक्षमा झण्डै चार घन्टा राखियो । अपरेशन लगतै भेट्न दिइएन, जुन स्वभाविक हो । तर, कस्तो छ भन्दा डाक्टरले राम्रो भएको सुनाए । जब आफन्तले भेट्न पाए, विरामीले अपरेशन गरेको खुट्टा देखाउँदा परिवारका सदस्यहरु छाँगाबाट खसे झै भए । नहुन पनि किन ? देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरेछन् । त्यसबेलासम्म असपतालले केही भनेको थिएन । पीडित परिवार डाक्टर प्रविणलाई भेट्न पुगे । उनी भेटिएनन् । लगतै उनीहरु कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह कहाँ पुगे र उपचारका क्रममा भएको गम्भीर गल्ती सुनाए । विरामीका आफन्तका अनुसार सुरुमा त चिकित्सकले गल्ती स्वीकार गर्न आनाकानी गरेका थिए । डा. प्रविण नेपालको तर्क थियो, अपरेशन रुममा गएर हेर्दा देब्रेभन्दा दाहिनेमा धेरै समस्या देखेँ, त्यसैले त्यसकै अपरेशन गरेँ ।’ तर, विरामीका आफन्तले यो मान्ने कुरा थिएन । दाहिने खुट्टाको अपरेशन गर्नु पूर्व आफूलाई जानकारी नदिएको मात्र होइन, कुन परीक्षणका आधारमा अपरेशन गर्नुभयो भन्ने प्रश्न गरे । छलफलका क्रममा अस्पतालका कार्यकारी निर्देशक सिंहले पनि डाक्टर नेपालको तर्कसँग सहमत भएनन् । तर, अन्तिममा डा. नेपालले देब्रे सोचेर अपरेशन गरेको दाहिने परेछ भने भन्दै गल्ती स्वीकार गरे ।
आज चौधरी ग्रुपद्वारा सञ्चालित अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति भएको छ । सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् । विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।
अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति

प्रतिक्रियाहरु