नरसिंह जात्रा सम्पन्न

२०७४ श्रावण २९ गते, आईतवार

काठमाडौ, २९ साउन । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म गुठि अन्तर्गत प्रत्येक वर्ष भाद्र कृष्ण पंचमीको दिनमा मनाउँदै आएको नरसिंह जात्रा ‘उपालकं सायाः’ मनाइएको छ । देवगण सहित ६ जोडी अप्सरा, भजन टोली, धिमेय् बाजा टोली, विभिन्न झाँकिसहित जात्रा मनाइएको हो । ललितपुर उपाकर्म गुथि अन्तर्गतको षटकुल अर्थात ६ वटा कुलका राजोपाध्यायबीच ज्येष्ठताको आधारमा पालो चलाइने यस जात्रालाई यसपालि तुइलाक्व मंगलबजारका घनश्याम शर्मा राजोपाध्यायको घरबाट संचालन गरिएको थियो ।
जात्राको पालोवालाको ज्वाईं, अथवा भान्जा अथवा पुरोहितलाई नरसिंह बनाउने परम्परा अनुसार यस वर्षका पालोवाला घनश्याम शर्माका ज्वाईं अन्जन राज राजोपाध्यायलाई नरसिंह बनाइ ललितपुर नगर परिक्रमा गराइएको थियो । नरसिंहको साथमा लक्ष्मी, सरस्वती र प्रल्हादलाई ललितपुरको गाइजात्रा रुटमा परिक्रमा गराइएको थियो । पालोवालाकै घरबाट जात्रा संचालन गरी सोहि ठाउँमै सम्पन्न गर्ने परम्परा अनुसार पालोवाला शर्माको निवास तुइलाक्वबाट जात्राको सुरुवात भएको थियो भने त्यसपछि मंगलबजारबाट सौगल, सुन्धारा, ओकुबहाल, थाइना, चक्रबहिल, हौगल, तिच्छुँगल्ली, वला, पुर्णचण्डि, गाःबहाल, पिम्बहाल, वालिफल, क्वालखु हुँदै मंगलबजारबाट तुइलाक्वमै पुगी जात्रा सम्पन्न भएको थियो ।
ठुलो वर्षाका बीच पनि प्रत्येक टोलमा नरसिंहको दर्शन साथै पूजा गर्नेको ठुलै घुइँचो लागेको थियो । वर्षाको पर्वाह नगरी भक्तजनहरुले नरसिंहसँगै नगर परिक्रमा पनि गरेका थिए । यो जात्रा विधिवत् सम्पन्न भएमा दैवीप्रकोप, रोगव्याधि आदिबाट मुक्ति पाइने, जात्राको क्रममा नरसिंहको पछाडि झुन्ड्याएर राखिने कपडाका पुतलीलाई ढोग्न लगाएमा बालबालिकाहरुलाई रुन्चे नलाग्ने जनविश्वास समाजमा रहि आएको छ । ललितपुरमा कार्तिक नाचका नरसिंहलाई उग्र रुपको नरसिंहको रुपमा लिइन्छ भने यस नरसिंह जात्रा उपाकलं सायाःका नरसिंहलाई शान्त रुपमा लिइन्छ । हालसम्म ने.सं ८६९ (वि.सं.८६९) देखिको प्रमाण देखिएतापिन यस जात्राको इतिहास भने अस्पष्टै रहेको छ । जात्रासँग सम्बन्धित उपाकर्म गुठीसँग ने.सं. ८६९ देखिको जात्राको पालोवालाको नामावलि रहेको भएपनि यसभन्दा अगाडिका प्रमाणहरु समयको कुनै कालखण्डमा विभिन्न घटनाक्रममानष्ट भएको वा गरिएको हुनसक्ने विज्ञहरुको भनाइ रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार