नयाँ वर्ष २०७५ साल सुरु

२०७५ बैशाख १ गते, शनिबार

काठमाडौं, १ बैशाख । नयाँ वर्ष २०७५ साल सुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ ।
विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र वंगलादेशमा पनि प्रयोगमा रहेको छ । वंगलादेशमा त बैशाख १ लाई नै नयाँ बर्षको रुपमा मनाउने गरिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने गर्दछन् ।
यसैबीच, नयाँ वर्षको पहिलो दिन विभिन्न ठाउँमा मेला लाग्ने गर्छ । काठमाडौंको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने वाग्द्वार, टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा विशेष मेला लाग्छ । काठमाडौंको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा स्नान गरेमा कुष्ठरोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ । भक्तपुरमा बिस्केट जात्राको रौनकता वैशाख १ गतेकै दिन बढ्ने गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार