नयाँ प्रविधिको विकासमा नेपाली वैज्ञानिक

२०७६ कार्तिक ७ गते, बिहीबार

काठमाडौं, ७ कात्तिक । विदेशमा अध्ययन गरेर स्वदेश फर्किएका युवा वैज्ञानिक नयाँ र सिर्जनात्मक काममा जुटिरहेका छन् । नेपालका लागि उपयोगी र विश्वमै प्रभाव पार्नसक्ने काममा उनीहरू सक्रिय भएका हुन् ।
नेपालमा नयाँ प्रविधिको विकास गर्ने सोच र लक्ष्यका साथ उनीहरू नेपाल फर्किएका हुन् । विकसित मुलुकमा विज्ञानका विभिन्न विधामा विद्यावारिधि (पीएचडी) गरेर स्वदेश फर्कनेहरूले नयाँ कामको थालनी गरेका छन् ।
अमेरिकाबाट फर्कएकी युवा वैज्ञानिक डा प्रतिमा पाण्डेले विदेशबाट पढेर फर्केकाहरूले विश्वस्तरीय अनुसन्धान र नेपालमा काम गर्न सुरु गरिसकेका बताइन् । उनले भनिन्, “त्यहाँको जति मिहिनेत गर्ने हो भने हामीले व्यक्तिगत रूपमा १० गुणा बढी काम र कमाइ गर्न सक्छौँ तर नेपालमा गर्दा १० गुणाभन्दा बढीले फाइदा लिन सक्छन् । अमेरिकामा हामी नभए पनि फरक पर्दैन तर नेपालमा हामीले धेरै गर्न सक्छौँ । ”
रसायन शास्त्रमा अमेरिकाबाट पीएचडी गरेकी पाण्डे चार वर्षअघि स्वदेश फर्किएकी हुन् । उनले सुन्तलाजन्य फलका बोक्राबाट नयाँ उत्पादन गर्दै छिन्। उनी त्यसमा मूल्य अभिवृद्धि (भ्यालु एड) गर्ने गरी नयाँ सौन्दर्य प्रशोधन उत्पादनमा जुटेकी छिन् ।
अमेरिकामै रसायन शास्त्रमा पीएचडी गरेर तीन वर्षअघि स्वदेश फर्किएका वसन्त गिरीले तरकारी तथा फलफूलमा विषादी परीक्षणका लागि नयाँ प्रविधि निर्माण गर्न अनुसन्धानमा जुटिरहेका छन् । फ्रान्स र बेलायतबाट विद्यावारिधि गरेर फर्कनुभएका डा विशेष खनाल आर्टिफिसियल इन्टिलिजेन्समा नयाँ काम गर्दै छन् । उनले नेपालमा निकै सस्तो र सरल खालको अल्ट्रासाउण्डको विकास गरिरहेका छन् । – गोरखापत्र दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार