‘ नयाँ ढंगको जनयुद्ध आवश्यक ‘

२०७२ माघ २७ गते, बुधबार

काठमाडौँ । आजको विषम परिस्थितिमा जन्मस्थान इलाममा जन्मिएर धरानलाई कार्यक्षेत्र बनाएका लम्जेल सङ्घर्षशीलको भाषा, साहित्य, कला, पत्रकारिताको क्षेत्रमा पु-याएको योगदान महत्वपूर्ण रहेको अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय कार्यालय सदस्य खेम थपलियाले बताएका छन् । उनले सम्पूर्ण कुराहरुको कमान्ड राजनीतिले गरिरहने भएकोले कला साहित्यको क्षेत्रमा पनि राजनीति हुन्छ । यसलाई जनताको हितमा परिवर्तनको र रुपान्तरणको पक्षमा निरन्तर क्रियाशील भइरहन आवश्यक रहेको समेत बताएका छन् । उनले भने लुसुनले भनेका छन्– साहित्य लेखनको उद्देश्य दुई किसिनको हुन्छ । पहिलो साहित्य हस्तक्षेपका लागि लेख्नुपर्छ, दोस्रो साहित्य रुपान्तरणका लागि लेख्नुपर्छ । त्यसैले हामीले पनि हस्तक्षेपकारी र रुपान्तरणकारी किसिमको सिर्जनामा जोड दिन आवश्यक छ । अहिले कोही पनि सन्तुष्ट हुन नसकेको संविधान जारी गरी जबरजस्ती नेपाल र नेपालीमाथि थोपरिएको बताउदै उनले भने यो कुरा नेपाली जनतालाई अमान्य र हामीलाई पनि अमान्य छ । त्यसैले संसदवादीका विरुद्ध आन्दोलित भएर मात्र नयाँ राज्यव्यवस्था निर्माण गर्न सकिने बताउदै उनले यो काम अब एकीकृत जनक्रान्तिको कार्यदिशाले सम्पन्न गर्न सक्छ भन्ने कुरामा गहिरो विश्वास रहेको बताएका छन् ।
उनले आज माओवादी शक्तिमा विभाजन आएको बताउदै पछि माओवादी गलत थियो, जनयुद्ध गलत थियो भन्ने जस्ता आरोपहरु फैलाइएको बताए । उनले जुन कुरा सरासर गलत र माओवाद नेपाल र नेपाली जनताको मुक्तिको सशक्त हतियार भएको बताएका छन् । उनले त्यही हतियारले जनयुद्ध हाँकिएकाले त्यो ऐतिहासिक आवश्यकता भएको बताए । उनले आजको परिस्थितिमा जनयुद्धको ठूलो भूमिका र योगदान रहेको बताए । उनले कार्यक्रममा नेपालमा जनयुद्ध जारी रहेको बताउदै माओवाद सशक्त र माओवादीहरु जिउँदै भएको समेत बताएका छन् ।
पूर्वी नेपालको सुन्दर र महत्वपूर्ण धरानको आज कुन अवस्था छ । यसमा यस क्षेत्रमा पीता, पुर्खाको रगत पसिना सिञ्चिएको बताउदै उनले यहाँको माटो, ढुंगामा पुर्खाहरुको बहादुरी र योगदानको सुगन्ध भएको बताएका छन् । उनले यसको पहिचानको सुरक्षा गर्न, थप विश्वास गर्न, अपनत्व कायम राख्न आवश्यक भएको समेत बताएका छन् । राष्ट्रियताको संरक्षणले राष्ट्रिय मुक्ति आन्दोलन गर्न आवश्यक रहेको बताउदै उनले भने आन्दोलनबाट मात्रै हामीले सोचेको समाज स्थापना गर्न सकिने छ । कार्यक्रममा उनले नेपाल र नेपाली जनताको सपना साकार पार्न नयाँ ढंगको जनयुद्धको थालनी गर्न आवश्यक रहेको उद्घोष गर्दै अहिलेको यथार्थ र अपरिहार्यता रहेको समेत बताएका छन् । उनले गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिका तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त कुरा बताएका हुन् ।
उक्त कार्यक्रममा एकिकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बोले कला साहित्य र राजनीति छुट्टै पाटो भएको हुनाले यसको द्धन्दात्मक सम्बन्ध हुने कुरा बताए । त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य केवी फुदोङले कला साहित्यलाई जातीय, वर्गीय मुक्ति आन्दोलनलाई केन्द्रविन्दु बनाएर सृजना गर्नु पर्ने बताए । उनले कला साहित्य समाज जागरणको मुख्य पाटो भएको कुरामा जोड दिए । त्यसैगरी संघीय समाजवादी फोरमका सुनसरी वरिष्ठ उपाध्यक्ष पारस काङवाङ राईले पहिचान सहितको संघीयता प्राप्तिको आन्दोलनलाई केन्द्रविन्दु बनाएर कला साहित्य सृजना गर्नुपर्ने कुरामा जोड दिए ।
धरानबाट प्रकाशित एक मात्र साहित्यिक पत्रिका गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिकाले तीन वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित सम्मान, पुरस्कार प्रदान तथा साहित्यिकार पत्रकार स्वास्थ्य उपचार कोष सार्वजनिक कार्यक्रममा वक्ताहरुले उक्त कुरा बताएका हुन् । त्यसैगरी उक्त कार्यक्रममा कवि कुन्ता शर्मा, बम देवान, पेमा लामा, मनि राई ‘गोठाले’, सुनिता कार्की लगायतले कविता वाचन गरेका थिए । उक्त कार्यक्रममा स्वास्थ्य उपचार कोषको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय कार्याल्य सदस्य खेम थपलियाले सार्वजनिक गरेका थिए । उक्त कोष सुनसरी जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर क्रियाशिल १ जना साहित्यकार र १ जना पत्रकारलाई प्रत्येक वर्ष ५÷५ हजार रुपैयाँका दरले उपलब्ध गराउने सार्वजनिक गरिएको छ ।
उक्त कोष मुटुको एन्जियोग्राफी, मुटुको शल्यक्रिया र मृगौला प्रयारोपण जस्तो उपचारको लागि मात्र उपलब्ध गराउने सार्वजनिक गरिएको छ । कोषको स्रोत पत्रिकाको वर्ष ३ देखिको कुल आम्दानीबाट १० प्रतिशत रहने समेत सार्वजनिक गरिएको छ । सहयोगदाताहरुका लागि पनि उक्त कोषमा सहयोग गर्न अधिकार रहने समेत सार्वजनिक गरिएको छ । कार्यक्रमको अवसरमा संघीय समाजवादी फोरम सुनसरीका वरिष्ठ उपाध्यक्ष पारस काङवाङ राईले कोष सञ्चालनका लागि माघ महिनाभित्रमा १० हजार रुपैयाँ उपलब्ध गराउने उद्घोष गरेको छन् । त्यसैगरी प्रगतिशील लेखक सङ्घ सुनसरीका अध्यक्ष केशवकुमार सुनामले १ हजार रुपैयाँ र आशिष वचत तथा ऋण सहकारी संस्था लि.धरान–९ आचार्य लाइनका प्रबन्धक महिन्द्र बोगटीले १ हजार १ सय १० रुपैयाँ उपलब्ध गराएका थिए ।
उक्त कार्यक्रममा २००६ सालमा वर्मेली कम्युनिष्ट पार्टीमा आबद्ध भएदेखि निरन्तर नेपाली कम्युनिष्ट आन्दोलनमा क्रियाशिल ९२ वर्षीय ज्येष्ठ क्रान्तिकारी कम्युनिष्ट योद्धा नरबहादुर जवेगु लिम्बूलाई विशेष सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.संस्थापक सञ्चालक सदस्य विष्णुमाया लामिछाने विश्वकर्मा, गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य, व्रिटिश गोरखा सैनिक संघद्धारा सञ्चालित विभिन्न संघ संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने गजेन्द्र इस्बो, बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.धरान शाखा प्रमुख मानबहादुर दियाली विश्वकर्मा, बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.धरान शाखाका प्रमुख प्रशासकीय शाखा अधिकृत गंगा कालिकोटे, न्यू भिजन ज्वेलरी ट्रेड सेन्टर, धरान–८ भोटेपुलका सञ्चालक ज्ञानेन्द्र पुरकुटी, सगरमाथा ज्वेलरी इण्डष्ट्रिज प्रा.लि., धरान–१८, बुद्धचोकका सञ्चालक हितमान बराइली, आरधाना ज्वेलरी सप, धरान–२, रत्नरोडका सञ्चालक दुर्गाबहादुर विश्वकर्मा, प्लाटिनम ज्वेलरी, धरान–२, रत्नरोड र प्रदिती ज्वेलरी ज्वेलरी सप, ज्ञानचन्द्रमार्ग, धरान–८, बरगाछीका सञ्चालक, प्रदिप गहतराज र मुन्धुम फोटोकपी सेन्टर, धरानका सञ्चालक कृष्ण माबुहाङलाई सम्मान गरिएको थियो । यसैगरी प्रगतिशील लेखक सङ्घ सुनसरीका अध्यक्ष एवम् प्रगतिशील स्रष्टा केशवकुमार सुनाम, नेकपा माओवादी, सुनसरी सेक्रेटरी एवम् प्रगतिशील स्रष्टा जसकुमार राई, दलित साहित्यकार मञ्च नेपालका कोषाध्यक्ष एवम् स्रष्टा सकुन्तला भुसाललाई उत्कृष्ट प्रतिभाका रुपमा गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिका उत्कृष्ट प्रतिभा पुरस्कारद्धारा सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल गजल प्रतिष्ठान सुनसरीका अध्यक्ष श्रेष्ठ परिक्रमा, कवि शिरोमणि साहित्य साधना समाज धरानका अध्यक्ष सिद्धिकर्ण शर्मा, अमर सेवा युवा प्रतिभा समूहका अध्यक्ष मनि राई ‘गोठाले’, ब्राम्हण समाज धरानका अध्यक्ष उद्धवप्रसाद अधिकारी, श्री विश्वकर्मा कल्याण सेवा समिति धरानका अध्यक्ष लालबहादुर सेन्च्यूरी, नेकपा माओवादी धरानका सेक्रेटरी सुरज विद्रोही, संघीय लिम्बुवान पार्टी नेपाल सुनसरी अध्यक्ष अमर इजम, क्रान्तिकारी कम्युनिष्ट पार्टी सुनसरी इन्चार्ज नुलाम राई, संघीय विद्यार्थी युनियन सुनसरी अध्यक्ष प्रदिप नयोङ, संघीय प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष पीवी दियाली, नेपाल पत्रकार महासंघ सुनसरीका कार्य समिति सदस्य तारा लामगादे ‘गिदोन’, कालिकोटे बन्धु समाजको अध्यक्ष मानबहादुर कालिकोटे, एसियन लाइफ इन्स्यूरेन्स धरानका शाखा प्रमुख तिलक कालिकोटे, नेकपा माओवादीका सूर्य राई, नेपालेटार दाप उद्योग धरान–१७ का सञ्चालक कुमार मंग्राती र बिहानी जनसाँस्कृतिक समाजका अध्यक्ष लोकराज निरौला लगायतको उपस्थिति रहेको थियो । पत्रिकाका अध्यक्ष महिन्द्र बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य निलिफा सुब्बा विशेष आतिथि रहेकी थिइन । पत्रिका सह–सम्पादक जमुना श्रेष्ठले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन पत्रिकाका उप–सम्पादक नविन रम्तेलले गरेका थिए ।

प्रतिक्रियाहरु