नयाँ जनवादी क्रान्ति पूरा नगरी समाजवादमा पुग्न सकिन्नः किरण

२०७३ जेष्ठ १३ गते, बिहीबार

काठमाडौं, १३ जेठ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरणले नयाँ जनवादी क्रान्ति पूरा नगरी वैज्ञानिक समाजवादमा पुग्न नसकिने बताएका छन् । साँस्कृतिक बलिदान दिवसको अवसरमा इच्छुक साँस्कृतिक प्रतिष्ठानले आयोजन गरेको कृष्ण सेन ‘इच्छुक’ स्मृति पुरस्कार वितरण समारोहमा बोल्दै किरणले सो कुरा बताएका हुन् । माक्र्सवादी सौन्दर्य चिन्तक ‘चैतन्य’ नामबाट सुपरिचित क्रान्तिकारी माओवादीका अध्यक्ष किरणले नेपालमा माओवादी आन्दोलन गम्भीर मोडमा पुगेको बताउँदै महान् जनयुद्धले नाम मात्रको नयाँ नभई साँचो अर्थमा नयाँ सपना देखेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईप्रति इंगित गर्दै नयाँ चिज र सिर्जनशीलताको खोजीका क्रममा जनयुद्धमा सहभागी माओवादीका केही पक्ष पुरानो ठाउँमा पुगेको बताए । ‘प्रचण्ड र बाबुरामहरुले लिएको बाटो नयाँ विल्कुल होइन, नयाँ र सिर्जनशीलताको कुरा गरेर संसदवादजस्तो धेरै पुरानो ठाउँमा पुग्नु भएको छ, त्यो एकदम गलत छ’ अध्यक्ष किरणले भने ।
देश जनताको मुक्तिका लागि अझै बलिदान दिनुपर्ने अवस्था निकट आइरहेको उनको भनाई छ । ‘माओवादी आन्दोलनलाई जडसूत्रवादलाई समेत माथ गर्नेगरी पछाडि फकाईएको छ, यसबाट अगाडि बढाउन अब बलिदानी भावसहितको आन्दोलन गर्नुको विकल्प छैन’ उनले भने ।
अहिले नेपाली कन्युनिस्ट आन्दोलनको विचित्र अवस्थामा आफूहरु परेको उनको दाबी छ । नयाँ जनवादी क्रान्ति पूरा नगरी वैज्ञानिक समाजवाद पुग्नै नसकिने उनको जिकिर छ । ‘जडसूत्रवादको विरोध नयाँ तरिका गरिनुपर्ने बताउँदै जडसूत्रवादको विरोध गर्ने तरिका देख्दा ‘वाक्क दिक्क लाग्छ हेर्नुस्’ उनले भने ।
राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजित प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष किरणले इच्छुकले देखेको सपना जनयुद्धको सपना रहेको भन्दै सेनको सपना र उद्देश्यले जनयुद्धको स्पिरिट बोकेको बताए ।
‘सपना मारेर मर्दैन, सपना र आदर्शलाई मार्न पनि हुँदैन’ किरणले भने ‘अमेरिकी र रुसी साम्राज्यवाद, दिक्षिणी विस्तारवादले मुत्तिकामी जनताको आन्दोलनमा उतारचढाव आइरहेको छ, यो परिस्थित चिर्न त्याग, बलिदानको बाटो समात्नुको कुनै विकल्प छैन ।’
यसैबीच , इच्छुक साँस्कृतिक प्रतिष्ठानले दिवसको सन्दर्भ पारेर प्रतिष्ठानद्वारा प्रगतिवादी श्रष्टाहरुलाई पुरस्कृत समेत गरिएको छ । पुरस्कृत हुनेमा प्रगतिशील लेखक, कवि तथा साहित्यकार जुम्लाका राजबहादुर कुँवर र सुर्खेतकी चन्द्र थानी रहेका छन् । दुवैजना नगद ५०–५० हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् ।
त्यस्तै प्रतिभा पुरस्कारबाट काभ्रेका अक्कलबहादुर पाख्रिन ‘असल’ र भारतको कालेबुङमा रहेर भारतीय नेपाली प्रगतिवादी साहित्य लेखनमा सक्रिय भीमा राई ‘तोलाछा’ पुरस्कृत भएकी छन् । पाख्रिन र राईलाई २५–२५ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । पुरस्कृत स्रष्टाहरुले इच्छुकको नामसँग जोडिएको पुरस्कारबाट आफूहरुलाई गौरवन्वित हुनुका साथै साहित्यिक कर्ममा चुनौति र जिम्मेवारी थपिएको बताए । कार्यक्रममा भारतबाट आइपुगेका टीका भाईले कविता मर्मस्पर्शी प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा प्रगतिशील लेखक तथा साहित्यकारहरु निनु चापागाईँ, प्रगति लेखक संघका अध्यक्ष मातृका पोखरेल, पूर्वअध्यक्ष अमर गिरी, रोशन जनकपुरी, ताराकान्त पाण्डेय, टेक वलम्पाकी, टेक बलम्पाकीलगायतले कृष्ण सेन ‘इच्छुक’ प्रगतिवादी साहित्यमा आदर्श रहेको बताए । इच्छुकको आदर्शलाई पछ्याउँदै उनको जनवादी सँस्कृतिको सपना पूरा गर्न सक्नुमा नै इच्छुकप्रति न्याय हुने बताए ।
कार्यक्रमका अध्यक्षता गरिरहेका ईश्वर चन्द्र ज्ञवालीले वरिष्ठ पत्रकार तथा प्रगतिवादी लेखक साहित्यकार इच्छुकको २०५९ साल जेठ १३ गते तत्कालीन सरकारले गिरफ्तार गरी निर्मम यातना दिई हत्या गरिएको दिनलाई प्रगतिवादी लेखक तथा साहित्यकारहरुले साँस्कृतिक बलिदान दिवस मनाउँदै आइरहेको बताए । जनयुद्धका क्रममा १७० भन्दा बढी साँस्कृतिककर्मीहरुले बलिदान गरेको बताए । प्रगतिशील साँस्कृतिक आन्दोलनले नै प्रतिक्रियावादी शासन व्यवस्थाको ठाउँमा जनताको शासन व्यवस्था खडा गर्न सक्नुमा नै इच्छुक स्मृति दिवसको सार्थकता हुने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु