नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर

२०७४ माघ १६ गते, मंगलवार

काठमाडौँ , १६ माघ । भारतको राजधानी नयाँदिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँदिल्लीमा मंगलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विश्व वातावरणसम्बन्धी संस्था ‘ग्रीन पिस’को भारत शाखाले मंगलबार सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरिएको बताइएको छ । भारतका मुख्य ३० ओटा सहर प्रदूषित रहेका र तीमध्ये सबैभन्दा बढी प्रदूषण नयाँदिल्ली सहरमा पाइएको हो । लखनउ, नोएडा, गाजियाबाद, वनारस, अलाहबाद, कानुपुर र आग्रा पनि प्रदूषित सहरमा परेका सो अध्ययनले देखाएको जनाइएको छ । दिल्ली र उत्तर प्रदेशका अतिरिक्त राजस्थान, महाराष्ट्र र विहार राज्यमा पनि प्रदूषणको मात्रा अधिक भेटिएको छ । यो अध्ययन वायु प्रदूषणको मात्रामा आधारित रहेको छ । ती राज्य र सहरहरुमा बढ्दो वायु प्रदूषणका कारण विशेषगरी बालबालिका बढी मात्रामा प्रभावित भएको पाइएको जनाइएको छ । ती राज्यमा पाँच वर्षमुनिका करिब १ करोड २९ लाख बालबालिका बस्छन् ।- रासस/सिन्ह्वा

प्रतिक्रियाहरु