नदीको कथा – प्रथा

२०७७ बैशाख १ गते, सोमबार

यतिखेर
उदास बनेको छ
मजस्तै एउटा सुनसान बगर !
सायद,
आफ्नै सपनाहरू गुमाएपछि
फुटेको हुनुपर्दछ
यो पहाडको मनको बाँध पनि !
र त वर्षौं-वर्षदेखि,
जीवनका सारा लयहरू टुटाएर
यो धर्तीमा बगिरहेछ – यति ठुलो आँसुको नदी !

किनारा छेवैमा
एकजोर बुढा आँखाहरू ओछ्याएर
एउटी माझिनी हेरिरहिछे
पानीको पन्नामा कोरिएका अक्षरहरू
जहाँ लेखिएको छ
उसकै वैंसको एउटा इन्द्रेणी कथा !
ऊ सम्झिन्छे,
पानीका सहस्र अनुच्छेदहरू कुल्चिएर
कति चाँडै दौडिएछ
आफ्नै उमेरको यो कम्पनी गाडी !

नदीमा छ
नदीकै आफ्नो जिन्दगी !
कसलाई पो थाहा छ र, हसिना ?
जिन्दगीका रहरहरू टुटेपछि
कति भरोसाहरू
पुरानो बयामझैँ फुटेर गए होलान् !
कति सम्झनाहरू
विधुवाको सिउँधोझैँ पुछिएर गए होलान् !
तर पनि,
नदी निरन्तर बगिरहेछ – आफ्नै अनुहार मेटाउँदै !

यो पानीको वहाव उर्लेर
कति सपनाहरू बाढीको भेलमा डुबे होलान् ?
यो धमिलो पानीमा भिजेर
कति संवेदनाहरू नुनको ढिकाझैँ पग्लिए होलान् ?
पानीको धारमा रेटिएर
किनाराका कति खुसीहरू मेटिएर गए होलान् ?
र यही नदीको आँसुमा डुबेर
यो देशका कति विश्वासहरू बगेर गए होलान् ?
भन न हसिना !
यति शान्त देखिने नदीभित्र
किन होला
डरलाग्दो ज्वारभाटा दौडिरहन्छ ?
…………………..

दु:खको पैह्रो झरेर
संसार सपना-शुन्य बनेपछि
विच्छेदित हुनुपर्ने हो – जीवनको गति !
तर किन होला
अविच्छेदित छ – नदीको यो अविराम गति ?
यात्रा त उही छ
तर किन गन्तव्य भेटी फर्किदैन नदी ?
न कुनै विश्रान्ति छ
न त कुनै थकाईका सुस्केराहरू छन् !
न त कुनै रङ छ
न त कुनै आकार नै छ – पानीको !
कहाँ लुकाउँछ होला
नदीले आफूभित्रको पीडाको समुद्र ?

आजसम्म पनि,
जीवनको आशा बोकेर
अविरल बगिरहेछ – एउटा दु:खी नदी !
यस्तो लाग्छ
तरल हुनु भनेको सबैभन्दा खतरनाक हो !
सायद,
बगरलाई केही थाहा छैन होला
देश छोडेर
मुङ्लान झरिरहेको शरणार्थी नदीको कथा !

प्रतिक्रियाहरु