नक्कली राष्ट्रवादीको राष्ट्रघाती अनुहार : ओम हमाल

२०७५ बैशाख २९ गते, शनिबार

भारतले नेपालमा लगाएको नाकाबन्दीको चर्को विारेध गरेर तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनताले सच्चा राष्ट्रवादी ठानेका थिए । तर तिनै नाकाबन्दी गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा अहिलेका पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीसमक्ष गरेको लम्पसारले उनको नक्कली राष्ट्रवादी मुखुण्डो उत्रिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका “मेरी भाई साब कोली”ले नेपाल र नेपाली जनतालाई धोखा दिएर मोदीसमक्ष लम्पसार कसाृपर्दै आफ्नो राष्ट्रघाती अनुहार प्रष्टसँग देखाएका छन्
त्यसो त “मेरी भाई साब कोली” न हिजो राष्ट्रवादी थिए र भोलि नै रहनेछन् । आज त उनले आफ्नो राष्ट्रघाती अनुहार देखाई छाडे । उनी र उनको पार्टी भारतीय राजनीतिमा काँग्रेस आईको लबीमा उभिएको पार्टी थियो । भारतमा मोदीको भारतीय जनता पार्टीले बहुमत ल्याएपछि सत्तासीन भएको मोदी सरकारले असहयोग गर्ने क्रममा नाकाबन्दी गरेको थियो । भारतीय सत्तामा आफ्नो प्रभु नरहेपछि उसकै इशारामा नाच्दा नेपाली जनताले भारतीय नाकाबन्दी खप्नु परेको थियो ।
मोदीले आफ्ना पिछलग्गु र आफूहरुद्वारा पालित भत्तुवा कुकुरहरुलाई प्रयोग गर्दै भारतको नीति अनुरुपको एक मधेश एक प्रदेश बन्न सक्ने देखेपछि नेपाली भूमि वीरगञ्जभन्दा पारि भारतीय सीमा रक्सौलमा मेस नै सञ्चालन गरेर नेपालीविरुद्ध नाकाबन्दी गर्यो । तात्कालीन रुपमा सत्तासीन एमालेको राजनीतिक लविको पार्टी सत्तासीन नहुनु र केही भारतीय पाल्तु कुत्ताहरुको मिलेमतो हुनाले नेपाली जनताले नाकाबन्दी सहन पर्यो । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नेता भएको भएर नेपाली जनताले नाकाबन्दी सहन परेको हैन । केपी शर्मा ओलीले आफ्नो लविको पार्टी काँग्रेस आईको इशारामा तात्कालीन मोदी सरकारको विरोध गरेका हुन् ।
त्यसो त केपी शर्मा ओली राष्ट्रवादी नेता हैनन् भन्ने कुरा त फेरि प्रमाणित भएको छ नै । तात्कालीन अवस्थामा करीब दुई दशक अघि संसदबाट राष्ट्रघाती महाकाली सन्धि दुई–तिहाई बहुमतले पारित गराउने पार्टीहरुमध्येको एक पार्टी एमाले पनि हो र त्यस पार्टीको त्यतिबेलको चल्तापूर्जा नेता मध्येका एक नेता केपी शर्मा ओली पनि हुन् । त्यही राष्ट्रघाती महाकाली सन्धिकाकारण तात्कालीन एमालेबाट वामदेव गौतमले पार्टी फुटाएर नेकपा (माले) गठन गरेका थिए ।
संसदबाट महााली सन्धि पारित भएपश्चात् पछि गएर पञ्चेश्वर विकास परियोजनाको रुप दिएर अघि बढ्ने नेपाल तथा भारतबीच सहमति भयो , जसको नेपालमा व्यापक र चौतर्फी रुपमा विरोध भयो । यही विरोधकाकारण दुई दशक हुँदा पनि पञ्चेश्वर विकास परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) समेत बन्न सकेको छैन । नेपाली नेताहरुको भारत र भारतीय नेताहरुको नेपाल भ्रमणका क्रममा हरेक पटक पञ्चेश्वर विकास परियोजनाको डिपीआर छिट्टै बन्ने सहमति हुन्छ । तर नेपालमा रहेको राजनीतिक विरोधकाकारण त्यो कार्यान्वयन हुन सकेको छैन । नेपालमा जनताको दुई–तिहाई मत रहेको वर्तमान केपी ओली सरकारले नेपालमा जारी मोदी भ्रमणका क्रममा त्यस परियोजनाको डिपिआर छिट्टै बनाउने समझदारी गरेको छ । राष्ट्रहितविपरीतको असमान महाकाली सन्धि कार्यान्वयन गर्ने ओली सरकारको समझदारीले उनको राष्ट्रघाती अनुहार प्रष्ट देखिएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीहरुले भ्रमणको अन्तिममा गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूपरिवेष्ठित देश नेपाललाई ल्याण्ड लिंक र वाटर लिंक –जमीन तथा पानीले जोड्ने) देशको रुपमा विकास गर्न चाहेको अभिव्यक्ति दिएका छन् । के यो सम्भव छ ? भूपरिवेष्ठित् देश कसरी जमीन तथा पानीबाट तेस्रो देशसँग कसरी जोडिन सक्छ ? मोदीको यही भनाईबाट नै भारतको नेपाल हेर्न नीति प्रष्ट हुन्छ ।
भारत नेपाललाई आफ्नो अभिन्न अंगको रुपमा हेर्छ । नेपाललाई भारतमा गाभ्ने उसले विभिन्न षडयन्त्रहरु गरिरहेको छ । निकट भविष्यमा भारतमा हुने पानीको हाहाकार मेटाउन ऊ नेपालको जलस्रोतमाथि आँखा गाडिरहेको छ । भूपरिवेष्ठित देशको नाताले भारतीय जमीन हुँदै नेपालले तेस्रो देशबाट ल्याएको सामानमा विभिन्न वहानामा दुःख दिईरहेको छ । अनि भारतले अघि सारेको जल यातायात सञ्चालन सम्बन्धि योजनाले नेपाली जनतालाई के फाइदा होला ? जलयातायात सञ्चालन हुन नदीमा हरेक समय कम्तीमा तीन मीटर गहिरो पानी हुन आवश्यक हुन्छ । के नेपालका नदीहरुमा हिउँदको समयमा तीन मीटर गहिरो पानी रहन्छ ? तीन मीटर गहिरो पानी नरहेको अवस्थामा जलयातायात सञ्चालन गर्न नदीमा बाँध निर्माण गर्नुपर्ने हुन्छ । नेपालका नदीहरुमा जलयातायात सञ्चालन गर्ने वहानामा कति वटा गाउँहरुलाई डुबानमा पार्ने ? त्यसको क्षतिपूर्ति कसरी गर्ने ? कि कोशी बाँध परियोजनाले पारेको नोक्सानको हिसाबकिताब नभए जस्तै नेपाली मौन बस्ने ?
नेपाल भारतबीच भएको टनकपुर सन्धिकाकारण नारायणी नदीमा पानीको वहाव कम हुन्छ भनेर भारतले चितवनको नारायणगढभन्दा मुनिको भागमा सिंचाईका लागि कुलोसम्म खन्न दिंदैन । अनि त्यो नदीमा सञ्चालन हुने जलयातायातका नाममा नेपाली जनताले कतिवटा नदीहरुको स्वामित्व भारतलाई सुम्पिनुपर्ने हो त ? नदीमा सञ्चालन हुने जलयातायातका नाममा निर्वाध वहने पानीले भारतले आफ्नो पानीको तिर्खा मेटाउनेछ भने कृषिमा सिंचाईको व्यवस्थापन गर्नेछ । पानीको मूलस्रोतमा बसेका हामी नेपालीले के तिर्खा लागे भारतबाट आयात गरेको पानी किनेर खाने ? नेपाली भूमिमा सिंचाई गर्न भारतबाट पानी किन्ने ? मोदीले अघि सारेको ल्याण्ड लिंक र वाटर लिंक सम्बन्धि योजना नेपाल र नेपाली जनताको पक्षमा छैन र कदापि हुनै सक्दैन । यो त मोदीले आफ्नो देश भारत र भारतवासीको हितलाई हेरेर ल्याएको योजना हो । यसलाई नेपाली जनताले एकजुट भएर विरोध गर्नु आवश्यक छ ।
नक्कली राष्ट्रवादी ओली सरकारले गरेको अर्को राष्ट्रघाती कार्य भनेको, सर्वत्र विरोध भईरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाको सिलान्यास । आर्थिक रुपमा टाट पल्टिएको भारतीय कम्पनीले नै काम गर्ने गरी अरुण तेस्रो जलविद्युत् परियोजनाको ओली र मोदीले शुक्रबार साँझ रिमोटबाट सिलान्यास गरे । झण्डै दुई हजार एकसय मेगावाट विद्युत् उत्पादन क्षमता रहेको सो जलविद्युत् आयोजनाबाट जम्मा नौसय मेगावाट विद्युत् उत्पादन गर्ने भन्दै भारतीय कम्पनीलाई ठेक्कामा दिइने छ । यसरी विवादाष्पद र देश तथा जनताको अहितमा रहेको आयोजना ओली सरकार भारतीय कम्पनीलाई सुम्पिरहेको छ ।
मोदीको नेपाल हेर्ने दृष्टिकोण दोषपूर्ण छ । नेपालमा रहेका तराईवासीहरु पिछडिएका छन् । उनीहरुमाथि शोषण, थिचोमिचो भएको छ । उनीहरु नेपाली भएर बाँच्न पाउनुपर्छ । यसमा कसैको दुई मत छैन । आफ्नो अधिकारका लागि लडिरहेका तराईवासी नेपाली जनतामा आफ्ना केही पाल्तु कुकुरहरुलाइ घुसपैठ गराएर भारतले आफ्नो स्वार्थ पूरा गर्न सफल भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण नेपालको प्रदेश नं. २ बाट शुरु हुनुले यसको पुष्टि गर्छ । भारतको स्वार्थ पूरा गर्न ओली सरकार हात धोएर लागेको छ । नेपालका रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा नेपालमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लाल बाबु राउतले जानकी मन्दिरको साँचो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरिरहेकै बेला मोदीकै पार्टी भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग फिर्ता माग्न आग्रह गर्दै ट्वीट गरे । शुक्रबार मिथिलाको राजधानी जनकपुुर आइपुगेका मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई ट्वीटमार्फत आजादले सो माग गरेका हुन् ।
दुई सयवर्ष अघि नेपाल र अंग्रेजबीच भएको सन्धि अनुसार मिथिला राज्य नेपाललाई दिइएको उल्लेख गर्दै आजादले अब सो सन्धिको अवधि सकिएको बताउँदै मिथिलाको भूभाग नेपालबाट फिर्ता माग्न सुझाएका हुन् । उनले नेपालबाट सो क्षेत्र फिर्ता लिएर मिथिला राज्य गठन गर्न पनि सुझाव दिएका छन् ।
नेपालको प्रदेश न. २ मा भारतको इशारामा भारतको रक्सौलतिर खानपिन गरेर नेपालतिर ढुंगा हान्ने र हरेक समस्याकोे समाधान भारतीय दूतावासबाट खोज्ने केही नेताहरुको पकडमा गएको छ । त्यहाँ उनीहरुकै राज चलिरहेको छ । त्यसको ज्वलन्त उदाहरणको रुपमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरको १२ बिगाहामा मोदीलाई जानकी मन्दिरको चाबी हस्तान्तरण गरेपछि दिएको अभिव्यक्तिलाई लिन सकिन्छ । उनले आफ्नो भाषणमा “मधेशी जनता पिछडिएका छन् । उनीहरुमाथि शोषण, थिचोमिचो भएको छ । राज्यले विभेद गरेको छ । मधेशी जनतालाई विभेद गर्ने गरी नेपालमा जारी संविधानविरुद्ध हामी संघर्षरत छौं ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालका रक्षामन्त्री ईश्वर पोखरेललाई साक्षी राखेर जानकी मन्दिरको साँचो हस्तान्तरण गर्दै प्रदेश नं. २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति के जायज छ ? प्रदेश नं. २ का समस्या समाधान के भारतले गरिदिन्छ ? उनीहरु नेपालको प्रधानमन्त्रीलाई भन्दा भारतको प्रधानमन्त्रीलाई किन बढावा दिईरहेका छन् ? नेपाल सरकारले दिएको बजेट अधिकाँश भ्रष्टाचार हुने नेपालको प्रदेश नंं २ मा भारतीय प्रधानमन्त्रीले नेपाल सरकारले दिएकै जति एक अर्ब रुपियाँ भारत सरकारको तर्फबाट जनकपुर र जनकपुर आसपास अर्थात् प्रदेश नं. २ को विकास गर्न भन्दै सहयोग रकमको घोषणा गरेका छन् । के नेपालको प्रदेश नं. २ मा दुई देशको शासन चलेको हो ?
के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि आएका सबै भारतीय सैनिकका कमाण्डोहरु भारत फर्कने छन् ? कि नेपाल सरकारको भन्दा भारत सरकारप्रति बफादार जस्तो देखिने प्रदेश नं. २ को संरक्षणमा छुट्टै मधेश राज्यको माग गर्ने सिके राउतको समूहलाई सैन्य तालीम दिइने त हैन ? नत्र शान्ति सुरक्षा कायम गर्न र सुरक्षाका लागि विश्वमा नै ख्याति कमाएको नेपाली सेनाको सुरक्षालाई नजरअन्दाज गर्दै उनीहरुको सुरक्षालाई तिरस्कार गरेर भारतीय सेनाको टोलीलाई नेपालमा किन परेड खेलाइयो ? भारतको रबरस्ट्याम्प बनेका प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलले त नबोल्लान् । तर राष्ट्र र जनताप्रति बफादार रहेको भनिएको नेपाली सेनाले यस तथ्यलाई सचेततापूर्वक लिनुपर्ने देखिन्छ ।
अब प्रदेश नं. २ ले आफ्नो नाम मिथिला राखेछ भने पनि कुनै नौलो नमाने हुन्छ । आफूलाई सार्वजनिक रुपमा नै भारतवादी भनेर घोषणा गर्ने मधेशका हर्ताकर्ता नेताहरु सत्तारुढ भारतीय जनता पार्टीका नेता कीर्ति आजादले सार्वजनिक गरेको प्रस्तावलाई कार्यान्वयन नगर्लान् भन्न सकिन्न । यी र यस्ता परिघटनालाई हेर्ने हो भने हाम्रो देशको प्रदेश नं. २ कतै हाम्रो देशको नक्शाबाट अलग हुने वातावरण सृजना गरिंदै त छैन ? शंका उब्जिएको छ ।
वर्तमान केपी शर्मा ओली सरकार मोदीसमक्ष लम्पसार परिरहेको नेपाली जनताले अनुभूत गरिरहेका छन् ।
नेपाली सेनाको सुरक्षालाई तिरस्कार गरेर भारतीय सैनिकको सुरक्षा घेरामा मोदीको नेपाल भ्रमण हुनु, मोदी भ्रमणका क्रममा नेपाली जनतालाई हिंडडुलसम्म गर्न नदिनु, झ्याल बन्द गर्न लगाउनु, नेपाल यात्रामा आएका विदेशी समेतलाई यात्रामा प्रतिवन्ध लगाउनु, नाकाबन्दीको विरोध गरिएका तुल ब्यानरहरु हटाएर “मधेश राज्यमा स्वागत छ” भन्ने तुल ब्यानरहरु राखिनु, मोदी भ्रमणको विरोध गर्ने नेपालीलाई गिरफ्तार गर्नु सामाजिक सञ्जालमा समेत मोदीको विरोध गर्न रोक लगाउनु, पशुपतिनाथमा वर्षौदेखि बस्दै आएका जोगीबाबाहरुलाई पाश्पत क्षेत्रबाट हटाउनु ओली सरकार मोदीसमक्ष लम्पसार परेका उदाहरणहरु हुन् ।
त्यति मात्र हैन, विदेशी पाहुनालाई आफ्नो देशको विशिष्ट व्यक्तिले स्वागत गर्ने चलन छ । मोदीलाई स्वागत गर्न पुगेका रक्षामन्त्री ईश्वर पोखरेललाई समेत उछिनेर कुटनीतिक मर्यादाविपरीत नेपालका लागि भारतीय राजदूत मनजीतसिंह पुरीले भारतीय प्रधानमन्त्री मोदीको स्वागत गरेका थिए । आफ्नो देशको राष्ट्रियता बिर्सेर प्रधानमन्त्री केपी शर्मा ओली भारतीय राष्ट्रिय पोशाक लगाएर मोदीलाई स्वागत गर्न पुगेका थिए । त्यति मात्र हैन उनले मोदी जस्तै देखिन मद्राासी टोपी पनि लगाए । मोदीले आफ्नो भाषणमा स्पष्ट नेपाली, मैथिली भाषा पनि बोले । तर हाम्रो देशका प्रधानमन्त्री ओलीले …………….. ? मोदी र ओलीसँगै रहेका बखत नेपाली जनताले केपी शर्मा ओली नेपालका प्रधानमन्त्री हुन् कि भारतीय नागरिक हुन् भनेर सोंच्न वाध्य बने । ओलीले मोदीलाई नेपालको टोपी लगाईदिएको भए नेपाली जनता कति गौरवको महशुश गर्थे होला ? कि ओलीले जानकी मन्दिर र प्रदेश नं. २ एक अर्ब रुपियाँमा बेचेकै हुन् ?
के एउटा देशको प्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीको नाम थाहा पाउँदैन ? मोदीले आफ्नो भाषणमा दुई–दुई पटक ओलीको नामलाई कोली भने । के संयोग मात्र हो कि नेपाल र नेपाली जनताको अपमान गरिएको हो ? भारतीय प्रधानमन्त्रीले आफूलाई कोलीभन्दा प्रधानमन्त्री ओलीले आफूलाई होंच्याइएको अनुभूति गर्न पर्दैन ? हुन त प्रधानमन्त्री ओली भारतीय नागरिक कोहली जस्तै भाषा, भेषभूषामा देखिएकाले आफ्नो बफादार नागरिकका रुपमा मोदीले ओलीलाई कोहली पो भनेका हुन् कि ? त्यति मात्र हैन आफ्नै देशको भाषा, भेषभूषामा देखिएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई “मेरी भाई साब कोली” भनेर सम्बोधन गरे । नक्कली राष्ट्रवादी “मेरी भाई साब कोली”ले आफ्नो राष्ट्र र राष्ट्रियता नै बिर्सेर आफ्नो दाजुको हितमा काम गर्न यस्ता राष्ट्रघाती कदमहरु गरेका छन्, जुन नेपाली जनताले कहिल्यै क्षमा गर्ने छैनन् ।
अक्षम्य राष्ट्रघाती काम गरेका नक्कली राष्ट्रवादी केपी शर्मा ओलीले यति ठूलो राष्ट्रघाती कदम एक्लै गर्ने हिम्मत गरेका हैनन् । आफ्नो राजनीतिक लवि परिवर्तन गराउन उनकै राजनीतिक सत्ता साझेदार नेकपा माओवादी केन्दले सहयोग गरेको हो । भारतको इशारामा नेपाली जनताको क्रान्तिलाई धोखा दिएका पुष्पकमल दाहाल एण्ड कम्पनी माओवादी केन्द्रले उनलाई काँग्रेस आईको लविबाट भारतीय जनता पार्टीको लविमा पुर्याएको हो । भारतीय बफादार कार्यकर्ता पुष्पकमल दाहालले नेपाली जनक्रान्तिलाई त समाप्त गरे, पार्टी पनि भारतकै इशारामा विघटन गरे । उनले भारतकै इशारामा नेकपा एमाले कब्जा गर्दैछन् । ओली र दाहालको गठबन्धनले अझै के कति राष्ट्रघाती कामहरु गर्ने हो, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु