धौलागिरिमा नयाँ पदमार्ग

२०७१ कार्तिक १३ गते, बिहीबार


काठमाडौ । पश्चिम नेपालका धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यतायुक्त स्थललाई समेटेर नयाँ पदमार्गको पहिचान गरिएको छ ।धौलागिरि, गण्डकी, लुम्बिनी र कर्णाली अञ्चलका एक दर्जन जिल्लाका पर्यटकीय स्थललाई समेटेर ‘लोलुफेरा’ पदमार्गको पहिचान गरिएको हो । मुस्ताङको लोमान्थाङदेखि लुम्बिनी र पोखराको फेवातालदेखि मुगुको राराताल जोड्ने पदमार्गको अवधारणा कार्यान्वयनका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरी नक्साङ्कनको काम भइरहेको लोलुफेरा पदमार्ग अभियानका संयोजक कृष्ण केसीले बताए ।
केसीका अनुसार पदमार्ग क्षेत्रका बासिन्दादेखि पर्यटन मन्त्रालय र राजनीतिक नेतृत्व तहमा पदमार्ग सञ्चालनका लागि छलफल चलाइएको छ । उक्त अभियान टोलीले कास्की, पर्वत, बागलुङ, डोल्पा, मुगु, मुस्ताङ, मनाङ र म्याग्दी जिल्लामा पदमार्गमा समेट्न प्रस्तावित ठाउँको अध्ययन गरिसकेको छ ।
केही दिनअघि मुस्ताङ हुँदै म्याग्दीको बेनी आएको पर्यटनविद् र प्राविधिकसहितको उक्त अभियान टोलीले हाल गुल्मी र पाल्पा हँुदै लुम्बिनी जोड्ने पदमार्गको अध्ययन गरिरहेको संयोजक केसीले बताए ।
प्राकृतिक सौन्दर्यता, ऐतिहासिकस्थल, हिमशृङ्खला, कला, संस्कृति, हिमाली जनजीवन र भूगोलमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकदेखि कालीगण्डकी करिडोरमा पर्ने लुम्बिनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता धार्मिकस्थलले धार्मिक पर्यटकलाई समेत लोभ्याउने प्रशस्त सम्भावना रहेको केसीको भनाइ छ ।
यसका लागि हिमाली क्षेत्रका ओझेलमा परेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि अर्को ‘ममुडोमु’ पदमार्गको पनि अवधारणा विकास भएको छ । मनाङ, मुस्ताङ, मुगु र डोल्पा जिल्लालाई समेट्न प्रस्ताव गरिएको उक्त पदमार्ग हिमाली भूगोल, संस्कृति, रहनसहन एवम् हिमशृङ्खलाको अवलोकनलगायत प्राकृतिक सौन्दर्यताले ममुडोमु प्रस्तावित पदमार्ग प्रभावकारी बन्ने बताइएको छ ।

प्रतिक्रियाहरु