धोकेबाज नेताहरुप्रति घृणा गरौं, क्रान्तिको भीषण आँधीबेहरी सिर्जना गरौं– विष्णु पन्त

२०७६ फाल्गुन २ गते, शुक्रबार

१. जनयुद्वको सपना ज्यूका त्यू छ ः आज हामी २०७६ फाल्गुण १ अर्थात पच्चिसौं जनयुद्व दिवसको दिनबाट जनयुद्वको भूत, वर्तमान र भविष्यको बारेमा लेखाजोखा गरिरहेका छौं । नेपालमा २०५२ फाल्गुण १ बाट शुरु भएको जनयुद्वको राप र तापले पूरै विश्व सर्वहारा वर्गलाई प्रज्वलित गरेको थियो । विश्व क्रान्तिको जीवनमा नेपालबाट फेरि नयाँ माक्र्स र लेनिन जन्मिने सम्भावनाको नजिक पुगेको थियो नेपाली क्रान्ति । जनयुद्व अर्थात् लालसेनाको हस्तक्षेपबाट नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्ने जनयुद्वको न्यूनतम सपना थियो । सर्वहारा श्रमजीवि वर्गको मनोबल निकै माथि उठेको थियो भने साम्राज्यवाद र प्रतिक्रियावादको मनोबल रक्षात्मक र सम्भावित पराजयको स्वीकारोक्तितर्फ धकेलिँदै थियो । यही त जनयुद्वको विगत थियो र एउटा स्वर्णिम युग थियो । सम्पूर्ण विश्वजगत माओवादीको त्याग, तपस्या, बलिदान, संघर्ष र वर्गप्रेमबाट तरंगित र आश्चर्य चकित बनेको थियो । नेपाली जनतामा इतिहासमै पहिलो पटक विजयोल्लाषको भाव विकसित हुँदै थियो । शायद इतिहासमै निःस्वार्थरुपमा देश र जनताका लागि लड्ने नेता, पार्टी र सेना जन्मिएछ भनेर गौरवानुभूति भइरहेको थियो आमजनतामा । शायद यो हाम्रो स्वर्णिम इतिहास थियो ।
अब वर्तमानतर्फ नियालौं । शान्ति सम्झौताको नाममा देशमा गणतन्त्र आयो भनिएको छ । हिजोका महान् नेताहरु प्रधानमन्त्री र मन्त्री छन् । देशमा पुरानै संसदीय व्यवस्था छ । समाजमा दलाल पुँजीपतिवर्ग अर्थात् नवधनाढ्यवर्गको बिगबिगी छ । जनताले हिजो जति पनि अधिकार पाएका छैनन् । अधिकारहरु खोसिने क्रम जारी छ । शोषण, उत्पीडन, अन्याय, अत्याचार, विभेद र असमानताले झनै बढी गाँजेको छ । आज हिजोको माओवादी पार्टी छैन, जनमुक्ति सेना छैन र हिजोका महान् नेताहरु छैनन् । हिजो महान् लेनिन ठानिएका प्रचण्ड ओलीपथमा गएर त्यसका प्रवक्ता बनेका छन् भने बाबुराम कम्युनिष्ट आन्दोलनभन्दा बाहिर उपेन्द्र यादवको प्रवक्ता बनिसकेका छन् । उनीहरु भन्दैछन् देशमा राजनीतिक क्रान्ति सम्पन्न भयो अब आर्थिक क्रान्ति बाँकी छ । यो थियो नेपाली क्रान्तिको अँध्यारो वर्तमानको चित्र ।
हो अँध्यारो सधैँभरि कायम रहँदैन । अँध्यारोसँग लड्ने उज्यालो चित्र शुरु भइसकेको छ । प्रचण्ड र बाबुरामको अन्त्यपछि नेतृत्वको रुपमा विप्लव र प्रकाण्डको उदय भएको छ । उनीहरुले भनेका छन्, “राजनीतिक क्रान्ति भनेको नौलो जनवाद र वैज्ञानिक समाजवाद होइन र ? दलाल पुँजीवाद वा दलाल संसदीय व्यवस्थाका आत्मसमर्पण गर्नका लागि दशौं हजार मान्छेको बलिदान चाहिन्थ्यो र ? “पुँजीवादकै स्थापनाका लागि जनयुद्व गर्नुपर्छ र ? दुनियाँमा कहीँ छ, त्यस्तो इतिहास ? त्यसकारण नेपाली क्रान्तिको इतिहासमा मुख्य नेतृत्वबाटै भएको धोका, गद्दारी, आत्मसमर्पण र प्रतिक्रान्तिलाई चुनौती दिँदै विप्लव, प्रकाण्ड, कञ्चन, सुदर्शन र सन्तोष बुढामगरले नयाँ क्रान्तिको उद्घोष गरेका छन् । जनयुद्धको विकास गर्दै एकीकृत जनक्रान्तिको झण्डा उचालिएको छ । जनमुक्ति सेनाको निर्माण गरिएको छ र क्रान्तिकारी कम्युनिष्ट पार्टीको पुनर्गठन गरिएको छ ।
आज पनि देशमा दुईवटा सत्ता छन्, दलाल पुँजीवादी सत्ता र वैज्ञानिक समाजवादी सत्ता । पात्रहरु फेरिएका छन्, नेताहरुको भूमिका फेरिएको छ तर सामाजिक अन्तरविरोध पुरानै छ । आज पुरानो सत्ता निरंकुश, अधिनायकवादी र फासीवादी बन्दै छ । हिजो जस्तै फासीवादी सत्ताले क्रान्तिकारी शक्तिमाथि प्रतिबन्धको हतियार जारी राखेको छ । झुटा इन्काउन्टरको नाममा योद्धाहरुको हत्या जारी छ । फासीवादको प्रतिरोध गर्ने क्रममा दर्जनौं योद्धाहरुको बलिदान र शहादत भइसकेको छ । आज लाखौं पार्टी सदस्य र शुभचिन्तकलाई मौलिक हक र मानवअधिकारबाट बञ्चित गरिएको छ । गैरन्यायिक हिरासत, यातना, झुटा मुद्दाको शिकार बनेका हजारौं नेता कार्यकर्ताको संघर्ष जारी छ ।
२. भयानक निराशाको अन्त्य हुदैछ ः वास्तवमा प्रचण्ड र बाबुरामको पलायन, आत्मसमर्पण र गद्दारीले नेपाली क्रान्तिमा अपुरणीय क्षति पु¥याउनु अकल्पनीय र अप्रत्याशित घटना थियो नै । हुन पनि नेपाली क्रान्तिकारीहरुका लागि एउटा कहाली लाग्दो दृश्य थियो यो । नेताहरुकै पछाडि लागेर आत्मसमर्पण गरी निजी जीवन बिताउने या नयाँ ढंगले क्रान्तिको झण्डा उठाउने ? क. विप्लवले भन्नुभएको थियो, “कहिलेकहीँ यस्तो समय आउँछ, बगिरहेको नदीको बीचमा उभिएर नदीको बहावलाई उल्टो दिशामा लैजाने हिम्मत गर्नु पर्दोरहेछ ।” क. प्रकाण्डले भन्नु भएको थियो, “विर्सजन र मृत्युको बाटो रोज्नुभन्दा कठिन भए पनि जीवनको बाटो रोज्नु पर्दोरहेछ ।” क. कञ्चनले भन्नु भएको थियो, “एक मुठी सास बाँकी रहेसम्म प्रतिक्रियावादीहरुलाई हास्न दिनु हुँदैन ।”
माथिका भनाइहरुले त्यतिबेलाको संगीन परिस्थितिलाई दर्शाउँछ । वास्तवमा प्रचण्ड र बाबुरामका षड्यन्त्र, छलछाम र क्रुरताबाट बँच्दै क्रान्तिको झण्डा उठाउनु मात्र पनि दुस्साहस जस्तै थियो । धेरैले यसलाई विप्लवको महत्वाकांक्षा र दुस्साहसको रुपमा पनि व्याख्या गरे । आज पनि दुश्मनहरु भन्दै छन्, “देशमा गणतन्त्र आइसक्यो, अब केका लागि क्रान्ति ? केका लागि युद्व ?” हाम्रो भनाई छ, गणतन्त्र केवल भ्रम, छलकपट र धोका हो । पञ्चायतकालमा बरु हामीलाई इन्काउण्टरमा परिने डर थिएन तर आज त्यो त्रास छ । पञ्चायतकालमा बरु ठूला–ठूला सभा गर्न सकिन्थ्यो, आज त्यो अधिकार छैन । पञ्चायतकालमा बरु विद्यार्थीहरु स्ववियु चुनाव लड्डे, प्रदर्शनहरु गर्दथे, संगठनका कामहरु गर्दथे तर आज त्यो निषेध गरिएको छ । पञ्चायतकालमा बरु हिँडडुल, यात्रा, मलाम, अस्पताल जाने आदि गर्न पाउँथे तर आज त्यो सब बन्द र निषेध छ । पञ्चायतकालमा रातारात अपहरण गर्ने, घर कोठा घेरा हाल्ने काम हुँदैन्थ्यो, त्यो आज हुँदै छ । अपहरण गर्ने, घेरा हाल्नेजस्ता गैरन्यायिक कार्यले आज प्रश्रय पाएका छन् । त्यसकारण यो व्यवस्थालाई गणतन्त्रभन्दा पनि लाज लाग्छ । यो त फासीवाद हो र सामाजिक फासीवाद ।
विस्तारै क्रान्तिले आफ्नो आकार ग्रहण गर्दैछ । आज भ्रष्टहरु, दलालहरु, तस्कर, कालोबजारीया र माफियाहरुको भागदौड मच्चिँदै छ । क्रान्तिकारी र राष्ट्रवादीहरु स्वतःस्पूmत रुपमा प्रतिरोधमा उत्रँदै छन् । देशमा दुईवटा सत्ता स्पष्ट रुपमा देखापरेका छन् । एउटा दलाल संसदीय सत्ता छ, जुन सत्ताको ठेकेदारका रुपमा ओली र दाहाललाई शीर्षस्थानमा राखिएको छ । अमेरिकी अनुदान र सहयोगमा अनि कमिशन र दलालीको आधारमा समाजवाद ल्याइदिने भ्रम कायम छ । मुठ्ठीभर दलाल, नवधनाढ्यवर्ग जो भ्रष्टाचार, दलाल, तस्करी, कालोबजारीया र माफिया बनेर उदय भएको छ, त्यसैलाई आर्थिक क्रान्ति वा समृद्धिका सपना बाँडिरहेका छन् । दोश्रो सत्ता क्रान्तिकारी र राष्ट्रवादीहरुको छ, जुन सत्ता सर्वहारा श्रमजीवि वर्ग, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्गको हितमा केन्द्रित छ ।
हामीलाई थाहा छ, शुरुमा क. किरणको नेतृत्वमा क्रान्तिकारी पार्टीको पुनर्गठन गरिएको थियो । तर, मौन क्रान्तिकारी विचारबाट मात्र क्रान्तिले आकार ग्रहण गर्न नसक्ने स्पष्ट भयो । प्रतिक्रियावादी र दलाल वर्गलाई तह लगाउनका लागि क्रान्तिकारी गतिशीलता र संघर्षको विकास गर्न जरुरी बन्यो । क्रान्तिकारी निराशालाई पुनः आक्रोश र विद्रोहमा परिणत गर्नुपर्ने दायित्व विप्लवको काँधमा आयो । अब विस्तारै निराशा हट्दै र उत्साह बढ्दै छ ।
३. प्रचण्डको नक्कल होइन विप्लव र प्रकाण्डको विकास भएको छ ः आज पनि पुष्पकमल दाहालले एउटा झुट दोहोराइरहेका छन्, त्यो हो विप्लव प्रचण्ड बन्न खोज्दैछन्, प्रचण्डको नक्कल गर्दैछन् तर यो सिद्धिने वा अनिष्ठको बाटो हो । तर, सत्य हो कि विप्लव प्रचण्डको कमजोरीबाट सचेत हुँदै आत्मसमर्पणलाई घृणा गर्दै नयाँ विचारको विकास गर्दैछन् । हिजोकै जस्तै दीर्घकालीन जनयुद्ध होइन एकीकृत जनक्रान्तिको विकास गरिसकेका छन् । वैचारिक रुपमा हरेक नयाँ संश्लेषणहरु लिपिबद्ध गरिसकेका छन् ।
हामीले देखेका छौं, एकीकृत जनक्रान्तिभित्र नयाँ शब्द, नयाँ विश्लेषण, निष्कर्ष अनि नयाँ विचार छ जुन क. किरणलाई पनि मन पर्दैन र सारसंग्रहवादीको आरोप लाग्छ । पुरानै इतिहासको व्याख्या मात्र गरेर संसार बद्लिदैन । नयाँ हुने नाममा ओलीपथ वा संसदवादमा फसेर त झन् हुने केही पनि छैन । संसदवाद कतिसम्म पीडादायक छ भन्ने तथ्यलाई स्वंय विपि कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले पनि अनुभूत गरिसकेका थिए । शायद अबको रोलक्रममा केपि ओली र पुष्पकमल दाहाल छन् ।
यो निश्चित छ, उनीहरु मर्नसमेत कालगति र स्वतन्त्रतापूर्वक पाउने छैनन् । मृत्यु पनि विदेशीहरुको दबाब र षड्यन्त्रमा हुनेछ । आज हेरौं न ओली र दाहालको पीडा ! के उनीहरु स्वतन्त्र छन् र ? के उनीहरुको स्वविवेक चल्छ र ? आज हेरौं न ओली र दाहालको पीडा ! के उनीहरु स्वतन्त्र छन् र ? के उनीहरुको स्वविवेक चल्छ र ? के उनीहरु राष्ट्रका पक्षमा उभिन सक्छन् ? स्पष्ट छ, उनीहरुको घाँटीमा साम्राज्यवादीहरुको तरबार झुण्डिएका छन् । सुशील कोइरालाको मृत्यु कालगतिले भयो कि हत्या भयो, त्यो हामीले थाहा नै पाएनौं । प्रचण्डको छोरा प्रकाश दाहालको मृत्यु या हत्या थाहा नै भएन ।
त्यसकारण क. विप्लवको हिम्मत र साहस देखेर प्रचण्डले गौरव गर्न सक्नुपर्छ । उनले भन्नुपर्छ, मैले सकिन, उनले सकिने उनले हिम्मत गरे । इतिहासमा क्रान्तिका लागि आपूm महासचिवबाट हटेर प्रचण्डलाई महासचिव बनाउने क. किरणले अहिले पनि अभिभावकत्व ग्रहण गर्न सक्नुपर्छ । हामीलाई थाहा छ, क. विप्लवले यत्रो उत्पाद मच्चाउँदा त जनताले पुगेन भनेका छन् । विप्लव र प्रकाण्ड, कञ्चन, सुदर्शन र विषमहरु पनि किरण जस्तै शान्त बसेको भए के हुन्थ्यो ? कम्तीको क्रान्तिकारी निराशा हट्दै छ, नयाँ ढंगले उत्साह बढ्दै छ । थुप्रै बलिदानहरु भइसकेका छन् । रगतको खोला बगिसकेको छ । मर्न र लड्न वा बलिदानका लागि ठूलो पंक्ति तयार भइसकेको छ । के यी उपलब्धिहरुको एउटा क्रान्तिकारी अभिभावकले सैद्धान्तिकरण गर्नुपर्दैन र ?
४. प्रतिक्रियावादी र दलालहरुको क्याम्पमा आतंक मच्चिएको छ ः साम्राज्यवादले के परिकल्पना गरेको थियो भने प्रचण्ड र बाबुरामको आत्मसमर्पण पछि नेपालमा क्रान्तिको समुल नष्ट हुने छ । हुन पनि यो एउटा डरलाग्दो घटना थियो । तर, वर्गसंघर्षको इतिहासले त्यो कुरालाई स्वीकार गर्न सकेन । नेपाली सर्वहारा श्रमजीवि वर्गले मुक्तिको सपना बोकिसकेको थियो । नेपालको राष्ट्रवादी शक्तिले एउटा सशक्त र महत्वकांक्षी नेतृत्वको खोजी गरिसकेको थियो । पटक–पटक निर्णायक जनसंघर्ष र त्यसपछिका आत्मसमर्पण अनि धोकाबाट जनताहरु आजित भइसकेका थिए । फेरि गणतन्त्रको नाममा पुरानै संसदीय व्यवस्था, यो झन् ठूलो धोका थियो ।
जब एकीकृत जनक्रान्तिको विगुल फुक्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्ग संघर्षको जेहाद छेड्यो, तब प्रतिक्रियावादी सत्तामा ठूलो कम्पन पैदा भयो । आज नेपाल कम्युनिष्ट पार्टीले शुरु गरेको भ्रष्टाचार विरोधी संघर्षले सबैको भागभाग भएको छ । भ्रष्ट, दलाल, तस्कर, कालोबजारिया र माफियाहरुको भागदौड शुरु भएको छ । वास्तवमा संघर्षको प्रारम्भिक अभ्यासहरु मात्र हुँदा पनि प्रतिक्रियावादी सत्ता डग्मगाइसकेको छ ।
५. प्रतिबन्धले प्रतिक्रियावादी सत्ताको संकटलाई दर्शाउछ ः कथित लोकतन्त्र र गणतन्त्र अहिलेको सत्ताको मुख्य मुकुण्डो हो । तर, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनु उसको चरम संकटको अवस्था हो । हुन त सबैलाई थाहा छ, प्रतिबन्धले उनीहरुको सत्ताको आयु लम्बिने होइन, छोटिने हो । जब–जब शासकहरु संकटमा पर्छन्, उनीहरुले उल्टो बाटो रोज्छन्, त्यो हो निरंकुश अधिनायकवादी अनि फासीवादी यात्रा । इतिहासमा हिटलर, मुसोलिनीहरु किन जन्मिन्छन् किन शासकहरु आफ्नै जनताको नरसंहारमा उत्रिन्छन् ? किन आफ्नै देशका नागरिक अनागरिकमा परिणत हुन्छन् ? निश्चित छ, यो नै पतनको बाटो हो । किन मानवअधिकारको हनन ? किन मौलिक हकमाथि बन्देज ? किन विदेशीहरुको गुलाम ? किन साम्राज्यवादसँग आत्मसमर्पण ? यो असाधारण परिदृश्यकले विद्यमान सत्ताको पतनलाई दर्शाउँदछ । त्यति मात्र होइन, आज किन विप्लव र प्रकाण्डको हत्या गर्ने वा गोञ्जालो बनाउने षड्यन्त्र गरिँदै छ ? इतिहासमा यस्तै शासकहरुको भागभाग भएका दृश्यहरु हेरिसकेका छौं ।
६. वैज्ञानिक समाजवादका लागि फेरि एक पटक लडौं ः नेपालको विकासका लागि एक मात्र विकल्प छ, त्यो हो वैज्ञानिक समाजवाद । नेपाली समाजमा एउटा ठूलो क्रान्ति चाहिएको छ । पुराना चिन्तन, संस्कार र दृष्टिकोणबाट छलाङ्ग मार्नुपर्ने छ । सधैंभरि विकास र समृद्धिका नारा लगाउँदै देशलाई झन् पछि झन् खोक्रो बनाउने संसदीय व्यवस्थालाई अब अन्तिम सतगत गर्नुछ । नेपाली जनतालाई धनी बनाउने सपना देखाउँदै दिनप्रतिदिन कङ्गाल बनाउने नेताहरुलाई अब विदाई गर्नुपर्छ । प्रत्येक नेपालीलाई ऋणमै जन्मिनु पर्ने, ऋणमै हुर्किनु पर्ने र ऋणमै डुबेर मर्नुपर्ने दृश्चक्रलाई अन्त्य गर्नुपर्छ । हामीलाई थाहा छ, दलालहरुको काम ऋणमाथि ऋण थोपर्नु हो । विदेशीहरुसँग राष्ट्रका नाममा ऋण लिएर नेताहरुको बाँडिचुँडी खाने व्यवस्थालाई नै दलाल पुँजीवाद भनिन्छ । आज एमसीसीको बहस र विवाद जारी छ । ५५ अरबमा देशको स्वाभिमान समेत बेच्ने दाउपेचमा शासकहरु कसरी छलछाम र षड्यन्त्र गर्दैछन् भन्ने स्पष्ट भएको छ । अतः विद्यमान सामाजिक अन्तरविरोधहरुको हल गर्न राष्ट्रियताको जगेर्ना गर्नको लागि वैज्ञानिक समाजवादको स्थापना गर्नु अनिवार्य बनेको छ ।
७. सहिद वेपत्ता र जनयुद्धका योद्धाहरुको सम्मान गरौं ः आज पच्चिसौं जनयुद्ध दिवसको अवसरमा फेरि एकपटक जनयुद्धप्रति गर्व गरौं । जनयुद्धका सहिद र वेपत्ता अनि सम्पूर्ण योद्धाहरुप्रति सम्मान व्यक्त गरौं । जनयुद्धका अनुभवमा टेकेर संश्लेषण गरिएको एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा पु¥यौं । पछिल्लो पटक एकीकृत जनक्रान्तिमा लामबद्ध हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्ने दृढताका साथ प्रतिक्रियावादी सत्तासँग लड्दै सहिद हुनुहुने कुमार पौडेल, तिर्थ घिमिरे, निरकुमार राई, सनराइज, महान्, निरन्तर, प्रज्वल, दिपेन्द्र, रामकुमार श्रेष्ठ, गोबिन्द बटाला र घाइते दुर्गाबहादुर रोक्का, नवराज, खिम खड्का सुरेन्द्र महर्जन, हरि खड्का, नविन र ठाकुर लगायत दर्जनौं व्यक्तिहरुप्रति गर्व गरौं । फेरि पनि नयाँ ढंगले क्रान्तिको भीषण आँधीबेहरी सिर्जना गर्ने तयारीमा लागिपरेको नेपाल कम्युनिष्ट पार्टीलाई साथ दिएर जनयुद्धको सम्मान गरौं । घरमा आगो लगाएर खरानी दल्दै विजयोत्सवको डंका पिट्ने धोकेबाज नेताहरुप्रति घृणा गरौं । बीसौं जनयुद्ध दिवसमा यही प्रण गरौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु