धोका पाएको वर्गले गद्दारीको भण्डाफोर र सच्चाईको पक्षपोषण गर्छ – बलराम तिमल्सिना

२०७५ जेष्ठ ६ गते, आईतवार

खरावसँग नलडी असल स्थापित हुदैन। असत्यसँग नजुधी सत्य जित्दैन। संसोधनवादले पैदा गरेका विभ्रमहरूको निर्मम भण्डाफोर नगरी मार्क्सवाद स्थापित नै हुदैन। राजनीतिक संघर्ष अर्थात बर्ग संघर्ष भन्ने कुरा कसैसँग मुख नलागि , कसैसँग ठक्कर नखाई , कसैको आलोचना नगरी सफा सिधा र निर्जन बाटोबाट लुरुलुरु चिप्लेकीराजस्तो हतार पनि नगरी र हल्ला पनि नगरी घिस्रने चिज होइन । बाटोमा अवरोधहरू हुन्छन् । बाटो छेक्नेहरू हुन्छन्। हेप्ने होच्याउँनेहरू हुन्छन्। राजमार्गका रात्रीकालीन होटलजस्ता पक्रेरै लगेर थेचार्ने र बासी तासी खुवाएर झ्याप्प पैसा असुल्नेजस्ता मानिसहरू हुन्छन् । फकाउँने धम्क्याउँने र किनबेच गर्न खोज्ने घटनाहरूसँग पल प्रतिपल टकराव परिरहेको हुन्छ।दाउपेच षडयन्त्र र घातप्रतिघात हुन्छ ।सोझा र इमान्दारहरूलाई आँखैअघि लुटेको ठगेको देख्नु पर्छ ।यस्तो पर्यावरणमा लेख्दा बोल्दा गतिविधि गर्दा तीतो पीरो सवै हुन्छ र त्यो बर्गसंघर्षको स्थिति अनुसार कैले नरम त कैले गरम हुन्छ।बर्ग संघर्षको अनिवार्य नियम नबुझेर कैयन साथीहरू शान्त शालिन र कर्णप्रिय/ श्रव्यसुन्दर काम कुरा गर्न अनुरोध गर्दछन् । ती साथीहरूको आशय गलत नभए पनि उनीहरू तनाव रहित मध्ययम बर्गीय या उच्च बर्गीय संस्थापन चरित्रको सुझाव दिइरहेका हुन्छन् । यस्तो सुझाव दिनेमा पढालेखा साथीहरू अझ बढी हुन्छन्। शान्त जिन्दगीमा दैनन्दिनको टसलभन्दा परको फराकिलो विषयमा वोल्ने या लेख्ने आदत परेका यी साथीहरू बर्ग संघर्षलाई कमरेड माओको भाषामा भोजभतेर गर्नु, कार्चोपी भर्नु या निवन्ध लेख्नुजस्तो सजिलो सोच्ने गल्ति गर्छन ।जुन संभव नै छैन। हलुकासँग समाइएको र विस्तारै माया गरे जसरी हानिएको प्रहारले शिकार कहिलै ढल्दैन। वर्ग संघर्ष भनेको शिकार हुने कि शिकार ढाल्ने भन्ने जोखिमपूर्ण गतिविधि हो भनेर ती साथीहरूले बुझ्नु पर्छ ।
हिजो आज नेपालमा घटित घटनाहरू त्यस्तै केही घटनाहरू हुन। दशौं हजारले वलिदान गरेर आर्जन गरेको शक्तिको मालिक अर्कै भएको छ र त्यो शक्तिलाई कुनै ठेकेदारले मनमर्जि प्रयोग गरिरहेको छ । श्रमजीवी बर्गको रगत पसिनामाथि अर्को बर्गले हालिमुहाली गरिरहेको छ। यौटा भयानक धोकाधडी , ठगी र गद्दारी भएको छ।यस्तो स्थितिमा कसैको मनमा घृणा पैदा हुदैन भने उसको मन श्रमजीवीको मन होइन वरु त्यो वर्ग उत्थान भएको अर्कै कपटी मन हो । उसलाई भित्र भित्र गद्दारी ठीक लागिरहेको छ । लोकलाजले ऊ एकाध पटक आलोचना गरेजस्तो गर्छ र कर्तव्य पूरा भएको वहाना गर्छ । धोका पाएको वर्गले भने पटक पटक गद्दारीको भण्डाफोर गर्छ र सच्चाईको पक्षपोषण गर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु