धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य बिग्रँदै

२०७५ कार्तिक २९ गते, बिहीबार

काठमाडौँ, २९ कात्तिक । अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकान्डको दोषी पत्ता लगाउन माग गर्दै गत आइतबारदेखि निर्मलाका बुवाआमा अनिश्चितकालीन धर्नामा बसेका हुन् । कन्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका उनीहरुमा चिसोका कारण रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएको छ । कमजोरीका कारण निर्मलाका बुवाको स्वास्थ्य अवस्था एकदमै बिग्रिएको महाकाली अञ्चल अस्पतालका चिकित्सक डा. किशोर बोहराले जानकारी दिए । उनले निर्मलाका बुबाआमाको रक्तचाप घटेको र दिसा–पिसाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताए ।
निर्मलाको बुबाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कन्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुबेर कडायतले बिहीबार धर्नास्थलमा पुगेर स्वास्थ्यकर्मीसित स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । निर्मला हत्याकान्डको छानबिनका लागि विभिन्न समिति गठन गरिएपनि दोषी पत्ता लागेको छैन । हत्याकान्डको छानबिनमा लापरबाही गरेको भन्दै कन्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरिएको छ । अरु ६ जना प्रहरी निलम्बनमा परेका छन् । गत साउन १० गते साथीको घर पढ्न गएकी भीमदत्त नगरपालिका–२, खोल्टीकी निर्मला दोस्रो दिन स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । शव परीक्षणकाक्रममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

प्रतिक्रियाहरु