धनकुटामा अनिश्चितकालीन कर्फ्यू

२०७४ माघ ४ गते, बिहीबार

काठमाडौं , ४ माघ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । धनकुटाको पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कफ्यू लगाइएको बताइएको छ । आन्दोलनरत् धनुकेटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ । आन्दोलनकारीले कार्यालयकाे झ्याल ढोका समेत तोडफोड गरेका छन् । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखाले जनाएको छ ।
यसैगरी , सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीलाई तोकेपछि दाङ राजधानी सरोकार समितिले माघ ४ लाई कालोदिन घोषणा गरेको छ । घोराहीमा बसेको दाङ राजधानी सरोकार समितिको बैठकले आन्दोलनका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको हो । बैठकले जिल्लाका सबै जनप्रतिनिधिलाई बन्धक बनाउने लगायतका निर्णयहरु गरेको छ । समितिका सदस्यसचिव सविन प्रियासनले राष्ट्रियसभाको चुनावलाई प्रभावित पार्ने गरी दाङ जिल्लाका जनप्रतिनिधिहरुलाई बन्धक बनाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार २४ माघमा दाङमा हुने भनिएको प्रदेश ५ को राष्ट्रिय सभा चुनाव हुन नदिने, सम्पूर्ण नेता एवं सरकारका प्रतिनिधिहरुलाई दाङ जिल्लामा प्रवेश निषेध गर्ने र सरकारलाई कर नतिर्ने निर्णय पनि भएका छन् । दाङ राजधानी सरोकार समितिले सरकारको निर्णयको विरोधस्वरुप घरघरमा कालो झण्डा राख्ने, अस्पताल बाहेक सबै सरकारी कार्यालय पूर्णरुपमा बन्द गर्ने, एम्बुलेन्सलाई समेत रोकेर बिरामीको पहिचान गरेपछि मात्रै चल्न दिने, अटो रिक्सा समेत बन्द गर्ने निर्णय गरेको छ । सरकारले गठन गरेको उच्चस्तरीय समितिको सिफारिसविपरित रुपन्देहीलाई अस्थायी राजधानी तोकिएको विरोधमा दाङमा अनिश्चितकालीन आमहड्ताल जारी छ । बिहीबार पनि बिहानैदेखि आन्दोलनकारी सडकमा छन् । उनीहरुले होटेलहरु पनि खुल्न दिएका छैनन् ।

प्रतिक्रियाहरु