दोहोरो भावुकता – बलराम तिमल्सिना

२०७६ फाल्गुन १९ गते, सोमबार

हामी भावुक हुन्छौं
घरको तला नथपिएकोमा
राजधानीमा घडेरी नजोडिएकोमा
आकर्षक नियुक्ति नपाएकोमा
या व्यवसायले छलाङ्ग नमारेकोमा
हामी तुरुक्क आँसु चुहाएरै भावुक हुन्छौं !

हामी भावुक हुन्छौं
आन्दोलन अलपत्र परेकोमा
जनता निराश भएकोमा
आदर्श अलप भएकोमा
त्याग त्यागिएकोमा
वलिदान बेचिएकोमा
न्याय निहुरिएकोमा
सहादत सोत्तर भएकोमा
हामी रातो पीरो बनेर भावुक हुन्छौं !

हामी कहिले
साम्यवाद संझेर भावुक हुन्छौं
कहिले हामी
पूँजीवादले नपत्याएर भावुक हुन्छौं
कैले कार्ल मार्क्सको जीवन संझेर
कैले विल गेट्सको वैभव संझेर भावुक हुन्छौं !

हामी कहिले
सहिदको शालिक मुनि भावुक हुन्छौं
कैले नेप्से परिसूचक हेरेर भावुक हुन्छौं
कैले मन्दिर र मस्जिद
कैले चर्च र गुम्वा पुगेर भावुक हुन्छौं
अचेल हामी
अचम्म अचम्मले भावुक हुन्छौं !

हामी कहिले
गुटवन्दी संझेर भावुक हुन्छौं
कहिले हामी
गुटवन्दी गर्दा गर्दै भावुक हुन्छौं !

जसरी भ्यागुता
पानी भित्र पनि भावुक बनेर पौडिन्छ
जमिनमा पनि भावुक बनेर उफ्रिन्छ
त्यसै गरी हामी पनि
घर हेर्छौं र घर सोचेर भावुक बन्छौं
आन्दोलन हेर्छौं अनि
आन्दोलन सोचेर भावुक बन्छौं !

हाम्रो यो उभयचर भावुकता देखेर
हैरान होलान भ्यागुताहरू पनि !

भावुक दाजु !
संसारमै सवैभन्दा अभूतपूर्व होला
सायद यो दोहोरो भावुकता ?

प्रतिक्रियाहरु