दोलखाली चेलीहरुद्वारा माथिल्लो तामाकोशीको शेयर माग

२०७१ पुष ७ गते, सोमबार

काठमडौँ । दोलखा जिल्लाबासीका लागि माथिल्लो तामाकोशी आयोजनाले जारी गर्न लागेको शेयरमा दोलखाली छोरीहरुमाथि अन्याय भएको भन्दै महिला अधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् ।त्यसक्रममा उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । जिल्लाका राजनैतिक दलका महिला संगठन, विभिन्न क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थासँग आवद्ध २१ महिला अधिकारकर्मीहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको हो ।
त्यसक्रममा स्थानीय विकास अधिकारी विजयराज सुवेदीले यस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने र आफूले पनि पहल गर्ने बताउनु भएको अनेमसंघ दोलखाले जनाएको छ ।
ज्ञापनपत्रमा दोलखामा जन्म भएका सबै छोरीहरुलाई विना विभेद छोरा सरह शेयर वितरण गर्नुपर्ने र दोलखाली नागरिक भएवापत प्राप्त गरिने शेयरलगायत सम्पुर्ण अधिकार प्राप्त हुनुपर्ने तथा शेयरसम्बन्धी निर्णयहरु गर्दा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य गरिनुपर्ने २ बुँदे माग राखिएको छ ।
शेयर वितरणका लागि दोलखामा जन्मिए पनि अन्य जिल्लामा विवाह गरेका महिलालाई दोलखाली नमान्ने निर्णय केही समय अघि सर्वदलीय बैठकले गरेको पाएपछि महिला अधिकारकर्मीहरु विरोधमा उत्रिएका हुन् ।
साथै उनीहरुले विवाह भई अन्य जिल्लामा गएका महिलाहरुको नामावली संकलन नगरिएको भन्दै पत्रमा राज्यले महिलाहरुलाई समान हक अधिकारको संवैधानिक व्यवस्था गरि आमाको नामबाट नागरिकता पैत्रिक सम्पत्तीमा समान हक प्रदान गरिसकेको अवस्थामा शेयर खरिदको अधिकारबाट बञ्चित गर्न नहुने उल्लेख छ ।
आयोजनाले दोलखाबासीले पाउने १० प्रतिशत साधारण शेयर पाउन योग्यहरुको तथ्यांक संकलनका काम गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु