दैनिक डेढ हजार युवा रोजगारीका लागि बिदेशिदै

२०७१ माघ १० गते, शनिबार

काठमाडौं । रोजगारीका लागि दैनिक १,५०८ युवा बिदेसिने गरेका छन् । श्रम बजारमा बर्र्सेनि थप श्रमशक्ति वृद्धिको अनुपातमा रोजगार अवसर सिर्जना कम हुँदा युवाहरू बिदेसिन बाध्य भएका हुन् ।चालू आवका ६ महिनामै २ लाख ७१ हजार युवा बाहिरिएका छन् । यो तथ्यांकका आधारमा दैनिक १,५०८ युवा बाहिरिने गरेको देखिन्छ । गत आवका सुरुवाती ६ महिनाभन्दा यो २० प्रतिशत बढी हो । गत आवको पुससम्म २ लाख २५ हजार ३०७ युवा रोजगारीका लागि बिदेसिएका थिए ।
सञ्चालनमा भइरहेका उद्योगधन्दा चर्काे लोडसेडिङ, श्रम विवाद र चन्दा आतंकले बन्द भइरहेका छन् । लगानी वातावरण नभएको भन्दै नयाँ उद्योग पनि खुल्न सकेका छैनन् । फलस्वरूप काम खोज्दै युवाहरू विभिन्न मुलुक जान बाध्य छन् । त्यही कारण वार्षिक बिदेसिने युवाको संख्या बढ्दै गएको छ ।
वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले पछिल्लो समय नयाँ उद्योगधन्दा खुल्नुभन्दा सञ्चालनमा भइरहेका औद्योगिक प्रतिष्ठानसमेत ऊर्जा अभाव तथा श्रम विवादले बन्द भइरहेको बताए । “उद्योग बन्द भएपछि युवाहरू काम खोजीमा बिदेसिन्छन्,” उनले भने ।
विगतमा पहाडका युवा मात्र बिदेसिन्थे । गुरुङका अनुसार अहिले मधेसी युवा पनि बाहिरने क्रम बढ्दो छ । “सुदूरपश्चिमका युवा थोरैमात्र बाहिरिएका छन्, त्यहाँ बेरोजगार संख्या बढी भएकाले अब वैदेशिक रोजगारी ह्वात्तै बढ्छ,” उनले भने ।
बिदेसिने युवाबाट आउने रेमिट्यान्स र सीप सदुपयोग गरी स्वरोजगारतर्फ लैजान सकेमात्र देशको अर्थतन्त्र गतिशील हुने सुझाव उनको छ । “रेमिट्यान्सको रकम विलासी वस्तुमा खर्च भइरहेको छ,” उनले भने, “त्यसलाई सरकारले उत्पादनशील क्षेत्रमा लगाउन उत्प्रेरित गर्नुपर्छ ।”
वैदेशिक रोजगार विभागका प्रवक्ता बर्दीकुमार कार्कीले देशमा रोजगार अवसर नभएकै कारण बाध्य भएर युवाहरु बिदेसिएको बताए । “पछिल्ला ६ महिनाको अनुपात कायम रहने हो भने यो वर्ष बाहिरिनेको संख्या साढे ५ लाख पुग्छ,” उनले भने, “नेपालीहरूका मुख्य चाडपर्व र श्रम गन्तव्य मुलुकमा रमादान सकिएका छन्, त्यसैले बिदेसिने संख्या अझै बढ्नेछ ।”
कामदार माग र विदेश जानेको संख्यामा ठूलो अन्तर छ । माग ६ लाख ३९ हजार ५०९ मध्ये २ लाख ७१ हजार ३३९ मात्र बिदेसिएका छन् । ६ महिनायता सबैभन्दा बढी युवा मलेसिया गएका छन् । त्यहाँमात्रै १ लाख १७ हजार ६८६ गएका छन् । मलेसियाबाट १ लाख ५२ हजार ४५३ माग थियो ।माग र विदेश जाने अन्तर सबैभन्दा बढी कतारमा छ । त्यहाँबाट २ लाख ८९ हजार ८६७ माग रहेकोमा ६३ हजार ३१९ नेपालीमात्र गएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु