देश र समाजलाई बचाउँन वैज्ञानिक समाजवाद – बलराम तिमल्सिना

२०७६ बैशाख २५ गते, बुधबार

देशमा हाल चलिरहेको शासन व्यवस्था दलाल तथा नोकरशाह चरित्रको पूँजीवादी शासन व्यवस्था हो । केही साथीहरू अझै यसलाई अर्ध-सामन्ती चरित्रको हो भनेर दावी गरिरहनु भएको छ। ती साथीहरूको तर्क के छ भने- १, सामन्तवादको अवशेष वाँकि रहेको हुनाले ,२, साम्राज्यवादको हस्तक्षेप अझ बढेको हुनाले र ३, सत्तामा दलाल तथा नोकरशाहहरूको हालीमुहाली भएको हुनाले यो पूँजीवादी होइन। हो, हामी एकथरिको उद्देश्य जनयुध्दको बाटोबाट सिधै सत्ता कब्जा गर्ने र पूरानो सत्तालाई ध्वंश गरेर नयाँ जनवादी सत्ता स्थापना गर्ने भन्ने थियो । तर भने जस्तो भएन। आफ्नो विकासको प्रकृयामा जनयुध्दलाई रोक्न देशभित्र अमेरिका आयो। हतियार थपिए। हेलिकोप्टर थपिए। एक रातमा छिचोल्न नसकिने किल्लाबन्दी बने। ती सवैलाई क्रस गर्ने फौजी तथा राजनीतिक रणनीति विकास गर्न नसक्दा नेतृत्वले हरेश खायो र ऊ बाह्र वुँदे समझदारीको बाटो भएर संसदवादमा घुँडा टेक्न आइपुग्यो। हामी धेरैले नेतृत्वको यो चालबाजी धेरै समयपछिसम्म चाल पाएनौं। आलोचनात्मक चेत कमजोर भएका हामी नेतृत्वलाई भगवान मान्दै पछि पछि लाग्यौं। नेतृत्वले जनसत्ता विघटन गर्यो , हामी वात्त परेर बस्यौं। नेतृत्वले जनमुक्ति सेनालाई कलात्मक तरिकाले विघटन गर्यो , हामी अर्धनिद्रामा सुत्यौं। पार्टी दक्षिण पन्थी भयो भनेर किरण कमरेडहरले विद्रोह गर्नु भयो, हामी वहाँलाई गाली गरेर प्रचणडको पछि पछि अझै लाग्यौं। अन्तमा प्रचण्डले पार्टी पनि बिघटन गरिदिए ।त्यो वेला हाम्रो नैतिक मृत्यु भैसकेको थियो। हामी खुरु खुरु एमालेको दलानमा थाल थाप्न पुग्यौं।
यसरी सर्वहारा वर्गको पहलकदमी कमजोर भएको कारणले नेपालको पूँजीवादी क्रान्तिको मूल नेतृत्व पूँजीपति वर्गको नेतृत्वमा भयो। सर्वहारा बर्गको तागत पूरै नसकिएको कारण गणतन्त्र आयो। कागजमै सही संगीयता धर्म निरपेक्षता आदि आए। पछिल्लो संविधान सभाको चुनावसम्ममा क्रान्तिकारी शक्ति तहस नहस भैसकेको हुनाले संविधानमा पूँजीपति बर्गको वर्चश्व स्थापित भयो। संघीयता नाम मात्रका बने। समानुपातिक लङ्गडो बन्यो। गणतन्त्र पङ्गु भयो। धर्म निरपेक्षता नामकाजी बन्यो।यो सवै क्रान्तिकारी तागतमा आएको क्षयिकरणको कारणले भयो।
तमाम सीमा र कमजोरी सहित भने पनि देशमा पूँजीवाद आयो। प्रगतिशील भए पूँजीवाद हुने तर दलाल खाले भए पूँजीवाद नहुने भन्ने हुदैन। जे जस्तो खाले भने पनि पूँजीवाद त आयो। अव हामीले भनेजस्तो भएन , हाम्रो नेतृत्वमा फेरि पूँजीवादी क्रान्ति गर्ने भनियो भने त्यो केटाकेटी कुरा मात्र हुन्छ।
1917 को फेव्रुअरी क्रान्तिको समयमा पनि बोल्सेभिकले भने जस्तो भएन। सामन्त जमिन्दारलाई करेन्साकी सरकारले कार्यवाही गरेन।क्रान्तिकारी भूँमिसुधार वाँकि थियो। लेनिनले भन्नु भयो- हामीले भने जसरी त आएन तर पूँजीवाद आयो। बोल्सेभिक पार्टीले क्रान्तिकारी भूमिसुधारलाई पनि समाजवादी क्रान्तिको प्रारम्भिक कार्यभार अन्तरगत समेट्नु पर्ने बतायो । साम्राज्यवादसँगको लडाइँ वाँकि नै थियो। पूँजीवादी क्रान्तिको छ महिनापछि नै लेनिनको नेतृत्वमा रुसी मजदूरहरूले अक्टोवर क्रान्ति गरे।त्यसलाई समाजवादी क्रान्ति भनिन्छ। रुसी कुलाकहरू( भूस्वामीहरू)सँग झडप त्यसपछि भयो ।साम्राज्यवादसँगको लडाइँ अझ चर्कियो र अन्तत रुसको विजय भयो ।
हाम्रो नेपालमा पनि क्रान्तिकारी भूमिसुधार भएको छैन। सामन्तवाद अहिले पनि सत्ताको एउटा अंगकै रुपमा छ ।भलै त्यो तेश्रो शक्तिको रुपमा छ। तेश्रो भए पनि छँदै छ। संघीयतामा भयानक ठगी भएको छ। धर्म निरपेक्षता पूर्ण छैन। महिला दलित अल्पसंख्यकका अधिकार अलपत्र छन।अपमानजनक संधी संझ्यौता यथावत छन।साम्राज्यवादको हस्क्षेप अझ बढेको छ। यसको अर्थ सामन्तवादलाई पनि अन्तिम प्रहार गर्न वाँकि छ।साम्राज्यवाद त डल्लै वाँकि छ। लोकतन्त्र स्थापनामा सहयोग पुर्याउँने नाममा साम्राज्यवाद अझ भित्र भित्र छिरेको छ। के त्यसो भए अझै माओको तरिकाको सामन्तवाद साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्ति अझै गर्ने त ? मलाई लाग्छ – अहँ त्यसो नगर्ने। त्यसो भए सामन्तवादलाई कुचो लाउँन कुन क्रान्ति या उपक्रान्ति गर्ने त ? अहँ उपक्रान्ति त झन हुदै हुदैन। के साम्राज्यवाद विरोधी छुट्टै राष्ट्रिय मुक्ति क्रान्ति गर्ने त ? अहँ त्यसरी छुट्टा छुट्टै क्रान्ति गर्न मिल्दैन। त्यसो भए के गफै गरेर बस्ने त ? हैन हैन त्यसो पनि नगर्ने । के गर्ने त ?
गर्ने के भने-अव समाजवादी क्रान्ति वारे सोच्ने । रहलपहल सामन्तवाद र साम्राज्यवाद सँगको लडाइँलाई समाजवादी क्रान्तिकै कार्यक्रमका अभिन्न कार्यभारभित्र जोड्ने। राष्ट्रिय चरित्रको समाजवादी क्रान्ति भने पनि हुन्छ। समाजवादी सारसहितको राष्ट्रिय मुक्ति आन्दोलन भने पनि हुन्छ। अझ भनौं हाम्रो समाजवादी क्रान्ति एक साथ समाजवादी पनि र राष्ट्रिय मुक्तिको चरित्रको पनि हुने छ।
प्रचण्ड र केपी ओलीलाई हेरेर समाजवाद भनियो भने दक्षिणपन्थी होइन्छ भनेर नयाँ जनवादी क्रान्ति भनियो भने हामी पूर्वाग्रही, जड तथा अवैज्ञानिक हुने छौं ।
समस्त आर्थिक सूचकाङ्क तथा राज्यका दैनिक व्यवहारले पुष्टि गर्छ कि हामीलाई दैनिक लखेट्ने दुश्मन सामन्तवाद हैन वरु पूँजीवाद हो। लखेट्न आउँने पूँजीवाद छ भने लडाइ पनि उसैसित हुनु पर्छ।
नेपालको कम्युनिष्ट आन्दोलन लामो समय सामन्तवादलाई गाली गरेर आएको आन्दोलन हो। अनि साम्राज्यवादलाई गाली गरेर आएको आन्दोलन हो। सामन्तवादले प्राण त्याग गरिसकेको छैन तर ऊ मृत्यु शैयामा छ। संसारभरिको तागत सहित पूँजीवाद हामीलाई लुटिरहेको छ। त्यसैले आउँनोस वैज्ञानिक समाजवादको तयारी वारे छलफल गरौं।
र अन्तमा, विद्यमान व्यवस्थाले ठगी गरेर हल नगरेका संघीयता, धर्म निरपेक्षता, समावेसी समानुपातिक लगायत महिला दलित तथा अल्प संख्यक समूदायका पूँजीवादी अधिकारको समेत पूर्णता दिन र श्रमजीवि वर्गको नेतृत्वमा नयाँ शासन सत्ता लागू गर्न समाजवाद वाहेक कुनै विकल्प छैन। आजका देशका सम्पूर्ण रोगहरूको अचुक उपचार भनेकै समाजवाद हो ।
त्यसैले एक्लै एक्लै पहिचान मागिरहेका जनजातीहरू, राज्यका सम्पूर्ण तहमा पुरुष समान हक खोजिरहेका महिलाहरू, वर्णाश्रम व्यवस्थाको पुछारमा थिचिएका दलितहरू, आफ्नै देशमा अनागरिकको पीडा खपिरहेका मधेशीहरू तथा वारम्वार लडेर पनि सँधै ठगिएका मजदूर तथा किसानहरू सवैले समाजवादवारे सोच्न जरुरी छ। विद्यमान व्यवस्थाले तपाईहरूलाई कुनै अधिकार दिने छैन। यसले त लुट्ने मात्र छ।यो लुटबाट देश र समाजलाई बचाउँने हो भने सवैले प्रेमपूर्वक भनौं- वैज्ञानिक समाजवाद जिन्दावाद !

प्रतिक्रियाहरु