देश इशाइकरणको चक्रव्युँहमा – बलराम तिमल्सिना

२०७५ मंसिर २० गते, बिहीबार

देश इशाइकरणको चक्रव्युँहमा छ । यो कुरा सवैलाई थाहा छ । एक जना भौतिकवादी हुनुको नाताले मानिसहरूको एक धर्मबाट अर्को धर्ममा हुने बसाइँसराईलाई म मानवजातिको अन्तहीन दुःख मात्र बुझ्दछु । धर्मको अडेसो लागेर मानिस कहिलै मुक्त हुँदैन । तथाकथित मोक्षको सपना देखाएर जीवनभर मानिसलाई भ्रमको भुँमरीमा फन्फनी घुमाएर हैरान पार्नु धर्मको काम हो । मानिस अन्याय विरुध्दको सचेत तथा संगठित संघर्षबाट मात्र मुक्त हुन्छ । कुनै प्रभु परमेश्वर या भगवानले मानिसहरूलाई मुक्ति दिदैनन । धर्मले दिने मुक्ति भनेको पेनकिलर औषधिले एक छिन दुखाई कम भएजस्तो मात्रै हो ।
कुरा इशाईकरणको प्रसंगबाट भएको थियो । हो देशमा इशाईकरण बढीरहेको छ र इशाईकरणसँगै धर्मको खोलभित्र साम्राज्यवाद पनि घरघर पसिरहेछ । यो असाध्यै खराव कुरा हो । यो खराव कुरालाई रोक्ने वारे सोच्नै पर्छ । योसँगै धर्म मानिसको निजी मामला हो र यसमा हस्तक्षेप गर्नु राम्रो होइन भनेर पनि हामीले बुझ्नु पर्दछ।
इशाईकरण बढ्नुमा साम्राज्यवादको ठूलो षडयन्त्र र लगानी छ भन्ने हामीलाई थाहा छ। तर इशाईकरणमा बढी जसो दलित तथा जनजातीहरू किन समावेश भएका छन भनेर हामीले सोच्नै पर्छ। जहाँसम्म दलितको प्रश्न छ , यो समुदाय हिन्दू धर्मले विगत पाँच हजार वर्षदेखी अमानवीय उत्पीडन गरेको समुदाय हो । हिन्दू धर्मभित्र दलितहरूलाई हेला होचो , निन्दा भर्त्सना , अन्याय र अत्याचार वाहेक केही छैन ।हिन्दू धर्मका कुनै पनि धाराले दलितहरूलाई मान्छे सरहको मान्यता दिएको छैन । आज हामी धेरै उदार समयमा प्रवेश गरिसक्यौ भन्दा पनि दलितमाथिको विभेद सिङ तिखारेर उभिएको छ भने मध्य युगीन समय कस्तो थियो होला ? यसरी आफूमाथि लादिएको अन्यायपूर्ण धर्मबाट निस्सासिएका दलितहरू कि त भौतिकवादी बन्छन र कि त आफूप्रति नरम व्यवहार गर्ने अर्को कुनै धर्मतिर बसाइँ सर्छन। इशाई धर्मभित्र जातपात नहुने र चर्च हरेक इशाईको लागि वरावर हुने हुनाले दलितहरूको ठूलो हिस्सा इशाइकरण भएको छ । जनजातिहरू ऐतिहासिक हिसावले हिन्दू होइनन । तिनीहरू धेरै पछि अहिले इशाईकरण भएजस्तै हिन्दूकरण भएका हुन । उनीहरू वौध्दमार्गी या प्रकृति पूजक हुन ।उनीहरूको धर्म बढी उदार भएकोले एता उता सर्न सजिलो भएको हो । जनजातीहरूलाई पनि हिन्दू धर्मले विभेद गरेकोले उनीहरूलाई हिन्दू धर्मतिर आउनुभन्दा इशाई हुन सहज छ । हिन्दू धर्मतिर आउँदा वर्णाश्रमको विभागमा बस्नु पर्छ भने इशाई हुँदा एकछत्त हुन पाइन्छ।
हिन्दू धर्मवाला समुदायले नेपालमा इशाईकरणको विरोधमा दाह्रा किटेर , मुड्की बजारेर या आँसु झारेर केही अर्थ छैन । उनीहरूले आफ्नो धर्मलाई उदार बनाउन जरुरी छ । पाँच हजार वर्षदेखि दलितहरू माथि गरेको जघन्य अपराधको लागि माफी मागेर धर्म ग्रन्थभित्रका दलित उत्पीडनकारी मान्यताहरूलाई हटाएर धर्मलाई समयानुकूल र मानवीय वनाउँने हो भने मानिसहरू डलरको मात्रै लोभले इशाई बन्दैनन। वर्णाश्रम जस्तो विभेदकारी ,अनैतिक र अवैज्ञानिक मान्यतालाई हटाएर अव हामी सवै हिन्दूहरू बराबर भयौं , अव जन्म र जातको आधारमा कोही ठूलो र कोही सानो हुने छैनौं , विगतमा हामीबाट भएको उत्पीडनको लागि हामी माफी माग्छौं भनेर हिन्दू धर्माधिकारीहरूले घोषणा गर्ने हो भने आज भैरहेको इशाईकरण ह्वात्तै घट्छ ।
म आफू एक जना भौतिकवादी भएको नाताले म मानिसहरू एउटा धर्मबाट अर्को धर्मतिर बरालिएर दुख पाउँनु भन्दा सिधै भौतिकवादी बनुन भनेर सोच्छु । धर्महरूको तुलना गर्दा कुन धर्म उदार र कुन कठोर छ भनेर मूल्याङ्कन गर्नु मेरो सामान्य कुरा हो ।त्यस हिसावले जन्मको हिसावले हिन्दू रहेको मैले पनि कुनै बेला मानेको हिन्दू धर्मभन्दा वुध्द धर्म या इशाई धर्म बढी उदार छन । जति उदार भए पनि ती धर्म नै हुन ।त्यसैले म धर्मबाट धर्मतिर होइन भौतिकवादतिर मनिसहरू लागून भनेर सोच्छु ।
जहाँसम्म हिन्दू धर्ममा राष्ट्रवाद मगमगाउँछ भनेर कसैले भन्छन , त्यो बेकारको झुट हो ।राष्ट्रवादको गन्ध आउने वुध्द धर्म हो ।किन कि वुध्द नेपालका हुन्। हिन्दू धर्मका देवी देवता र धर्मपीठहरू सवै भारतीय हुन ।हिन्दूस्तान = हिन्दू= हिन्दू धर्म हो । हिन्दू धर्मको अनुहार र चरित्र सवै भारतीय हो । त्यसैले धर्म नमानी वाँचिन्न भनेर सोच्नेले समुद्र पारीको इशाई र भारतको हिन्दू धर्म होइन वुध्द धर्म मान्नु वेस ।अझ साह्रै वेश त भौतिकवादी बन्नु हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु