देशलाई पुनः द्वन्द्वमा फसाउने दुस्प्रयास

२०७४ मंसिर १७ गते, आईतवार

यतिबेला संसद्वादी दलहरु निर्वाचन अभियानमा छन् । नेकपा भने निर्वाचनले मात्रै नेपालीको समृद्धि नहुने भन्दै चुनाव खारेजी अभियानमा लागेको छ । शान्तिपूर्ण रुपमा चुनाव खारेजी अभियानमा लागेका उक्त पार्टीका सयौँ कार्यकर्तालाई चुनाव विरोधी गतिबिधिमा लागेको भन्दै पक्राउ गरी थुनिएको छ । प्रहरीले अहिलेसम्म देशभरिबाट ५ सय जना नेकपाका कार्यकर्तालाई पक्रेको जनाएको छ । तर, तीमध्ये अधिकांश निर्दोष रहेका छन् । आफ्नै काम गर्ने र दैनिकी गुजारा चलाउने तर पार्टीमा आस्था राखेका ब्यक्तिलाई प्रहरीले पक्रेको छ । निर्दोष र पार्टीमा सामान्य आस्था राखेकै कारण पनि दुःख दिने काम भइरहेको छ । चुनाव वरपर भएका ‘चुनावविरोधी’ गतिविधि तथा विष्फोटका प्रत्येक वारदातपछि त्यसको आरोप सरकार र सुरक्षा संयन्त्रले सोझै नेकपामाथि लगाउने गरेको छ । तर, नेकपाले चुनावविरोधी भनिएका कुनै पनि गतिविधिको जिम्मेवारी अहिलेसम्म लिएको छैन । बरू चर्चामा रहेका समाचारलाई आधार मान्ने हो भने विष्फोट र गोली चलेका घटनामा स्वयं सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस, माओबादी केन्द्र र छिमेकी मित्रराष्ट्र भारतका केही मान्छे जोडिएको स्वतः प्रमाणित हुन्छ ।
जस्तो– शुक्रबार काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई विस्फोटक सामग्रीसहित प्रहरीले पक्राउ गरेको छ । धुनीबेंसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा गाडी चेकजाँचको क्रममा ना७ख ४९७६ नम्बरको बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिएका छन् । बस चेकजाँचको क्रममा एउटा प्रेसरकुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थ भेटिएको थियो ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा विस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका– ८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरिएको हो । उनी नेपाली काँग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिका– ८ का निर्वाचित वडा सदस्य हुन् । श्रीसको साथबाट ३३ थान एक्सप्लोसिभ डेटोनेटर, ४ थान सुतली बम, १ किलोग्राम बारुद र सेफ्टी फ्युजलगायतका अवैध विस्फोटक पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् । श्रीस लु३२प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले रेसुङ्गा नगरपालिका– २ स्थित चेकप्वाइन्टमा चेकजाँज गरेको थियो । विस्फोटक पदार्थसहित उनी प्रहरीकै नियन्त्रणमा छन् । यसबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।
यसैगरी, रोल्पा, रुकुम, दाङ्ग, सल्यान, सुनसरी, उदयपुर, भोजपुरलगायत देशका बिभिन्न ठाउँमा भएका आगजनी, बिस्फोट र गोलिकाण्डमा पक्राउ परेकाहरु सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता भएको पाइएको प्रहरीको भनाइ छ । यसले के कुराको पुस्टि गर्छ भने संसद्वादी दलहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न फोहोरी खेल खेल्दै छन् र त्यसको दोष नेकपा माथि थोपर्ने दुस्प्रयास गर्दै छन् । जुन ज्यादै निन्दनीय छ । सरकारको यस्तो रबैयाले देशलाई पुनः द्वन्द्वमा फसाउने निश्चित छ । तसर्थ, सरकारले यस्तो दुष्कार्य तत्काल बन्द गर्नु पर्छ ।

प्रतिक्रियाहरु