देशलाई अमेरिकी साम्राज्यवादको खेलमैदान हुनबाट बचाऔं

२०७७ असार १४ गते, आईतवार

यतिबेला एमसीसी सम्झौतालाई लिएर देशव्यापीरुपमा आन्दोलन चर्किरहेको छ । आमस्वाभिमानी नेपाली जनता, एमसीसीको विरुद्धमा उत्रिएका छन् भने सरकार कुनै पनि हालतमा एमसीसी संसद्बाट पारत गराउने प्रपञ्चमा लागिरहेको छ । असार १६ गतेभित्र एमसीसी संसद्बाट पारित गरिसक्नुपर्ने समयसीमा तोकिएको र असार १७ गते नभई संसद् नबस्ने भएकाले तत्काल खतरा टरेको जस्तो देखिए पनि अमेरिकी विदेश मन्त्रीले नेपालका परराष्ट्रमन्त्रीलाई समयसीमाको सम्बन्धमा लचिलो हुन सक्ने बताएको समाचार सार्वजनिक भएकाले अमेरिका जुनसुकै मूल्यमा पनि नेपालमा एमसीसी लागू गर्न चाहन्छ भन्ने पुष्टि हुन्छ । एमसीसीमार्फत् अमेरिका नेपालमा आफ्नो सैन्य गतिविधि सञ्चालन गर्न चाहन्छ भन्ने विषय बुद्धिजीवि, राजनीतिक विश्लेषकहरुले बताइसकेका छन् ।
यसैबीच, हालै अमेरिकाको विदेश मन्त्रालयले तयार पारेको आतंकवादसम्बन्धी प्रतिवेदन २०१९ मा नेपालमाथि आतंकवादी आक्रमण हुन सक्ने उल्लेख गरिएकोे छ । भारतसँगको नेपालको खुला सिमानालाई दुरुपयोग गरेर आतंककारीहरुले आक्रमण गर्न सक्ने प्रतिवेदनमा दाबी गरिएको छ । बुधबार सार्वजनिक भएको आतंकवादसम्बन्धी गत वर्षको प्रतिवेदनमा अन्तर्राष्ट्रिय आतंककारीहरुले नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्न सक्ने आँकलन गरिएको छ । नेपालको खुला सीमा र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकललाई कारण बनाउँदै अमेरिकाले सो प्रतिवेदनमा नेपाल ट्रान्जिट प्वाइन्ट हुन सक्ने उल्लेख गरेको छ । यसबाट के प्रष्ट हुन्छ भने अमेरिका जुनसुकै हालतमा नेपालमा आफ्नो सैन्य गतिविधि चलाउन चाहन्छ । यसको लागि चोर बाटो प्रयोग गर्न उसले एमसीसी सम्झौता अगाडि सारेको हो । तसर्थ, अमेरिकाको यस कुनियतलाई हामीले बेलैमा पत्ता लगाएर अगाडि बढ्नुको विकल्प छैन । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध शंखघोष गरेको संघर्षलाई सफल तुल्याउन अनिवार्य छ । नेकपाले एमसीसी पास नगर्न सांसद्हरुलाई आग्रह गर्दै पत्रसमेत थमाउन थालेको छ । देशलाई अमेरिकी साम्राज्यवादको खेलमैदान हुनबाट बचाउन नेकपाले थालेको यस आन्दोलनलाई आमस्वाभिमानी नेपाली जनता र राष्ट्रवादी राजनीतिक दल र नेताहरुले साथ र सहयोग गर्नुपर्छ । अन्यथा राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतामाथि नै संकट आइपर्ने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु