देशको हुलिया – वलराम तिमिल्सिना

२०७६ असार २ गते, सोमबार

यो धेरै देशहरूको देश हो
एउटै छैन यसको परिचय
एउटै हुलियाले देश चिनिदैन !

देश भन्नु,
होइन सुलुत्त परेको नाक मात्र
होइन खस भाषा मात्र वोल्ने जिब्रो
होइन त्यो गहुँगोरो छाला मात्र !

देश भन्नु,
दौरा सुरुवाल र टोपी मात्र होइन
देश भन्नु,
सगरमाथा मात्र पनि होइन
न त हो देश भन्नु-
लाली गुराँस फुल्ने पहाडहरू मात्र !

दावा ग्याल्जेन
देशको नाक हेर्छ र आफ्नो नाक हेर्छ
र सोच्छ-
म देशभित्र छैन कि कसो ?
किन देशको नाक र मेरो नाक फरक छ ?

फुल्गेन सदा
देशको अनुहार हेर्छ
र ऐनामा आफूलाई हेर्छ
अनि मनमनै सोच्छ –
किन मेरो रङ्ग र देशको रङ फरक छ ?

वीरमान लिम्वु
एकोहोरो सोचिरहन्छ –
कसरी खोसियो किपट ?
तमोरका घुमाउँनीहरूमा
किन अझै देखिएझैं लाग्छ घुमिरहेका
बाजे बजुका घाइते शरीर ?
च्याब्रुङ फुटेको वर्षौं भयो
च्याब्रुङमा नयाँ छाला फेर्न
किन पटक पटक रोक्छ संविधान ?

राष्ट्रिय विभूतीहरूको सूचीमा
किन आफ्नो अनुहारका कोही छैनन् ?
यस्तै यस्तै सोच्छन्-
झगरु मुसहर
आइतसिंह तामाङ
पेम्वा शेर्पा
फूलमान गुरुङ
ताया किराती
छविलाल थारु
र मकरसिंह मगरहरू !

माघी, साकेला
भूमे, लोसार
यिनीहरू किन राष्ट्रिय चाड बनेनन्
यसरी सोच्ने टाउकाहरू पनि
उम्रिसकेका छन् सरहदभित्र
भलै यो समाचार
शासकहरूका लागि
भयानक दुखद समाचार हो !

देशको अनुहारबाट
गायव भएपछि
कसैको नाक
कसैको रङ्ग
कसैको भाषा
कसैका भेसभुषा
कसैका चाड पर्वहरू
देश पनि परदेश लाग्ने रहेछ
आफूलाई सोच्दो रहेछ मान्छे-
एक यायावर शरणार्थी !

प्रतिक्रियाहरु