देवघाटमा साउने मेला सुरु

२०७१ श्रावण १ गते, बिहीबार

काठमाडौं ,१ साउन । चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा आजबाट साउने मेला सुरु भएको छ ।आज साउने सङ्क्रान्ति भएकाले देवघाटमा स्नान गर्नेको घुइँचो लागेको छ । पूर्व सांसद मैयाँदेवी श्रेष्ठले रुद्रिपाठ गरेर मेलाको सुरुआत गरेको देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिए ।
साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । यो महिनाको साउने सोमबार भने झनै भक्तजनका लागि महत्वपूर्ण हुन्छ । मेला आजबाट सुरु भएपनि मुख्य गरी आउँदो आइतबारदेखि भारतबाटसमेत भक्तजन आउने पौडेलले बताए ।
महिनाव्यापी हुने मेलाका लागि सुरक्षा व्यवस्था मिलाइएको तथा स्नान गर्ने क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाइएको उनले बताए । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा रहेको देवघाटधाममा यो महिना लाखौँ धार्मिक पर्यटक आउने गर्दछन् ।
यस्तै चितवनको महाकालेश्वर मन्दिर, गैंडाकोटको गोपेश्वर मन्दिर, माडी, रत्ननगरलगायत क्षेत्रका शिवालयमा पनि सोमबारे मेला अर्थात बोलवम मेला लाग्ने गर्दछ ।
महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्दछन् ।देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वास छ ।
मेलामा साउनको हरेक सोमबार निराहार ब्रतबसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ ।यसरी चढाउँदा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन् भने अविवाहिता महिलाहरुले असल श्रीमान्को कामना गर्दा मनोकामना पुरा हुने विश्वास रहेको पूजारी माधव सापकोटाले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार