‘देउवाको नेतृत्व असफल भयो’

२०७५ असार ४ गते, सोमबार

काठमाडौँ, ४ असार । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छन् । सोमबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभापति देउवाकै कारण कांग्रेस कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ थियो । ‘पद छोड्नैपर्छ भन्ने छैन । पराजयको जिम्मेवारी लिएर नेता–कार्यकर्तामा उत्साह थप्नुपर्छ । गिरिजाबाबुले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन’–उनले भनिन् ।
पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै नेत्री कोइरालाले सक्षम र राम्रा मान्छेलाईभन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको गुनासो गरिन् । ‘गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन् । सुतेर बसेकालाई जगाउनसक्ने हो भने कांग्रेस बलियो हुन्छ । फेरि जागेर आउँछ । जगाउनसक्ने नयाँ नेतृत्व चाहिन्छ’–उनले भनिन्–‘पार्टीको तल्लो तहसम्मका नेता–कार्यकर्ताको भावना बुझ्नसक्ने नेतृत्व चाहिन्छ । माथि बसेर लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ ।’
अब महासमितिको बैठक बसेर कांग्रेसको आगामी यात्रा तय गर्नुपर्नेमा उनले जोड दिइन् । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्ने धारणा उनले व्यक्त गरिन् । अहिले संसदमा प्रतिपक्षीको भूमिका पनि कांग्रेसले प्रभावकारीरुपमा निभाउन नसकेको जिकिर उनले गरिन् । पार्टीभित्रका सबै समस्या समाधान गर्नसक्ने सक्षम नेतृत्व अबको आवश्यकता रहेको उनले बताइन् ।
महासमितिको बैठकपछि महाधिवेशनको यात्रा तय गर्नुपर्ने भन्दै नेत्री कोइरालाले जसले बीपीको सिद्धान्त अंगाल्नसक्छ, उसैलाई नेतृत्वमा ल्याउनुपर्ने तर्क गरिन् । ‘सधैं कोइराला परिवार रहँदैन । कोइराला हुँदैमा सबै राम्रो हुन्छ भन्ने छैन । कोइरालाहरु भगवान् पनि होइनन् । तर, बीपीको सिद्धान्त लागू गर्नसक्ने व्यक्ति चाहिन्छ’–उनले भनिन् । सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रित हुनसके उपलब्धि हासिल हुनेमा आफू विश्वस्त रहेको उनले सुनाइन् ।
फरक प्रसंगमा उनले नेपालका दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध एकनासले अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा उनले नेपालको हितमा हुनेगरी भ्रमणकेन्द्रित गर्न आग्रह गरिन् ।‘भारत र चीन दुवै देशबाट नेपालले फाइदा लिन सक्नुपर्छ । दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ’–उनले भनिन् । विश्वकै शक्तिशाली अर्थतन्त्र भएको देश चीनबाट नेपालले फाइदा लिनका लागि प्रधानमन्त्रीको भ्रमण सफल हुने कोइरालाले विश्वास व्यक्त गरिन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु