दुर्लभ वन्यजन्तु ‘चौका’ भेटियो

२०७४ माघ २७ गते, शनिबार

काठमाडौं, २७ माघ । नेपाल र भारतमा मात्र पाइने दुर्लभ वन्यजन्तु चौका लमहीको नारायणपुर टिकुलीगढको वनमा भेटिएको छ । अंग्रेजीमा फोर हर्न एन्टिलोप नामले चिनिने सो जनावर नेपालको संरक्षित स्तनधारी जनावरमध्ये एक हो । एन्टिलोप समूहमा पर्ने चौकाको दुई जोडी सिङ हुने बताइएको छ ।
सोमध्ये पछाडिको सिङ अगाडिभन्दा लामो हुन्छ । नेपालमा हालसम्म यसको संख्या यकिन गर्न सकिएको छैन । वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालको नेतृत्वमा दाङमा वन्यजन्तु अनुसन्धान हुँदै आएको छ । सोही क्रममा दाङका विभिन्न वनमा स्वचालित क्यामरामा पनि जडान गरिएको छ ।
हालसम्म नेपालका बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा मात्र यसको आभिलेख गरिएको खनालले बताए । निकुञ्ज क्षेत्रभन्दा बाहिरको यो पहिलो अभिलेख हो । “हाम्रो अनुसन्धानले थप हौसला प्रदान गरेको छ, यस प्रजातिमा थप अनुसन्धान हुन जरुरीसमेत रहेको छ”, खनालले बताए । दाङमा विभिन्न समयमा दुर्लभ वन्यजन्तु भेटिँदै आएको बताउँदै वन्यजन्तु अनुसन्धानकर्ता खनालले स्वचालित क्यामेराको प्रयोग गर्न थालिएपछि अनुसन्धानमा सफलता मिलेको उनको भनाई छ ।

प्रतिक्रियाहरु