दुर्घटनाबाट क्षतिग्रस्त विमान हटाइएन

२०७५ बैशाख १० गते, सोमबार

काठमाडौं, १० बैशाख । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतिग्रस्त विमान अझै हटाइएको छैन । गत वर्ष जेठ १६ गते दुर्घटना भएको उक्त विमान विमानस्थलको धावनमार्गअगाडि राखिएको छ । क्षतिग्रस्त विमान कोल्टी विमानस्थलमा छ । विमानस्थलमा अवतरण र उडान हुने तारा, गोमा, मकालुलगायतका जहाजका पाइलट र यात्रीले सजिलै देख्ने गरेका छन् ।
गत जेठमा भएको उक्त दुर्घटनामा नेपाली सेनाका विमान चालक कौशल गुरुङको घटनास्थलमा नै मृत्यु भएको थियो भने सहचालक एकजना गम्भीर घाइते भएका थिए । जेठ १६ गते मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थलनजिकै अवतरणकाक्रममा दुर्घटना भएको थियो । दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका थिए ।
‘एनए ०४८’ कलसाइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमकोटका लागि सामान बोकेर उडेको थियो । सिमकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि ‘डाइभर्ट’ भएको थियो । दुर्घटना भएको जहाज नहटाउँदा अन्य जहाजका चालकलाई समस्या हुने गरेको कोल्टीमा रहेका विभिन्न जहाज कार्यालयहरुले जनाएका छन् । यता, नागरिक उड्डयन कार्यालय कोल्टीले विमान हटाएर अन्यत्र राख्ने ठाउँ नहुँदा धावनमार्गको छेउमै राखेको जनाएको छ । -रासस

प्रतिक्रियाहरु