दुई तीहाईको ह्याङओभरबाट ओर्लनूस – बलराम तिमल्सिना

२०७५ श्रावण ४ गते, शुक्रबार

सरकारी नेकपाका साथीहरू ! तपाईहरू सरकारलाई सही सुझाव दिन चाहनु हुन्छ भने शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने परिपाटी सिर्जना गर्न थाल्नूस । जव सरकारको सोचभन्दा डा गोविन्द केसीको माग बढी न्यायपूर्ण हुन्छ तव मानिसहरू तुलनात्मक रुपमा न्यायतिर ढल्किन्छन ।
दुई तीहाईको तराजुले न्याय र अन्याय जोखिदैन । दुई तीहाईको ह्याङओभरबाट ओर्लनूस र सोच्नूस । न्याय र अन्याय त सरकारको नीति तथा कार्यक्रम अनि दैनिक व्यवहार र आचरणमा देखिने हो । दैनिक व्यवहार र आचरणमा फुट्टी पनि वामपन्थी नदेखिएपछि डा केसी , काङ्ग्रेस या जनतालाई गाली गरेर या दुई तीहाईको धम्की दिएर या भोको मानिसमाथि अस्पताल परिसरमा सैन्य कार्यवाही गरेर समस्याको समाधान हुदैन । दुई तीहाईको बल त अव चार वर्षलाई मात्रै हो तर नैतिक वलले दशकौंसम्म लैजान्छ ।
नीति कार्यक्रम तथा दैनिक आचरण र व्यवहारमा माफियाहरूसँग लगन गाँठो कसेर , नीजिकरण र उदारीकरणको भारी बोकेर हिडेपछि कसरी समाजवादतिर जाइन्छ ?
सरकार यदि थोरै पनि इमान्दार छ भने ( त्यस्तो संभावना देखिदैन ) यो समय सवै नीजि स्कूल कलेज र अस्पताललाई सरकारीकरण गर्नेतिर समयवध्द योजना ल्याउँनु पर्ने हो ।सरकारले त्यसो गर्ने हो भने यो दुई तीहाई अर्को पटक तीन चौथाईमा बदलिन्छ । हैन जनहीतका काम केही नगरेर माफियाहरूसँग सुतबस गर्ने हो भने पैसठ्ठीको माओवादी सत्तरीमा कत्रो भयो सवैले देखेकै छन् ।
गत चुनावमा मैले पनि भोट हालेको सरकार भएको नाता प्रयोग गरेर म यी सुझावहरू दिइरहेको छु । आफ्नो पार्टीभन्दा बाहेक सवैलाई काग्रेस देख्ने तपाईहरूले मलाई पनि कतैबाट संचालित देख्नु भयो भने पनि मेरो केही भन्नु छैन ।
त्यसो त सरकारका कामहरू वारे समर्थन या आलोचना गर्ने अधिकार देशका हरेक नागरिकलाई बराबरी छ । किन कि सरकारका सही या गलत कामहरूको परिणाम देशका हरेक नागरिकले बराबरी भोग्नु पर्छ ।

प्रतिक्रियाहरु