दुई तिहाईको सत्तालाई हल्लाई दिने शक्ति ‘नेपाल कम्युनिष्ट पार्टी’ – विष्णु पन्त

२०७५ भाद्र २२ गते, शुक्रबार

अहिलेको सत्ताको ठेकेदारकै नियुक्ती पाएका छन् ओली र दाहाल । अहिले उनीहरुको दुई तिहाईको सत्तालाई हल्लाईदिने एउटै शक्ति छ, त्यो हो विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी । ठेकेदारहरुलाई भय र त्रास छ कि यदि यो क्रान्तिकारी शक्ति जुर्मुरायो भने दलाल संसदीय व्यवस्था ध्वस्त हुनेछ । उनीहरुलाई इतिहासको अनुभुतिबाट के पनि लागेको छ भने विप्लवसँग राजनीतिक र वैचारीक प्रतिष्पर्धा गर्न सकिदैन । जो विचारबाट स्खलीत र विचलित छ, उसँग नैतिक आत्मबल पनि हुँदैन । सबैलाई थाहा छ विप्लव एउटा जिउँदो र बल्दो इतिहास हो र उ आफ्नो लाईनबाट रत्तीभर पनि बिचलित छैन । उसले नीतिगत रुपमा तीनवटा शक्तिसँग मिलेर भावी सत्ता चलाउन चाहन्छ, ती शक्ति हुन् क्रान्तिकारी वा प्रगतिशील शक्ति, राष्ट्रवादी शक्ति र सच्चा लोकतन्त्रवादी शक्ति । सायद नेपालको भविष्य यी तिनवटै शक्तिबीचको एकता, समझदारी र सहयात्रामा निर्भर गर्दछ । यी तिनवटै शक्तिमाथी अहिलेको सत्ताले हमला र आक्रमणको रणनीति अंगीकार गरेको छ । निष्ठा, आर्दश र सर्मपणको आधारमा मात्र यी शक्तिहरु जनतामा स्थापित छन् र एउटा उज्यालो भविष्यका लागि आशा र भरोसाका केन्द्र बनेका छन् । राज्यले यी शक्तिहरुलाई अलगथलग, छिन्नभिन्न र भताभुङ्ग पार्न चाहन्छ । हाम्रा धेरै बुद्धिजीविहरु छन् जसले राज्यका हरेक गलत कदमहरु प्रति आक्रामक प्रहार गर्दछन् । हामीले देखेका छौं आज कति सच्चा लोकतन्त्रवादीहरु प्रकाण्ड लगायतका नेता कार्यकर्तामाथि राज्यद्धारा गरिएका फासीवादी कदमको घोर भत्सना गरेका छन् । कति राष्ट्रवादी शक्तिहरु आज विप्लव नेतृत्वको पार्टी माथिको राज्यको दमन विदेशीहरुको ईशारामा गरीएकोले विरोध गरीरहेका छन् । यहाँसम्म कि कतिपय सेना र प्रहरीका राष्ट्रवादी अधिकारीहरुले पनि सरकारको गैह्रराजनीतिक कदम प्रति असहमती जनाईरहेका छन् । खासगरी यो सरकारलाई जेलभित्रबाट हल्लाउन सफल भएका छन् प्रकाण्ड । निश्चित हो, प्रकाण्ड नेपाल कम्युनिष्ट पार्टीका एक आक्रामक र द्धढ नेता हुन् ।
प्रष्ट छ कि दुई तिहाईको दम्भ भए पनि ओली र दाहालले टेक्ने जग ज्यादै कमजोर र चर्किएको छ । सबै लोभी, पापीहरुले भरीएको पार्टी हो सत्ताधारी नेकपा । त्यहाँ ईमान्दार र आर्दश व्यक्तिहरु सबै वाक्कदिक्क बनाईएका छन् । त्यहाँ क्षमता, प्रतिभा, योग्यता, त्याग र बलिदानको कुनै मुल्य छैन । त्यहाँ एकछत्र दलाल र माफियाहरुको राज छ । स्तुतिगान गाउने ओली र दाहाललाई जयजयकार गर्नेहरुको हुकुमी शासन छ । नयाँ जंगबहादुर शैलीमा आफुलाई उभ्याउन खोज्दै छन् – ओली र दाहाल । भागवण्डामा उनीहरु मिलेका छन् र ओलीपछिको उत्तराधिकारी बन्ने आकांक्षामा ओली र दाहालको एकता भएको छ । उनीहरु पार्टी भित्र अधिनायकवादी बन्दै छन् भने बाहिर फाँसीवादी । त्यहाँ बहस, तर्क र विचारको कुनै सुनुवाई हुँदैन । हिटलरी शैलीमा निर्णयहरु गरी लादीन्छ । विरोध वा आलोचना गर्नेलाई निमोठ्ने वा सिध्याउने नियम जस्तै बनेको छ । त्यहाँ भित्र भयानक उत्पीडन, अन्याय र शत्रुतापूर्ण निषेध छ, जुन ज्यादै डरलाग्दो छ ।
राष्ट्रियताको स्थिति ज्यादै संकटग्रस्त बनाईदै छ । पछिल्लो समयमा कथित बिमस्टेक सम्मेलन मार्फत संयुक्त शैन्य अभ्यास ज्यादै खर्तनाक राष्ट्रघात बन्ने अवस्था छ । भारतको स्वार्थलाई केन्द्रमा राखेर चीन र पाकिस्तानलाई थ्रेट गर्नेगरी संयुक्त शैन्य अभ्यासको डिजाइन गरिएको हो । नेपालको असंलग्न परराष्ट्र नीतिलाई यो निर्णयले आघात गरेको छ । नेपाल चीन वा पाकिस्तानलाई विरोधी बन्नु पर्ने छ वा छैन ? हाम्रो परराष्ट्र नीति के हो ? हामी कसैलाई तर्साउने र कसैलाई उस्काउने हैसियतमा किन लाग्ने ? हामीले भारतको भित्री रणनीति चीन र पाकिस्तानलाई हान्ने प्रस्तावलाई किन स्वीकार गर्ने ? यी प्रश्नहरुको उत्तर जटील छ । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले भने जस्तै यदि पाकिस्तान र चीनले पनि संयुक्त शैन्य अभ्यासको प्रस्ताव राखे ओलीले के गर्लान ? सुनिन्छ, यसबारेमा चीनलाई आश्वस्त पार्न नारायणकाजी र प्रचण्ड चीन पठाईंदै छ । तर म चीन जाँदै छु है नरीसाउनु भन्दै प्रचण्ड पहिला भारत लागेका हुन् । जनताले बुझीसकेका छन् प्रचण्ड र ओलीको यो कस्तो राष्ट्रियता ? के प्रधानमन्त्रीसँग जवाफ छ, भोली चीन र पाकिस्तानले पनि संयुक्त शैन्य अभ्यासको प्रस्ताव राखे के गर्ने ? अमेरिका वा युरोपियन युनियनले प्रस्ताव राखे के गर्ने ? रसिया र उत्तर कोरियाले प्रस्ताव राखे के गर्ने ? यसले नेपालको कुटनीतिक सम्बन्ध वा परराष्ट्र नीतिलाई कतातिर लैजान्छ ? भारतीय प्रधानमन्त्री मोदीलाई खुसी पार्ने र सत्ता टिकाउने नाममा यति गम्भीर राष्ट्रघात गर्न मिल्छ ? अत ः कुर्चिका लागि यिनीहरु देशै बेच्न पनि तयार छन् । देखी हालियो कुर्चीका लागि देशभित्रै नरसंहार गर्न र युद्ध चर्काउन पनि उद्धत छन् ।
आज सच्चा लोकतन्त्रवादीहरुलाई त्यस्तै अलगथलग पारीदैं छ । लोकतान्त्रिक अधिकार केवल सत्ताधारी वा शासकहरुका लागि मात्र हो की जस्तो अभ्यास गरिंदै छ । मानव अधिकार र मौलिक हक पनि सत्ता समर्थकलाई मात्र हो भन्ने नजीर बसाल्न खोजींदै छ । सरकारको आफ्नै अंग सर्वौच्च अदालतलाई त नाङ्गो हस्तक्षेप गरिंदै छ । सर्वौच्चका फैसला र आदेशहरुलाई पनि आफ्नो अनुकुल भए मान्ने र प्रतिकुल भए नमान्ने वा अवज्ञा गर्ने कार्य हुँदैछ । बन्दीप्रत्यक्षीकरण जस्तो संवेदशील रीटमा गरीएका आदेशहरुको बारम्बार उल्लंघन गरीएका छन् । अदालतले छाड्ने र फेरी अदालत परीसरबाटै नाङ्गो ढंगले बल प्रयोग गरेर गिरफ्तार गर्ने जस्ता घटिया कार्यले शासकहरुको भित्री इच्छा के छ भन्ने प्रष्ट भएको छ । सरकारमा बसुञ्जेल उनीहरुलाई लाग्छ नै हामी अब आजीवन शासक हो र हामीले जे गरेपनि हुन्छ । आफ्नो अनुकुलतामा कानून हिंड्नु पर्छ भन्ने उनीहरुको दम्भ छ । मेरो आदेशमा मात्र पृथ्वी घुम्छ भन्नेहरुलाई भन्नु नै के छ र ? लोकतान्त्रीक पद्धतिमा आफैंले बनाएका संविधान र कानूनले दिएका अधिकार उपभोग गर्ने अधिकार सबै नागरिकलाई समान हुन्छ । राज्य त विधिबाट चल्नुपर्छ, कुनै कुरा नियन्त्रण गर्नु पर्यो भने पनि विधि बनाएर मात्र चल्नु पर्छ । जथाभावी चल्ने अराजक र सन्काहा शासकहरुलाई जनताको शक्तिद्धारा अपदस्त गर्ने अधिकार हुन्छ । आज डाक्टरहरु, पत्रकारहरु आफ्नो पेशागत अधिकारमाथी हनन् भयो भनेर आन्दोलित छन् तर यो सरकार सुन्नेवाला छैन । आज किसान, मजदुरहरु, कर्मचारीहरु आवाज उठाउँदै छन्, कुनै सुनुवाई छैन । आम जनता कर र महंगीको मारबाट रन्थनीएका छन्, कोही सुन्नेवाला छैन । महिलाहरु बलत्कारीका घटनालाई पूर्ण रुपले हटाउनु पर्यो र वास्तविक बलत्कारी र हत्यारालाई कार्बाही गर्नु पर्यो भनीरहेका छन् तर राज्य सुनीरहेको छैन । यस्तो लाग्छ कथित दुईतिहाईले प्रधानमन्त्री ओलीलाई शालिक जस्तो मात्र बनाई दिएको छ । न त उ सुन्न सक्छ, न त देख्न, न त उसमा मानवीय संवेदना छ न त सहानुभुति । न ऊ हिंड्न सक्छ न त घस्रिन नै । तर विदेशीहरुको चाप्लुसी गर्ने कुरामा भ्रष्ट, तस्कर र माफियाहरुको संरक्षण गर्ने कुरामा भने ऊ सबैभन्दा चलायमान छ । जनतालाई गोली ठोक्न कति छिटो तम्सीएको ? तर खै जनताका आवाज सुन्न सकेको ?
सरकारका गृहमन्त्री बादलले विप्लव समुह र प्रकाण्डलाई अपराधीको संज्ञा दिएबाटै उनको हैसियत प्रष्टिन्छ । उनले विप्लवलाई सिके राउतसँग जोडेर बदनामीत गर्न खोजेका छन् । सरकारको नजरमा विखण्डन गर्नेहरु मित्र शक्ती भए । बलत्कारी, हत्यारा, भ्रष्ट, तस्कर सबै मित्र शक्ति भए । ओली र प्रचण्डको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपराधी र आतंककारी शक्ती भनेर लाञ्चना लगाउने भरमग्दुर प्रयत्न गर्यो तर दुनियाले त्यसलाई उल्टाई दियो । प्रचण्ड आफैंले विप्लव समुहलाई आतंककारी भन्ने जस्तो कुचेष्टा गरे तर त्यो बिल्ला आफैंतिर फर्कियो । सरकार आफैंले सर्वत्र आतंक मात्र सिर्जना गर्दैछ । राज्य आतंकले आज सबैलाई आक्रोशित र तरंगीत बनाएको छ । प्रचण्ड र बादलले प्रकाण्डलाई चन्दा असुलीको आरोपमा मुद्दा लगाउन मिल्छ ? एउटा पत्रिकाले ठिकै गरेछ, बादल आईजिपिको भूमिकामा । हुन त विचरा आई जिपिको अपमान पनि होला । बादलले प्रकाण्डलाई हत्कडी लगाउने, शिलुलाई थुन्ने । जिवन्त, पदम राई, ओम पुन लगायतका थुप्रै केन्द्रिय सदस्यहरुलाई जेल हाल्ने र झुटा मुद्दा खोज्दै जिल्ला जिल्ला चार्हने । आई जिपिको भूमिकामा बादल, गृहमन्त्रीको भूमिकामा प्रचण्ड, प्रधानमन्त्री भन्नै परेन । प्रधानमन्त्री भनेपनि मुख्यमन्त्री भनेपनि ओली महाराज छँदै छन् ।
कथित बाम सरकारले मध्यम वर्ग र निम्न वर्गलाई बाँच्नै नसक्ने गरी आक्रमण गर्दै छ । बाघले मृगलाई लखेटे जस्तै श्रमजीवि वर्गलाई लखेट्दै छ । राष्ट्रिय पुँजीपति वर्गलाई पुरै आत्महत्या गर्ने अवस्थामा पु¥याएको छ । अतः सरकारले सबै क्षेत्रलाई रुष्ट र आक्रोशित बनाउँदै छ । आज सरकारको पक्षमा केही मुठ्ठीभर दलाल माफियाहरुको नवधनाड्य वर्ग मात्र देखीएका छन् । जो यही सरकारको पालामा रातारात धनी बन्ने मौका पाएका छन् । राजनीतिको आडमा सत्ता र सरकारको आडमा अनी प्रधानमन्त्री र मन्त्रीको आडमा रातारात करोडौं, अरबौं कुम्ल्याउनेहरु सरकारको बचाऊ अभियानमा लागेका छन् । सरकारको पक्षमा तिनीहरु मात्र छन् जो सत्तालाई कमाई खाने भाँडो बनाउन सफल छन् । लाभको पद लिएका छन् । बाँकी आम जनतामा सरकार प्रति घोर आक्रोश र घृणा छ ।
अहिलेको सरकारको अहंकार यति बढी छ कि उनीहरु जनताका असन्तुष्टिहरुलाई सामान्य ढंगले सुन्ने मनस्थितिमा छैनन् । आज परिवर्तनका एजेण्डाहरुलाई पुरै तिरस्कार गरेर सरकार अगाडि बढ्दै छ । सपनाहरु देखाउने तर काम उल्टो गर्ने छद्मभेषी रणनीतिबाट अगाडि बढेको सरकारी रबैयाले जनताहरुमा व्यापक वितृष्णा उत्पन्न गराएको छ । कुरा समाजवादको तर यात्रा वा कार्यक्रम दलाल पुँजीवादको । जनतामा भएको गरिबी, उत्पीडन र सहनशीलतालाई सरकारले कमजोरीका रुपमा व्यवहार गरेको छ । समृद्धिका सपना देखाउने तर कङ्गाल बनाउने सरकारी रणनीति जनतामाझ नाङ्गीई सकेको छ । हाम्रो मुख्य राजनीतिक अन्र्तविरोधलाई वेवास्ता गरेर अगाडि बढेकाले नै सरकार र क्रान्तिकारी शक्तिबिच टकराव र संघर्षको स्थिति उत्पन्न भएको छ । फेरी यो राजनीतिक र वैचारिक संघर्षलाई फाँसीवादी र शैन्य ढंगले निषेध गर्न खोज्ने सरकारी राणनीति चकनाचुर हुने निश्चित छ । सरकारको यो निरंकुश फाँसीवादी चरीत्रले देशमा युद्धको विजारोपण गर्न खोज्दै छ । ओली सरकारलाई लागे जस्तो युद्ध सरकारका लागि झनै प्रत्युत्पादक र आत्मघाती हुने छ । वास्तवमा जनआक्रोश यो विन्दुमा पुगेको छ कि उनीहरु छिटो युद्ध होस र भ्रष्ट सत्ताको अन्त्य होस भन्ने चाहन्छन् । जनआक्रोश यति बढेको छ कि जसले गरेपनि अहिलेको सत्ताका लुटेरा र भ्रष्ट मन्त्री, सांसद र नेताहरु सबैलाई जेल हाल्ने व्यवस्था आओेस भन्ने जनचाहना तिव्र बनेको छ । परिवर्तन र समृद्धिका सपना देखाएर जनतालाई कङ्गाल बनाउने, राष्ट्रियताको सपना देखाएर देशलाई गुलाम बनाउने नेताहरुलाई अपदस्त गरेको जनता हेर्न चाहन्छन् । मुठ्ठीभर सत्ताको वरीपरी घुम्ने नवधनाड्य वर्गको सम्पत्तिलाई राष्ट्रियकरण गर्दै तिनीहरुलाई जेल हाल्ने व्यवस्थाको खोजी भईरहेको छ । प्रधानमन्त्री, मन्त्री र नेताहरु अरबपति र खरबपति कहाँबाट कसरी बने, जनता त्यो जान्न चाहन्छन् । आफ्ना यी तमाम काला कर्तुतहरुलाई ढाकछोप गर्नका लागि प्रकाण्ड लगायतका नेताहरुलाई हत्कडी लगाइएको कुरा सर्वत्र स्पष्ट भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु