दुइ दर्जन आईएनजीओ खारेजीमा पर्दै

२०७१ बैशाख ८ गते, सोमबार

काठमाडौ, ८ वैशाख ।समाज कल्याण परिषद्ले सम्झौता नगरी नेपालभित्र कार्यक्रम चलाउँदै आएका २६ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लाई खारेजीको सिफारिस गरेको छ । ती संस्थाले विधानविपरीत विभिन्न मन्त्रालयसँग सीधै सम्झौता गरी कार्यक्रम चलाएकाले खारेजीका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सिफारिस गरिएको हो ।
समाज कल्याण परिषद् ऐन २०४९ अनुसार परिषद्सँग साधारण सम्झौता गरेका अन्तर्राष्ट्रिय संस्थाले तीन महिनाभित्र परियोजना प्रस्ताव गर्नुपर्छ । परिषद्का अनुसार केही आईएनजीओ आठ वर्षदेखि सम्पर्कविहीन छन् । तर उनीहरूले अन्य निकायसित सम्झौता गरी कार्यक्रम भने सञ्चालन गर्दै आएको परिषद्को जानकारीमा छ ।परिषद्का सदस्यसचिव रवीन्द्र कुमारले ऐन-नियम पालना नगर्ने संस्थालाई परिषद्को अभिलेखबाटै हटाइने बताए । ‘विधान र नियम हुन्छ, त्यसअनुसार नचल्नेलाई कारबाही हुन्छ,’ उनले भने, ‘परिषद्सँग सम्झौता नगरी कार्यक्रम गर्नै पाइँदैन ।’ अभिलेखबाट हटाउनुको अर्थ ती संस्थाको नेपाल दर्ता खारेज हुनु हो ।अभिलेखबाटै हटाउन सिफारिस गरिएका विदेशी संस्थामा एडभेन्टिस्ट फरन्टायर मिसन (अमेरिका), एआईयूईओ सर्कल एसोसिएसन (जापान), एसोसिएसन गन्जाला स्कुल (फ्रान्स), एभी फाउन्डेसन (बेलायत), बेसिक निड्स (बेलायत), कारसिनो इभी (जर्मनी), इनजेन्डर हेल्थ -अमेरिका) छन् । फुड फर द हंग्री इन्टरनेसनल (स्विट्जरल्यान्ड), ग्लोबल राइट्स (अमेरिका), हेल्पिङ ह्यान्डस् हेल्थ एजुकेसन (अमेरिका), हिल्सवरेक (अस्ट्रेलिया), ह्युमानालय (फ्रान्स), आई टु आई (बेलायत) लाई पनि खारेजीको सिफारिस गरिएको छ ।इन्स्िटच्युट फर मिडिया पोलिसी एन्ड सिभिल सोसाइटी (क्यानडा), मानव सेवा संस्था (भारत), नेपाल कम्युनिटी फाउन्डेसन डेभलपमेन्ट फाउन्डेसन (क्यानडा), प्रज्ञा इन्डिया (भारत), साइटामा युनेस्को एसोसिएसन (जापान), स्टिचिङ हाम्रो जीवन चाइल्ड केयर हाउस (नेदरल्यान्ड) समेत खारेजीको सिफारिसमा परेका छन् ।
यस्तो सिफारिसमा परेका अन्य संस्थामा स्टिचिङ पिपुल्स ट्रस्ट (नेदरल्यान्ड), स्विस फाउन्डेसन फर इन्टरनेसनल कर्पोरेसन (स्विट्जरल्यान्ड), प्रेस इन्स्िटच्युट फर वुमन इन द डेभलपिङ वल्र्ड (अमेरिका), एकेडेमी फर एजुकेसन डेभलपमेन्ट (अमेरिका), दि अमेरिकन हिमालय फाउन्डेसन (अमेरिका), द दवाल्का फाउन्डेसन (अमेरिका), दि इभन्जेलिकल अलाइन्स मिसन (अमेरिका), दि अपरेसनल होप फाउन्डेसन (सिंगापुर) र द टालवोट सेन्टर फर स्टि्रट चिल्ड्रेन इन नेपाल (बेलायत) र बाच टावर वाइवल एन्ड ट्राक्ट सोसाइटी (जापान) छन् ।परिषद्ले पटक-पटक सूचना जारी गरी यी संस्थाहरूलाई सम्पर्कमा आउन र आफ्ना कार्यक्रमहरूबारे जानकारी गराउन भनेको थियो । तर उनीहरूले बेवास्ता गरेपछि खारेजीका लागि सिफारिस गरिएको परिषद्का सदस्य सचिव रवीन्द्र कुमारले बताए ।
सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आएका केही संस्थाले भने परियोजना पेस गरी कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । समाज कल्याण परिषद्का अनुसार उससँग अनुमति लिएर नेपालमा हाल एक सय ८९ वटा आईएनजीओहरू सक्रिय छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु