दिन्नौ मर्न क्रान्तिका सपनाहरु – हस्तबहादुर केसी

२०७३ श्रावण १४ गते, शुक्रबार

दिन्नौ मर्न हामी
क्रान्तिका सपनाहरु
क्रान्ति हाम्रो आस्था हो
क्रान्ति हाम्रो विश्वास हो
क्रान्ति हाम्रो लक्ष्य हो
क्रान्ति हाम्रो जीवन हो
त्यसैले
हामी मर्न दिन्नौ
क्रान्तिका सपनाहरु

जनता मुक्ति चाहन्छन्
राष्ट्र स्वाधिनता चाहन्छ
हामी क्रान्तिकारी हौं
हामी यिनको नेतृत्व गर्न चाहन्छौं
हामीविना न जनताको मुक्ति हुन्छ
हामी बिना न राष्ट्रले स्वाधिनता पाउँछ
त्यसैले हामीले
क्रान्तिकारी बाटोमा सलबलाउन पर्छ
रातादिन क्रान्तिको बाटोमा कुद्नु पर्छ
उकालो र ओरालो भन्ने छैनौं हामीले
अप्ठ्यारो र सप्ठ्यारो मान्ने छैनौ हामीले
किनकि
हामीले वर्षौ देखि
हावाहुरी र वताससँग
पौठेजोरी खेल्दै आएका छौ
हजार पहाड चढेका
हजार जँघार तरेका
क्रान्तिकारी सिपाहीहरुका
असल अनुयायी हौ हामीहरु
त्यसैले
हामीसित क्रान्तिको अनुभव छ
हामीसित क्रान्ति गर्ने कौशल छ
हामीसित क्रान्ति गर्ने आँट र जोस छ
वर्ग वैरीसँग
नफुक्ने नडर्ने
अटल भावना छ हामीसित
दृढ विश्वास छ हामीसित
पार्टी भित्र थुप्रिएका फोरमैला
कुचो लगाएर बढार्ने
सीप छ हामीसित
पार्टी भित्र घुसेका अवसरवादी
र विजातीय तत्वहरुलाई
दुधमा परेको झिंगालाई
टिपेर फाले झै
फाल्ने आँट र विचार छ हामीसित
हजार बलिदान देखि
नडराउने आँट छ हामीसित
त्यसैले त
हामी क्रान्तिकारी हौं
क्रान्तिकारीका नाताले
पाइ पाइ गरि हामीले
चुक्ता गर्ने छौं
वर्ग दुश्मनहरुबाट
महान क्रान्तिका लक्ष्यहरु
हजार बाधा देखि
डराउने छैनौं हामी
लाखौं सुविधा देखि
लोभिने छैनौ हामी
कसैका सामु पनि
कदापी झुक्ने छैनौं हामी
किनकि हामी क्रान्तिकारी हौं
त्यसैले
हामी क्रान्तिका सपनाहरु देख्न छोडने छैनौ
क्रान्तिका सपनाहरु मर्न दिने छैनौं ।
माक्र्स–एङगेल्स, लेनिन, स्टालिन, माओले भन्ने गर्दथे
“क्रान्तिका सपना देख्न छोड्नु हुन्न”
हामी तिनका यी उक्तिहरुलाई
जीवनभर भूल्ने छैनौ
किनकी
हामी पनि क्रान्तिका सपना देख्ने
उनीहरुकै अुनयायि र क्रान्तिद्रष्टा हौं ।

प्रतिक्रियाहरु