‘दाहालले बाटो बिराए, एकता सम्भव छैन ‘

२०७४ आश्विन २ गते, सोमबार

काठमाण्डौ , २ असोज । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए । दाहालले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा बाटो बिराएको वैद्यको भनाइ थियो । बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट नभएको भन्दै उनले माओवादी केन्द्रले कम्युनिष्ट सिद्धान्त छाडिसकेको बताए । उनले भने–‘माओवादी केन्द्र अब नामधारीको कम्युनिष्टमात्रै हो’–दाहाल पश्चगामी दिशामा गइसकेको भन्दै उनले भने–‘कांग्रेससँग बाटो सोझाउँदैछ माओवादी केन्द्र ।’ कम्युनिष्ट एक भएर जानुपर्ने भन्दै उनले अहिलेको संविधान नमान्ने र सरकारमा नजानेबीचमा एकता हुनसक्ने उनले बताए । जसका लागि विप्लव र मोहनविक्रमसँग कुराकानी भइरहेको उनले बताए । नयाँ जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै उनले यसलाई सम्पन्न गर्न पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्यदिशा तय गर्ने बताए । आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताउँदै वैद्यले सरकारको रबैयाले भावी बाटो कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुने बताए । अर्काे एक प्रश्नमा उनले अबको संघ र प्रदेशको निर्वाचनमा जाने/नजाने भन्ने विषयमा छलफल भइरहेको बताउँदै केही दिनमा टुंगो लाग्ने बताए । वर्तमान सरकारले राष्ट्रियता, जनजीविकालगायतका समस्याको हल गर्न नसक्ने भन्दै उनले राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारबाट अपेक्षा गर्न नसकिने बताए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु