दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु

२०७२ माघ २४ गते, आईतवार

काठमाडौ, २४ माघ । बाल स्वास्थ्य महाशाखाले आजदेखि दादुरा र रुवेला विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । अभियान अन्तर्गत सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलका ३३ जिल्लामा दादुरा र रुवेला विरुद्धको खोप लगाइने महाशाखाले जनाएको छ । पहिलो चरणमा भुकम्पबाट अति प्रभावित १४ जिल्लामा खोप अभियान संचालन गरिएको थियो । दोस्रो चरणमा भने ३३ जिल्लाका १८ लाखभन्दा धेरै बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप दिइने बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकन्द गौतमले बताए ।
दादुरा–रुबेलाको खोप नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई दिने गरिन्छ । यो अभियानसँगै सरकारले जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा पनि खुवाउने भएको छ । देशका धेरै ठाउँमा एक पटक खोप लगाइसकेका बालबालिकामा फेरि पनि दादुरा र रुबेला देखिएकाले खोप लगाउन सरकारले अभिभावसँग आग्रह गरेको छ । सन् २०१९ सम्म नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान थालेको हो ।

प्रतिक्रियाहरु